दशवर्षे जनयुद्धका अपुरा कार्यभार

दशवर्षे जनयुद्धका अपुरा कार्यभार

काठमाडौं । दीर्घकालीन जनयुद्ध र अल्पकालीन सशस्त्र जनविद्रोहको समायोजनबाट नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ‘फौजी कार्यदिशा’मा आधारित रहेर दशवर्षसम्म सञ्चालित जनयुद्धको स्मरण र बाँकी कार्यभार पूरा गर्ने संकल्पसहित यसपटक पन नेकपा (क्रान्तिकारी माओवादी)ले देशव्यापी रुपमा जनयुद्ध दिवस मनाउने उद्घोष गरेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)ले फागुन १४ देखि २१ सम्मको सहिद सप्ताहलाई पनि जनयुद्धका सहिद तथा वेपत्ता योद्धा परिवारसँग भेटघाट र अन्तक्र्रिया गरी मनाउने निर्णय गरेको छ र सोही अनुसार गर्न गराउन सम्पूर्ण पार्टीपंक्तिलाई सर्कुलर पनि गरिसकेको छ ।
जनयुद्धकै छेको पारेर नेकपा (क्रान्तिकारी माओवादी)सहित विश्वका आठवटा क्रान्तिकारी कम्युनिस्टहरुले साम्राज्यवादी शक्तिहरुका विरुद्धको संघर्ष विकसित गर्न आव्हान पनि गरेका छन् । अनि जनयुद्धकै दिवसकै वरिपरि अहिले नेकपा (क्रान्तिकारी माओवादी)ले नेकपा (बहुमत) र नेकपा (मशाल)सँग पार्टी एकता वार्तालाई पनि घनिभूत तुल्याएको छ । र, चाँडै तीन पार्टीबीच एकता घोषणा गर्ने गृहकार्य चलिरहेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण ऐतिहासिक जनयुद्धको पहलकर्तामध्येको एक हुनुहुन्थ्यो । माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक वैचारिक व्याख्याता र नेपाली धर्तीमा त्यो विचारको प्रयोग र विकासका लागि पाँच दशकभन्दा लामो अवधिदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएका कमरेड मोहन वैद्य किरणले दशवर्षे जनयुद्ध सामन्ती राजतन्त्रका साथै संसदीय व्यवस्थाको समूल अन्त्य गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापनाका लागि गरिएको तर नेतृत्वले गरेको धोका र गद्दारीका कारण जनयुद्धको त्यो कार्यभार पूरा हुन नसकेको बताउँदै आउनु भएको छ । जनयुद्धकै तागतमा सामन्ती राजतन्त्रको अन्त्य भएर केही मात्रात्मक उपलब्धिहरु हासिल भएपनि त्यसको रक्षा र बाँकी कार्यभार पूरा गर्न क्रान्तिको प्रक्रियालाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने विचार व्यक्त गर्दै आउनु भएको छ ।
मुलुक अहिले पनि अर्धसामन्ती, अर्ध/नवऔपनिवेशिक अवस्थामा रहेको विश्लेषण गर्दै नेकपा (क्रान्तिकारी माओवादी)ले सामन्तवादका सामन्तका अवशेषहरुलाई समाप्त गर्न र साम्रज्यवाद तथा विस्तारवादबाट संरक्षित दलाल पुँजीवादमा आधारित संसदीय व्यवस्थाको अन्त्य गर्न क्रान्तिको आवश्यकता रहेको भन्दै त्यसको तयारीमा जुटिरहेको छ । क्रान्तिकारी माओवादी जनयुद्धको जगमा नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको फौजी कार्यदिशामार्फत् दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर मुलुकमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने र समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने कार्यदिशा अगाडि सार्दै आएको छ ।
जनयुद्धको यही अपुरो कार्यभार पूरा गर्न क्रान्तिकारी माओवादीले छरिएर रहेका क्रान्तिकारीहरुलाई एकताबद्ध तुल्याउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)बीच क्रान्तिको यही चिन्ता र चासोलाई केन्द्रमा राखेर मालेवादको वैचारिक आलोकमा पार्टी एकता हुन लागेको हो ।
सामन्तवाद र साम्राज्यवादका विरुद्धको संघर्षमा विजयी हासिल गरेर नेपाललाई स्वाधीन र आत्मनिर्भर नयाँ जनवादी अर्थतन्त्रको विकास गरेर देशमा नयाँ जनवादी व्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको दिशातर्फ अगाडि बढ्ने जनयुद्धको कार्यभार अहिले पनि बाँकी नै छ । रणनीतिक प्रत्याक्रमणको दोस्रो योजनाको कार्यान्वयनको चरणमा पुगेको जनयुद्धलाई दिल्लीमा १२ बँुदे समझदारी गर्दै विस्तृत शान्तिसम्झौताको नाममा मूल नेतृत्वले बिर्सजन गरिदिएपछि नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणको तीव्र प्रक्रियामा अवरोध सिर्जना हुन पुग्यो । अब त्यो अवरुद्ध प्रक्रियालाई अगाडि बढाउनु पर्ने कार्यभार सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुको काँधमा आएको छ ।
१८औँ शताब्दीमा युरोप र अमेरिकाका भीषण रक्तपातपूर्ण पुँजीवादी लोकतान्त्रिक क्रान्तिदेखि २०औँ शताब्दीको पूर्वाद्र्धमा रुस र चीनका कम्युनिस्ट क्रान्ति हुँदै सन् १९९० को दशकमा आइपुग्दा विश्वका प्राय: सबै देशमा पुँजीवादी लोकतान्त्रिक क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलन सम्पन्न भइसकेका अवस्थामा नेपालमा भने ००७ साल र २०४६ सालको आंशिक लोकतान्त्रिक क्रान्तिपछि पनि राजतन्त्र, सामन्तवाद, एकात्मक राज्यसत्ता, वर्णाश्रम व्यवस्था, पितृसत्तावाद जबर्जस्त रूपमा कायमै थिए । मध्ययुगीन सामन्तवादका यी अवशेषलाई समूल नष्ट गर नयाँ जनवादी क्रान्ति सम्पन्न नगरेसम्म देशको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको रक्षा सम्भव छैन भन्ने निष्कर्षका साथ ०५२ फागुन १ गतेबाट सशस्त्र जनयुद्धको थालनी भएको थियो ।
कतिपयले दुस्प्रचार गरेझैँ जनयुद्ध कुनै लहड वा आवेगमा सुरु गरिएको थिएन । इतिहासका विभिन्न क्रान्तिको सफलता र असफलताको अनुभवलाई संश्लेषण गरेर देशको ठोस परिस्थितिको मूल्यांकन गरेर नेपालको क्रान्तिको बाटो तय गरिएको थियो । त्यसबेला पार्टीका १९ जना केन्द्रीय सदस्यसहित पार्टी पंक्ति जनयुद्धमा होमिएको थियो । फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट फौजी कारबाहीसहित क्रान्तिकारी जनयुद्ध प्रारम्भको घोषणा गरिएको थियो ।
०५५ सालबाटै प्रचण्डले नेतृत्व केन्द्रीकरणको विषयलाई शक्ति केन्द्रीकरण गरेपछि पार्टीमा नोकरशाहीकरण, भ्रष्टीकरण, वर्ग–उत्थानीकरणको जुन शृंखला सुरु भयो, त्यसलाई सच्याउने, नियन्त्रण गर्ने प्रयास निस्काम हुँदै गयो । ०५७ सालमा ‘प्रचण्डपथ’ बन्यो । ०६० सालमा ‘२१औँ शताब्दीमा जनवादको विकास’ भन्ने विचारश्रृङ्खला तयार पारियो तर ०६१ भदौको फुन्टिवाङ बैठक र माघको लावाङ बैठकसम्म पुग्दा त्यसलाई पूरै उल्ट्याइयो र पहिलो पुस्ता सत्तामा नजाने भने पनि प्रचण्डलाई संविधानसभाको चुनावअघि नै गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भनेर भित्ते राष्ट्रपति बनाइयो ।
संविधानसभा चुनाव र लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यक्रम तथा ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने फौजी कार्यक्रम बाह्रौँ योजनाको फौजी–राजनीतिक समुच्चय थियो । यही आधारमा एकातिर सात राजनीतिक दलसँग संविधानसभा चुनाव र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि कार्यगत एकता बन्यो र अर्कोतिर माओवादी पार्टीले आफ्नो सैन्य संरचनालाई तीन डिभिजनबाट सात डिभिजनमा विकास गर्यो । माओवादी पार्टीले संविधानसभा चुनाव र लोकतान्त्रिक गणतन्त्रलाई आफूले सके ‘नौलो जनवादी गणतन्त्रमा रूपान्तरण गर्ने’ र संसद्वादीहरूले सके ‘पुँजीवादी गणतन्त्रमै सीमित गर्ने’ सम्भावना रहेको समेत बिश्लेषण गरिएको थियो ।
२०६४ मा सम्पन्न प्रथम संविधानसभा निर्वाचनबाट निर्धारित समयसीमाभित्र संविधान बन्न नसकेको भन्ने बनाएर जब संविधानसभाबाट संविधान बन्न नसक्ने परिस्थिति निर्माण गरियो र त्यहीबीचमा सात डिभिजन रहेको जनमुक्ति सेनाको समेत विघटन गरियो । लगत्तै संविधानसभा विघटन गरियो । विडम्बना, जनमुक्ति सेना र संविधानसभा चुनाव विघटनको दुवै कार्य माओवादी पार्टीकै नेतृत्वबाटै हुन गए । परिणामत: पार्टीमा टुट फुट विभाजन आयो । फेरि अब टुट फुट विभाजित भएका सबै सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुलाई संगठित गरेर क्रान्तिको प्रक्रियालाई अगाडि बढाउने र गन्तव्य पुर्‍याउने चुनौती र कार्यभार क्रान्तिकारीहरुको यतिबेलाको ऐतिहासिक कार्यभार बन्न पुगेको छ ।
जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने संकल्पसहित मुलुकमा विद्यमान राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु हल गर्न रणनीति र कार्यनीतिलाई विकिसत परिस्थितिको आधारमा विकास गर्दै क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनु सबै सच्चा कम्युनिस्ट, माक्सवादी, लेनिनवादी र माओवादीहरुको प्रमुख कार्यभार हो ।