काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीमाथि काठमाडौं महानगरले विना स्थायी विकल्प डोजर लगाएर जबर्जस्ती गराउन खोजेपछि उठेको प्रतिरोध संघर्षको समर्थनमा नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय तथा मोर्चा संगठनहरुले आज थापाथलीमा ऐक्यबद्धता–सभा सम्पन्न गरेका छन् ।
ऐक्यबद्धता सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सिताराम तामाङ, संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष पवन गुरुङ, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अनेमसंघ (क्रान्तिकारी)की सचिव रिना गेलालले सम्बोधन गर्नुभएको थियो ।
सुकुम्बासीको भोट लिएर जितेकाहरुले चुनाव सकिन नपाउँदै जोडर लगाएर सुकुम्बासीहरुलाई आफ्नो थातथलोबाट विस्थापित गर्न खोजेकोले यो संसदीय व्यवस्था सुकुम्बासीहरुको नभएको पुष्टि गरेको बताउनु भयो । संसदीय व्यवस्थाका शासहरुलाई सुकुम्बासीहरुको भोट चाहिं चाहिने अनि बर्षौदेखि थातथलोमा चाहिं बस्न नपाउने ? भन्दै आक्रोश पोख्नुभयो ।
उहाँले भन्नुभयो, “अब यी नयाँ राजाहरुलाई लखेट्नुपर्छ । यो व्यवस्था सुकुम्बासीको व्यवस्था होइन । अब सुकुम्बासीहरुको व्यवस्था ल्याउनका लागि संघर्ष गर्नुपर्छ ।”
अन्य नेताहरुले पनि स्थायी विकल्प विना सुकुम्बासीहरुलाई हटाउन नहुने र हटाउन खोजे सुकुम्बासीहरुको प्रतिरोध संघर्षको अग्रमोर्चामा आएर लड्ने प्रतिबद्धता पनि जनाउनु भयो । क्रान्तिकारी माओवादी सुकुम्बासी, मजदुर, किसान, महिला, दलित, जनजाति लगायत सबै शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिको लागि लड्ने पार्टी भएकोले सुकुम्बासीहरुको आन्दोलनमा सँधै साथ रहने भनाइहरु राख्नुभयो ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बसन्त बोगटीले सञ्चालन गनुभएको ऐक्यबद्धतासभामा थापाथली बस्तीकै सुकुम्बासी नेता मिनकुमार रानाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका महासचिव सन्ध्या प्रधानले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा प्रदेश ३ का इन्चार्ज अटलको समेत उपस्थिति रहेको थियो ।