नेपालको कम्युनिष्ट आन्दोलन कता जाँदै छभन्ने धेरैले प्रश्न गरेको सुनिन्छ । तर कसैले पनि यसको छेउ टुप्पो फेलापार्न सकिरहेका छैनन् । जसको खास कारण पत्तालगाएर नयाँ ढंगले अगाडि बढ्न नसकेसम्म अब नेपालको कम्युनिष्ट आन्दोलनले सही बाटो पक्रन सक्ने अवस्था पनि छैन । अझ भन्ने होभने यो अन्योलले नेपालको कम्युनिष्ट आन्दोलनलाई हल न चलको अवस्थामा पुर्याएको छ । स्पष्ट छ कुनैपनि राजनीतिले दायाँ वा बायाँ खास किनारा नलिएसम्म अगाडि बढ्न सक्तैन । हालको अवस्थामा भन्ने होभने नेपालको कम्युनिष्ट आन्दोलन स्पष्टरुपले संसदवादी र क्रान्तिकारी दुईधारमा बिभाजित भएको छ । बैज्ञानिक समाजवादतर्फ जाने कि प्रजातान्त्रिक समाजवाद अर्थात पूँजीवादी समाजवादतर्फ जाने भन्नेमा ठूलो बिवाद र बिभाजनसमेत रहेको देखिन्छ । तर दुई पक्षका बीचमा बिभेदको स्पष्टरेखा कोरिन सकेको छैन । जसलेगर्दा कम्युनिष्टका नाममा दुबै पक्ष कहीँ न कहीँ जानी/नजानी घुलमिल भएको देखिएको छ । देशमा लागूगराइएको पछिल्लो राजनीतिक ब्यवस्थालाई सही क्रान्तिकारीहरुले खतरा देखेका छन् तर त्योभन्दा पनि खतरा कम्युनिष्टको आबरणमा कम्युनिष्ट बिरोधी राजनीतिगर्नेहरु रहेका छन् । नेपालमा साम्राज्यवादीहरुको दबदबा बढेको मूल्यांकन गरिंदै छ । पहिलो त ति साम्राज्यवादी हर्कतका बिरुद्ध नेपालका कम्युनिष्टहरु खरोरुपमा उभिनसमेत सकेका छैनन्भने दोश्रो कुरा साम्राज्यवादी शक्तिलाई नेपालमा भित्र्याउने र उनीहरुको नेपाल नीतिको कार्यान्वयन गर्ने/गराउनेमा पनि कतिपय कम्युनिष्ट नामधारी पार्टीहरुसमेत रहेका छन् । उनीहरुले खुलेरै राष्ट्रियरुपमा पूँजीवादी एबं सामन्तवादी शक्तिहरुको र अन्तराष्ट्रियरुपमा साम्राज्यवादी र बिस्तारवादी शक्तिहरुको पक्षपोषण गरिरहेको अवस्था छ । तर बर्तमान सत्ता र ब्यवस्था बाहिर रहेकाहरुले पनि दलाल शक्तिका बिरुद्ध खुलेर खरोरुपमा भण्डाफोरगर्न सकिरहेका छैनन् । उनीहरुकाबीचमा कहीँ न कहीँ मोलाहिजा रहेको देखिएको छ ।
नेपालमा १० बर्षे जनयुद्ध भएको जुन भनिएको छ, त्यो बीचैमा दुर्घटनामा परेको कुरालाई कसैले पनि अस्वीकारगर्न सक्तैन । तर त्यो दुर्घटनामा पार्ने शक्ति र ब्यक्तिकाबारेमा पनि समयसापेक्ष मूल्यांकन हुनसकेको देखिएको छैन । कस्तो अवस्था छभने त्यो दुर्घटनामा पार्ने र पर्नेहरुकाबीचमा आज पनि कहीँ न कहीँ सम्बन्ध जोडिएकै देखिन्छ । ०६२ मा दिल्लीमा भएको १२ बुँदे सहमतिमार्फत जनयुद्ध दुर्घटनामा पर्यो । उक्त १२ बुँदे सहमति र त्यससँग जोडिएको परिघटनाका बारेमा पनि खासै मूल्यांकन हुनसकेको छैन । आज जो सो परिघटनाबाट संसदीय राजनीतिमा प्रबेश गरेका थिए, उनीहरुले १२ बुँदे सहमति र त्यसपछिका सबै घटनाक्रमहरुलाई आफ्नो ठूलो उपलब्धी मान्ने गरेका छन् । ०६३ को राजनीतिक परिवर्तन, बृहत् शान्ति संझौता, संविधानसभाको निर्वाचन, त्यसमार्फत बनेको ०७२ को संविधान र सो संविधानका उपलब्धी भनिएका कुराहरु सबै बिवादास्पद रहेका छन् । जसको हालसम्म पनि कहीं कतैबाट समयसापेक्ष बिश्लेषण गरेर निक्र्यौल निकाल्न नसकिएको अवस्था छ । उक्त प्रशंगहरुलाई कतिपयले आफ्नो ठूलो उपलब्धी बताउँदै त्यसको संरक्षणमा लागिपरेको बताउने गरेका छन् । ति उपलब्धीहरुको संरक्षणका लागि विदेशी शक्तिहरुले खुलेरै लगानी गरेको पनि देखिएको छ । तर यति हुँदाहुँदै पनि ०६३ को परिवर्तनले स्थापना भएको भनिएको राजनीतिक ब्यवस्था असफल भएको सबैले स्वीकार गरेका छन् । जसमा ०६३ को परिवर्तनबाट सत्ता र शक्तिमा पुगेकाहरु संविधान संशोधनमार्फत बिद्यमान व्यवस्थामै सुधारगर्ने भनिरहेका छन् । तर संविधान संशोधनका बिषयमा उनीहरुकै बीचमा मत्यैक्यता छैन । क्रान्तिकारी शक्तिहरुले बर्तमान ब्यवस्थामा आमूल परिवर्तनको नारा दिएका छन् । तर उनीहरुले पनि आफ्नो पंक्तिलाई बृहत्रुपमा संगठित पनि गर्नसकेका छैनन् र सही योजना र पहल पनि अगाडि आउन सकेका छैनन् । हालै भएको एकीकृत समाजवादीको एक बैठकले पनि नेपालमा लागूगराइएको संघीय लोकतान्त्रिक व्यवस्थामाथि खतरा देखापरेको औँल्याएको छ । काठमाडौंमा हालै भएको बैठकमा सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय राजनीतिक परिस्थिति तरल अवस्थामा रहेको र संघीय लोकतान्त्रिक व्यवस्थामाथि खतरा रहेको औँल्याइएको थियो । जसमा मुलुक अस्थिरतातर्फ धकेलिन सक्ने खतरा उत्पन्न भएको र बिद्यमान प्रतिनिधिसभा त्रिशंकुमात्र नभई खिचडी प्रकृतिको भएको भनिएको छ । सो पार्टीले बिद्यमान संसदमा गणतन्त्रवादी र गणतन्त्र विरोधी, संघीयतावादी र संघीयता विरोधी, धर्मनिरपेक्षतावादी र धर्मसापेक्षतावादी, परिवर्तनकारी र पुनरुत्थानवादी, यथास्थितिवादी र अग्रगामी आदि चरित्र भएका राजनीतिक शक्तिहरु उपस्थित रहेको स्वीकार गरेको छ । निश्चयनै ति शक्तिहरुका बीचमा पनि द्वन्द छ । सो द्वन्दका कारणले पनि मुलुकमा राजनीतिक अस्थिरतातर्फ जाने निश्चित छ । तर त्यो अस्थिरतालाई कता डोर्याउने र देशलाई कहाँ पुर्याउने भन्ने स्पष्ट मार्गचित्र कसैसँग पनि रहेको देखिएको छैन । केमात्र देखिएको छभने हाल सत्ता र शक्तिमा रहेकालगायतका केही पार्टी र शक्तिहरु देशको राष्ट्रिय राजनीतिलाई बिभिन्न बहानामा निरन्तर धमिल्याउने काम गरिरहेका छन् र त्यो धमिलो पानीमा विदेशहरुले सहजै खेल्ने मौका प्राप्तगरेका छन् ।
नेपालमा भूराजनीतिक जटिलता थपिँदै गएको र राष्ट्रियतामाथि दखल पुग्नसक्ने कुरालाई धेरैले स्वीकारेको देखिएको छ । तर त्यसबाट देशलाई कसरी मुक्त बनाउने भन्नेतिर भने प्राय:को ध्यानगएको देखिएको छैन । हालको अवस्थामा देशलाई कता लानेभन्ने कुरासमेत नेपालीहरुको हातबाट गुम्दैगएको र विदेशीहरुको हातमा पुगेको देखिएको छ । संसदवादी पार्टीहरुले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धनभन्ने नारादिंदै आएका छन् । जसमार्फत माओवादी केन्द्रदेखि राष्ट्रिय जनमोर्चा उर्फ मसाल समेत नेपाली कांग्रेससँग एकजुट हुँदैगएको देखिएको छ । उनीहरु राजनीतिकरुपमा पनि नेपाली कांग्रेसको निकट पुगेका छन्भने मोर्चागतरुपमा पनि सोही खेमामा आबद्ध भएको देखिएको छ । उनीहरुको चाहना फेरी क्रान्तिकारी बाटोमा आउने नभएर दक्षिणपन्थी बाटोमै अगाडि बढ्नेमा केन्द्रित छ । तर नेपालका सही क्रान्तिकारी भनिएका/मानिएका शक्तिहरुसँग न त त्यस्तो कुनै नारा छ, न एकताबद्ध हुने प्रयासनै भैरहेको छ । क्रान्तिकारी शक्तिहरुका बीचमा हुने भनिएको एकतामा बिलम्ब र अन्योल छभने मोर्चा बन्ने/बनाउने छाँटकाँटनै देखिएको छैन । बाहिरबाट हेर्दा क्रान्तिकारी खेमाबाट निरन्तर संसदवादी खेमामा जानेक्रम बढ्दो छ । राजनीतिमा प्रबेश गर्नासाथ कि बिभिन्न लाभदायी पदमा पुग्ने कि तत्कालै बन्दूक उठाउनेमा सबैको ध्यान केन्द्रित हुनेगरेको छ ।
नेपालको जनपक्षीय राजनीतिमा दाहिने र देब्रे दुबै गल्ती देखिने गरेका छन् । संसदवादी खेमाकै एकीकृत समाजवादीले समेत वर्तमान सत्तागठबन्धनको बैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट नभएको स्वीकार गरेको छ । त्यसैले देशको सत्ता राजनीतिमा बिचारबिहीनता र अराजनीतिक चरित्र बढ्दैगएको ठहर गरिएको छ । बर्तमान सरकार र ब्यवस्थाप्रतिनै जनतामा नकारात्मक प्रभाव पर्नथालेको संसदवादी दलहरुलेसमेत स्वीकार गरेका छन् । संसदवादी कम्युनिष्ट पार्टीहरुले पटक, पटक पार्टी एकता वा कार्यगत एकता र मोर्चा बनाउने प्रयास गरेपनि सफलता पाउन सकेका छैनन् । यसले उनीहरुमा चरम अवसरवाद बढेर गएको र एकअर्काप्रतिको बिश्वास हराएको स्पष्ट गरेको छ । एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादी पार्टीलेसमेत कांग्रेस पूँजीपति, एमाले दक्षिणपन्थी अवसरवादी, माओवादी केन्द्र ढुलमुले रहेको आफ्नो राजनीतिक प्रतिवेदनमै उल्लेख गरेको छ । एमालेलाई एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादीको संज्ञादिँदा त्यसको छिटा सो पार्टीमा पनि परेको सहजै बुझ्न/देख्न सकिन्छ । किनकी सो पार्टीको गन्तब्य पनि दक्षिणपन्थी अवसरवाद तिरै हो । यि सबै घटनाक्रमहरुले नेपालको कम्युनिष्ट राजनीति बरालिएको अवस्थामा रहेको देखाएको छ । कतिपयले त यहाँको कम्युनिष्ट राजनीति बिघटनउमुख बन्दैगएको समेत मूल्यांकनगर्न थालेका छन् । नेपालको हालको मुख्य समस्या भनेकै विदेशी हस्तक्षेप हो । जसका बिरुद्ध आन्दोलनलाई संगठित गर्नासाथ अन्य पक्षहरु पनि क्रमश: आन्दोलनको निशानामा पर्दैजाने छन् । देशको सामन्तवादी र दलाल शक्ति विदेशीको चंगुलमा फसिसकेको अवस्था भएकाले विदेशी हस्तक्षेप बिरुद्ध आन्दोलन अगाडि बढ्नासाथ ति सामन्तवादी र दलालहरु कि त क्रान्तिकारीसँग मिल्नु पर्छ कि उनीहरुको अवस्था समाप्ति तिर अगाडि बढ्छ । यो आजको प्रमुख बिचारणिय छलफलको बिषय भएको छ ।