मोरक्को समूह विजेता

मोरक्को समूह विजेता

मोरक्को फिफा विश्वकपमा २४ वर्षपछि समूह विजेता बन्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ । पहिलो हाफमा हामिक जियच र युसेफ नेस्रीको गोल तथा नाएफ अगुअर्डले आत्मघाती गोलको सहयोगमा मोरक्कोले क्यानडालाई २–१ ले पराजित गर्दै नकआउट चरण स्थान पक्का गरेको हो ।

वालिड रेग्रागुईको प्रशिक्षणमा रहेको मोरक्कोले सन् १९८६ पछि दोस्रोपटक नकआउट चरणमा स्थान बनाएको हो । खेलको चौथो मिनेटमै मोरक्कोले १–० को अग्रता बनायो । स्टेभन भिटोरियाले क्यानडाका कप्तान तथा गोलरक्षक मिलन बोर्जनलाई बक्सबाहिर ब्याक पास दिएका थिए । मिलनले गल्ती गरेपछि हाकिमले २५ यार्डबाट सीधै गोल गरे ।

क्यानडाको गल्तीको फाइदा उठाउँदै युसुफले २३औँ मिनेटमै २–० को अग्रता दिलाए । पहिलो हाफ सकिन पाँच मिनेटअघि अगुअर्डले आत्मघाती गोल गर्दा क्यानडा खेलमा २–१ को स्थितिमा रह्यो । दोस्रो हाफमा कुनै गोल नहुँदा मोरक्को शीर्षस्थानमा रहन सफल भयो ।