नेदरल्यान्ड्स क्वाटरफाइनलमा

नेदरल्यान्ड्स क्वाटरफाइनलमा

विश्वकप फुटबल २०२२

मंसिर १८, २०७९

दोहा — डेन्जेल डम्फ्रिसको उत्कृष्ट प्रदर्शनसँगै नेदरल्यान्ड्स ३–१ ले अमेरिकाको चुनौती समाप्त पार्दै शनिबार विश्वकप २०२२ को क्वाटरफाइनल पुग्ने पहिलो टिम भएको छ ।

जितपछि नेदरल्यान्ड्सका खेलाडी खुसी साट्दै ।
इटालियन सिरी ए क्लब इन्टर मिलानका २६ वर्षीय खेलाडी डम्फ्रिसको डच टिमले गरेका तीनै गोलमा संलग्नता रह्यो । मेम्फिस डिपेले १० औं मिनेटमै गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । त्यसमा डम्फ्रिसले अन्तिम पास दिए । डिले ब्लिन्डले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता दोब्बर बनाउँदा पनि उक्त गोलको अवसर डम्फ्रिसले नै सिर्जना गरेका थिए । हाजी राइटले ७६ औं मिनेटमा गोल अन्तर छोट्याए पनि डम्फ्रिस आफैंले ८१ औं मिनेटमा टिमको तेस्रो गोल गर्दै खेलमा फर्किने अमेरिकाको आसमा तुषारापात गरिदिए ।

भेट्रान प्रशिक्षक लुइस भान गालले सम्हालेको नेदरल्यान्ड्सले खलिफा अन्तर्राष्ट्रिय रंगशालामा अमेरिकालाई कडा चुनौती दिएको थियो । दुवै टिमले आक्रामक खेल प्रदर्शन गर्‍यो । डिपेले सुरुमै गोल गरेपछि चार वर्षपछिको सहआयोजक अमेरिका दबाबमा परेको थियो । समूह चरणको अन्तिम खेलमा बलियो मानिएको डेनमार्कलाई पराजित गरेर १६ वर्षपछि अन्तिम १६ मा छनोट भएको अमेरिकाले लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकको कप्तानीमा रहेको टिमलाई पन्छाउन सकेन । डच टिम प्रदर्शनकै आधारमा पनि अमेरिकाभन्दा केही बलियो नै देखियो । त्यसैले ८ वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किंदा पनि अमेरिकाको यात्रा पाँचौंपल्ट अन्तिम १६ मै टुंगियो ।

लगातार दुईपल्ट सन् १९७४ र १९७८ को फाइनल खेलेको नेदरल्यान्ड्स १२ वर्षअघिको उपाधि होडमा स्पेनविरुद्ध अतिरिक्त समयमा आन्द्रेस इनिस्टाको गोलमा १–० ले पराजित भएको थियो । ब्राजिलमा सन् २०१४ मा सेमिफाइनल पुगेको नेदरल्यान्ड्स चार वर्षअघिको रुसी संस्करणमा छनोटमै असफल भएको थियो । समूह ‘ए’ विजेता हुँदै नकआउटमा पुगेको डच टिमले विश्वकप पुनरागमनमा राम्रो गरेको छ । अब उसले सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिना र अस्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

ब्राजिल पनि हार्‍यो

ठूला टिमहरू एकपछि अर्को खेलमा स्तब्ध बन्नेक्रममा उपाधि दाबेदार ब्राजिलले पनि समूहको अन्तिम खेलमा हार बेहोरेको छ । लुसेल रंगशालामा शनिबार राति क्यामरुन १–० को जित निकाल्दै विश्वकपमा पाँचपल्टको च्याम्पियन ब्राजिललाई पराजित गर्ने पहिलो अफ्रिकी टिम बन्यो । डिफेन्डिङ च्याम्पियन फ्रान्स र पोर्चुगलको हारपछि ब्राजिल पनि चुकेको हो ।

भिन्सेन्ट अबुयबाकरले इन्ज्युरी समयमा काउन्टर अट्याकमा निर्णायक गोल गर्दै ब्राजिललाई पराजित गरी क्यामरुनले विश्वकपबाट बिदाइ लियो । गोलको खुसीयालीमा जर्सी खोलेपछि दोस्रो पहेँलो कार्ड ९रातो कार्ड० बेहोर्दै उनी बाहिरिएपछि क्यामरुन १० खेलाडीमा सीमित भएको थियो । तर, अन्त्यतिर ब्राजिलले पाएको हार टार्ने अवसर उपयोग गर्न सकेन र क्यामरुनको नाममा इतिहास कोरियो । एक खेलअगावै नकआउटमा स्थान सुरक्षित गरेपछि ब्राजिली प्रशिक्षक टिटेले पहिलो रोजाइका १० खेलाडी परिवर्तन गर्दै क्यानरुनविरुद्ध टिम उतारेका थिए । दोस्रो रोजाइको टिमको प्रदर्शन गतिलो भएन । नेयमर घाइते छन् । तर रिचार्लिसन, थियागो सिल्भा, भिनिसियस जुनियरलगायत चर्चित खेलाडीको प्रदर्शन हेर्न आएका ८५ हजार ९ सय ८६ दर्शक निरास हुँदै फर्किएका थिए ।

क्यामरुनसँग हारेर पनि ब्राजिल समूह ‘जी’ को शीर्षस्थानमा रह्यो । अर्को खेलमा स्विट्जरल्यान्डले सर्बियालाई ३–२ ले पराजित गर्दै समूह उपविजेता भएर अन्तिम १६ मा स्थान बनायो । रंगशाला ९७४ मा स्विस टिमको जितसँगै क्यामरुन प्रतियोगिताबाट बाहिरिएको हो । नकआउटमा पुग्न जित्नैपर्ने बाध्यतामा रहेको सर्बिया अलेक्जान्डर मिट्रोभिच र डुसान भ्लाहोभिचको गोलमा लिएको २–१ को अग्रता जोगाउन नसक्दा समूह चरणबाटै फर्किनुपरेको हो । जार्डन साकिरीले २० औं मिनेटमा गोलको खाता खोलेको खेललाई स्विट्जरल्यान्डले ब्रिल डोनाल्ड इम्बोलोको गोलमा पहिलो हाफमै २–२ को बराबरी गरेको थियो ।

रोमाञ्चक खेलमा रेमो मार्को फिउलरले ४८ औं मिनेटमा निर्णायक गोल गर्दै स्विस टिमलाई नकआउट प्रवेश गराइदिए । क्वाटरफाइनल प्रवेशका लागि ब्राजिलले दक्षिण कोरिया र स्विट्जरल्यान्डले पोर्चुगलविरुद्ध खेल्नेछन् ।