२० माघ काठमाडौँ ।

सीके राउत स्वतन्त्र मधेसको अभियान छाडेर मूलधारको राजनीतिमा प्रवेश गरे पनि उनको साथ छाडेका केही नेताहरूले यो अभियानलाई निरन्तरता दिएका छन् ।
सीके राउतको साथमा काम गर्ने शीर्ष नेतामध्येका एक कैलाश महतो उनको साथ छाडेर अहिले स्वाधीन मधेस जनअभियान सञ्चालन गरेका छन् । उनले काठमाडौँ लगायत तराई मधेसका विभिन्न ठाउँमा स्वतन्त्र मधेस अभियानका लागि छलफल सुरु गरेका छन् । गत बिहीबार र शुक्रबार काठमाडौँमा छलफल गरेर निस्केका कैलाश महतो जनकपुर पुगेर माघ १७ गते तमलोपा, नेपाल सद्भावना पार्टी लगायतसँग छलफल गरे ।
अहिले उनी बारामा विभिन्न मधेस केन्द्रित सङ्घ, सङ्गठन तथा व्यक्तिहरूसँग छलफलमा जुटेका छन् । उनी भन्छन्, ‘सीके राउत जस्तो हामी देशबाट मधेस अलग खोजेका होइनौँ तर देशभित्रै मधेसलाई स्वतन्त्र (आजादी) राख्न चाहेका छौँ ।’ नेपालभित्रै मधेसलाई आत्मनिर्णयको अधिकारसहित पूर्ण स्वतयताका लागि अभियान सुरु गरेको बताउँदै उनले आफूहरूको यो अभियान गैर दलीय हुने बताए ।
दल बनाएपछि विभिन्न लोभ लालचमा फस्ने रहेछ, दल नै नबनाएपछि त्यस्तो अवस्था नै आउँदैन भन्दै उनले भने । उनले काठमाडौँमा रहेका विभिन्न सङ्घ सङ्गठन तथा मधेसी बुद्धिजीवी र सरोकारवालाहरूसँग एक चरण छलफल भएको बताए ।
तराई मधेसमा छलफल चलिरहेको छ । सबै ठाउँको छलफल सकाएपछि फागुनको अन्तिम साता काठमाडौँमा बृहत् छलफल गरेर अभियानलाई ठोस रूपमा अगाडि बढाउने उनले बताए । छलफल भएको सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया आएको बताउँदै उनले अहिले तराई मधेसमा रहेका संसदीय दलहरूबाट जनता आजित भइसकेका तथा मुद्दा र एजेन्डाभन्दा सत्ता र शक्तिमा केन्द्रित रहेको प्रतिक्रिया आइरहेको बताए ।
यसअघि सीके राउतका साथमा स्वतन्त्र मधेस आन्दोलनमा सहभागी थिए कैलाश महतो । सीके राउतले सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारमा गएपछि कैलाश महतो उनीसँग असन्तुष्ट भएर अलग भएको घोषणा गरेका थिए । उनले मधेसी जनतालाई ठुला ठुला सपना देखाएर यसरी बीचमै छाडेर जान नहुने तर्क राउतसमक्ष राखेका थिए । अभियानलाई एउटा किनारामा पुर्‍याएर मात्र अर्कोतिर जानुपर्ने तर्क उनको थियो । तर राउतले सरकारसँग सम्झौता गरिसकेका थिए । त्यहाँ कैलाश महतोको कुरा चलेन ।
त्यसपछि कैलाश महतो मधेसमा विभिन्न चरणमा छलफल चलाएर यो अभियान चलाएका हुन् । अहिले त्यही जनअभियानलाई अझ सशक्त बनाउनका लागि उनले मधेसका विभिन्न सरोकारवाला सङ्घ, सङ्गठन तथा पार्टीसँगको छलफललाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर