एम्बाप्पे चम्किएको खेलमा पोल्यान्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

एम्बाप्पे चम्किएको खेलमा पोल्यान्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

विश्वकप २०२२
एम्बाप्पे चम्किएको खेलमा पोल्यान्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को प्रतिस्पर्धामा फ्रान्सले पोल्यान्डलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। फ्रान्सको सहज जितमा स्टार स्ट्राइकर केलिएन एम्बाप्पेले २ गोल गरेका थिए।

पहिलो हाफमा १ गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप २ गोल गरेको थियो। पहिलो हाफमा दुबै टिमले गोलका राम्रा मौका सिर्जना गरेपनि खेलमा अग्रता भने फ्रान्सले लिएको थियो।

पहिलो हाफको अधिकासं समय गोल रहित बराबरी भएको खेलमा ४४ औ मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाए।

गोलसँगै फ्रान्सका लागि जिरुड सर्वाधिक गोलकर्ता बने। उनले ५२ गोल पुरा गरे। उनले फ्रान्सका लेजेन्ड स्ट्राइकर थिएरी हेनरीको ५१ गोलको कीर्तिमानलाई आफ्नो नाममा पारे।

फ्रान्सको अग्रता दोब्बर बनाउने क्रममा केलिएन एम्बाप्पेले दोस्रो गोल गरेका थिए। एम्बाप्पेले ७४ औ मिनेटमा सानदार गोल गर्दै विश्वकपमा ८ गोल पुरा गरे।

उनी सर्वाधिक कम उमेरमा ८ गोल पुरा गर्ने पहिलो खेलाडी समेत बने। त्यसको केहि समयमानै उनले करिअरको नवौं गोल सम्भव बनाए। एम्बाप्पेले इन्जुरी समयमा तेस्रो गोल गरेका थिए।

एम्बाप्पेले २३ वर्ष ३ सय ४९ दिनमा विश्वकपमा ९ गोल पुरा गर्ने एक्लो खेलाडी बने। २४ वर्ष भन्दा कम उमेरमा ७ गोल गर्दै पेले यो उमेरमा सर्वाधिक गोलकर्ता बनेका थिए। पेलेको उक्त कीर्तिमानलाई एम्बाप्पेले आफ्नो नाममा पारे।

उनले ८ गोल गर्दानै आफ्नो कीर्तिमान बनाएका थिए।उनले जारी विश्वकपमा ५ गोल पुरा गर्दै सर्वाधिक गोलकर्ता खेलाडीको शीर्ष स्थानमा पनि उक्लिए।

खेलको इन्जुरी समयको अन्तिम समयमा पोल्यान्डले पेनाल्टी पाएको थियो। जसलाई रोवर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई ३-१ को अवस्थामा ल्याएका थिए। पहिलो प्रहार गोलरक्षकले बचाएपनि रेफ्रिले पुन पेनाल्टीको मौका दिएका थिए। जहाँ उनी सफल हुँदा पोल्यान्डले शान्तवना गोल गरेका थिए।

अब साविक च्याम्पियन फ्रान्सले सेमिफाइनल प्रवेशको भिडन्तमा इंग्ल्यान्ड र सेनेगलबिचको विजेतासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने छ।