नेपालको संसदीय राजनीति बृतमा यतिबेला बहस र छलफलको केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने रहेका छन । यो बहसमा मुख्य गरेर रविको पक्षमा उभिनेहरुको तर्क उनिमाथी षड्यन्त्र गरियो र देशमा भ्रष्टाचार, अनियमितता गर्नेहरुले आ—आफ्ना कर्तुत लुकाउनका लागि यो षड्यन्त्र गरेको भन्ने दावी गरिरहेका छन भने उनको विपक्षमा रहेकाले रवि स्वयं आफ्ना कर्तुतहरुको बचाउ र ढाकछोप गर्नका लागि विभिन्न दलका नेता मुख्यत सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष के पी ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसङ्ग गृहमन्त्रीको लागि शरणमा पुगेको चर्चा नै अहिलेको समाचारको केन्द्रमा छ । सामन्यत: यो दुबै कुरामा सत्यता नै देखिन्छ । रवि लामिछाने र उनको पार्टीले जसरी गत निर्वाचनमा आफुलाई बैकल्पिक राजनैतिक धारको नेतृत्व गर्ने उदघोष गर्यो र अप्रत्याशीत नतिजा समेत प्राप्त गर्यो तर ,त्यो कुरा धेरै दिन टिक्न सकेन । निश्चित रुपमा रवि र उनको पार्टीले भने जस्तो देशमा भ्रष्टाचार, अनियमितता, बेथिति रहेको कुरा सत्य नै थियो र छ । तर, त्यसका विरुद्ध सघर्ष गर्छौ भन्नेहरु स्वयं त्यही अनियमितताको साझेदार बनिसकेपछि नैतिक रुपमा त्यो कुरा उठाउन सक्ने ठाउँमा अब रवि र उनको पार्टी रहेन ।
नेपालको संसदीय व्यवस्था अहिले जति बदनाम भएको छ सायद इतिहासमा यो भन्दा अरु कुनै पनि देशको संसदीय ब्यवस्था यति बदनाम भएका थिएन होला । यसको अर्थ यो होइन, अरु देशका संसदीय ब्यवस्था जन हितैषी थिए र छन । कमसेकम अरु देशको संसदीय ब्यवस्थामा राजनीति पार्टीहरु स्वतन्त्र रुपमा आ—आफ्ना एजेण्डा लिएर निर्वाचन जान्छन र हार जीतलाई स्वभाविक अर्थमा लिने गर्दछन । तर,यहाँ कसैले पनि आफ्नो हार वा पराजयलाई सहज रुपमा स्वीकार गर्न नसक्ने र सत्ता भन्दा बाहिर रहेर आफ्नो अस्तित्व नै नदेख्ने जुन संस्कृतिको बिकास भएको छ, यो आफैमा संसदीय ब्यवस्थासङ्ग समेत मेल खाने कुरा होइन ।
निर्वाचनका समय राजनैतिक मूल्य मान्यतालाई रद्दीको टोकरीमा फालेर जसरी पनि चुनाव जित्ने मनसायले निर्माण भएका गठबन्धनहरुले अपेक्षित सफलता नदिए पछि जस्तोसुकै मुल्य चुकाएर पनि सरकारको नेतृत्व हत्याउने चालवाजीको दौडमा नै यो सरकार निर्माण भएको कुरा जगजाहेर छ । त्यो दौडमा नेपाली काङ्ग्रेस एमाले माओवादी केन्द्र लगायतका संसदवादी पार्टीहरु मात्रै होइन स्वयं आफुलाइ,बैकल्पिक राजनैतिक शक्ति ठान्ने पार्टीहरु समेत यो अराजनैतिक खेलमा होमिन पुगे र छोटै समयमा आफ्नो वास्तविक चरीत्र उदाङ्गो बनाए । यो आफैमा नराम्रो हँुदाहुँदै पनि सकारात्मक कुरा पनि हो । यो यश अर्थमा सकारात्मक हो कि संसदीय ब्यवस्था खराब होइन, ब्यक्ती खराब हो भनेर कथित नयाँ र बैकल्पिक शक्तिको रूपमा निर्वाचनमा उदाएका पार्टी र ब्यक्तिहरु पनि मुद्दा केन्द्रित भन्दा पनि सत्ता केन्द्रित भएर जे जस्ता क्रियाकलापहरु प्रदर्शन गरिरहेका छन, त्यसले उनिहरुको औकात राम्रोसङ्ग देखिएको छ ।
सरकारमा सहभागी दलका गृहमन्त्री स्वयं दोहोरो नागरिकताको विबादमा मुछिनु र दोषी साबित हुनुले अहिलेको सत्ता र ब्यवस्था कति नाङ्गो छ भन्ने कुरा छर्लङ्ग नै देखिन्छ । जहाँ सम्म रवि र उनको पार्टीले निर्वाचनको समयमा विधिको शासन , सदाचार र भ्रष्टाचार विरुद्ध आफुहरु राजनीतिमा आउन परेको जुन दावी गरेका थिए त्यो अब कोदो रोप्दा लागेको पिरती छुट्यो तोरि गोड्ने बेलामा भन्ने गीतको चरितार्थ बन्न पुगेको छ ।
अहिले रवि लामिछानेका समर्थकहरुले सर्वोच्चको आदेश समेत सेटिङ्गमा भएको तर्क समेत गरेको पाइन्छ । रविको बारेमा सर्वोच्च अदालतले गरेको फैसला उनको मात्र बिषय नभएर दोहोरो नागरिकता रहने सबैका लागि चुनौतीको बिषय बन्न पुगेको छ र त्यो निर्णयले अब सबैलाई सचेत समेत गराएको छ । निश्चय नै अहिले सम्म जो जसले नेपाली नागरिकता पनि कायम गर्ने र बिदेशी नागरिकता पनि रहने आशा गरेका थिए, त्यो मान्यतालाई अहिले को सर्वोच्च अदालतको निर्णयले खारेज गरि दिएको छ । रवि लामिछानेले हिजो जसरी अरुलाइ बिधी प्रक्रिया र पदीय मर्यादा तोडेको कुरालाई आफ्नो मसला बनाएका थिए आज त्यही कुरालाई उनले आत्मसात गर्न नसक्नु गम्भीर चिन्ताको बिषय बनेको छ ।
नेपालका प्राय संसदवादी पार्टीहरुले सत्ता र शक्तिका लागि जे जस्ता हर्कतहरु गर्दै आए त्यसबाट रवि पनि अछुतो रहेनन । जसरी चुनावमा रवि र उनको पार्टीले आफुलाइ बैकल्पिक राजनैतिक शक्तिको दावा गरेको थियो त्यो कुरा निरर्थक बन्न पुगेको छ यो उनिप्रतिको आरोप होइन, घटना प्रकृतीले पुष्टि गरेको ऐतिहासिक तथ्य हो । अहिले पनि उनी स्रोत र शक्तिकालागी जुन मोलमोलाइ गरिरहेका छन, त्यसले उनको वास्तविक चरीत्र राम्रोसङ्ग उजागर भएको छ ।
संसदीय ब्यवस्था र त्यसका पात्रहरु एक पछि अर्को रुपमा बदनाम हुदै जानुले यो ब्यबस्थाको औचित्य करिब समाप्त हुदै गएको पृष्ठभूमिमा कम्युनिस्ट क्रान्तिकारीहरुले यसको विकल्प दिनु पर्ने अहिलेको आवश्यकता हो । इतिहासमा कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेका कैयौं शक्तिहरु आज संसदीय भाषमा पुगेर त्यही पुरानो सत्ता र ब्यवस्थाको दलाली गर्दै मरणसन्न ब्यवस्थाको असलि कारिन्दा बनेका छन । यो अवस्थामा कम्युनिस्ट क्रान्तिकारीहरु संयुक्त कार्यक्रमका आधारमा एकताबद्ध हुँदै यो सत्ता र ब्यवस्थाका विरुद्ध बैकल्पिक कार्यक्रम सहित अगाडि आउनु पर्ने समयको माग र आवस्यकता दुबै हो । समाजलाई बैकल्पिक दिशा दिनु पर्ने शक्तिहरु आपसमा बिभाजित हुदा त्यसको फाइदा प्रतिक्रियाबादी शक्तिहरुले लिएका छन ,अहिलेको यथार्थ त्यही नै हो ।तसर्थ , सम्पुर्ण कम्युनिस्ट क्रान्तिकारीहरु, देशभक्त, जनतन्त्रिक शक्तिहरुका बिचमा आधारभुत न्युनतम साझा कार्यक्रम बनाएर संयुक्त मोर्चा गर्दै अहिकेको संसदीय गतिरोध तोस्न तथा प्रगतिशील र उन्नत ब्यवस्थाको स्थापना तर्फ लाग्नु नै अहिलेको सहि विकल्प हुन्छ । जब सम्म संसदीय ब्यवस्था र प्रतिक्रियावादी सत्ता रहन्छ तवसम्म यसप्रकारका अनैतिक अराजनैतिक प्रकारका बिकृती बेथिति भ्रष्टाचार अनियमितताले निरंतरता पाई नै रहन्छ । अहिले देखिएको सकट ब्यक्ती बिशेष भन्दा पनि सत्ता र ब्यवस्थासङ्ग जोडिएकोले समाधान पनि सत्ता र ब्यवस्था मै खोज्नु पर्दछ । अहिलेको सत्ता र ब्यवस्थाले जति निरन्तरता पाउछ देश त्यति नै पछाडी पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर