शहीदका सपनाहरू रातै भएर फुलेछन्

शहीदका सपनाहरू रातै भएर फुलेछन्

महान् जनसमरको तुफानी केन्द्र रोल्पाको घोर्नेटी (ओत गाजस)मा केन्द्रीय आधारइलाका क्षेत्रीय ब्यूरोको निर्णयानुसार जननमूना अस्पतालको निर्माण गर्ने काम मिति २०६२ असोज १३ देखि शुरु भएर २०६३ श्रावण २५ सम्ममा सम्पन्न भयो । यसको उद्घाटन कार्यक्रममा उपस्थितिको लागि वार्ता टोलीका संयोजक तथा पार्टी केन्द्रीय समिति सदस्य क.कृष्णबहादुर महरासँगै भारतको पटना जेलबाट हालैमात्र छुटेका हामी क.सोनाम र म पनि रोल्पा आउने कुरो तय भएछ । सोही अनुसार श्रावण २८ गते बिहान ९ः३० बजे काठमाडौंबाट यात्रा शुरु भयो । हाम्रो गाडी तुफानको गतिमा कुद्यो । महरा कमरेड हामी भन्दा अघि नै हिडेकोले पहिले नै तुल्सीपुर आइसक्नु भएछ । हाम्रो गाडी घोराहीमा ७ः३० बजेतिर आइपुग्यो । त्यहाँबाट गाडी बदलेर तुरुन्तै तुल्सीपुरतिर हानियौं । तुल्सीपुरमा आउँदा ८ः३० बजिसकेको थियो । महरा कमरेडलगायतका कमरेडहरूसँग त्यहीँ भेट भयो र एउटा गेष्टहाउसमा बसियो । गाडीले उछालेर हैरान पारेकोले खाना खाएर खुत्रुक्क सुतियो ।

२९ गते बिहान ५ः०० बजे नै हिड्ने भन्ने महरा कमरेडको निर्देशनअनुसार ४ः३० मा उठियो । तर साथीहरूको थोरै ढिलाढालाले पौने ६ मा हाम्रो गाडी तुल्सीपुरबाट हिँड्यो । हाम्रा फुच्चे गाडीहरू कच्ची बाटोमा खतराका बिचबाट अघि बढे । कपुरकोटमा आएर नास्तापानी गरियो । अनि पुनः घुम्ती र मोड हुँदै उकालो लाग्यौं । निगालपानीमा ८ः३० मा आइपुगियो । त्यहाँ हाम्रा ३ वटै गाडीले विश्राम गरे । किनकि अगाडि बढ्नको लागि बाटो राम्रो बनेको थिएन ।

व्रिगेड कमाण्डर क.अविनाशले अगाडि नै आएर खानाको व्यवस्थापन गरेकाले सिमपानीमा आएर केही क्षण आराम गरेर खाना खाइयो । जब निगालपानीमा गाडी छोडियो अनि २ वटा घोडाको व्यवस्था गरिएको रहेछ । महरा सर, सन्तोष जी र सोनामजीले पालैपालो गरेर घोडा चढ्दै अघि बढ्नु भयो । घोडाहरू कमजोर र तालिम प्राप्त रहेनछन् । हामी नेर्पा (जुँगार) आउँदा त्यहाँको उच्च माविमा हाम्रो स्वागत अभिनन्दनको लागि माला र अविर लिएर शिक्षक र विद्यार्थीहरू पङ्क्तिबद्ध भइ हाम्रो प्रतिक्षा गरिरहेको पाइयो । प्रिन्सिपल त्रिलोचन सापकोटाको नेतृत्वमा त्यो कार्यक्रम राखिएको रहेछ । उहाँहरूको बुझाइ ठिकै देखियो । अविर माला ग्रहण गरेर अभिनन्दित भयौं हामी । महरा सरले सङ्क्षिप्त मन्तव्य दिनुभयो । अनि हामी पुनः अघि बढ्यौं । करिब पौने घण्टाको खोलो हिडेपछि उकालो लाग्यौ । उकालोमा घोडाहरूको पनि हालत खराब भयो । हाम्रा कतिपय साथीहरूको पनि त्यस्तै भयो । भोकले पनि खुब आक्रमण ग¥यो । माथि चालेका कदम पनि तलै खस्ने भए । मुस्किलले झिनुवाको बजारमा आइयो । मलगायत केही साथीहरू त अघि नै आएकोले पानीले रुझाउन पाएन तर केहीलाई त निथु्रक्कै पारेर रुझायो । मान्छे धेरै भए पनि सबैलाई सेट गरेर राख्नु भयो साथीहरूले । त्यहीँ नास्तापानी र खाना खाएर सुतियो ।

३० गते बिहान पुनः ६ बजे हिड्ने कुरो भयो । चिया पानी गर्दागर्दै ६ः३० भइसक्यो । अघिल्लो दिनको थकाइले साथीहरू हिड्न नसक्ने भएका थिए । झिनुवाको जाडोले थोरै सताउने पनि ग¥यो । तैपनि रात त भाग्यो नै । जनमुक्ति सेनाका कमरेडहरूले खुब कष्ट गरेर सबै काम मिलाउनु भयो । हाम्रो सङ्ख्या बढेर ३०÷३५ जनाको भइसकेको थियो । त्यसैमा जनता र स्थानीय पार्टी कार्यकर्ताको लाममा हामी अघि बढ्यौं । झिनुवाबाट ओरालो र तेर्सो बाटो भएर पौने दश बजे हामी घोर्नेटी आइपुग्यौं ।

त्यहाँ हाम्रो टिमलाई क.प्रभाकरण र क.छिरिङलगायतका कमरेडहरूको अगुवाइमा अविर लगाएर स्वागत गरियो । स्वागत ग्रहण गर्दै हामी एउटा आथित्य हलमा प्रवेश ग¥यौं । त्यहाँ कैयौं परिचित र अपरिचित चेहराहरूसँग साक्षात्कार भइयो । पत्रकारहरू क्यामरामा हामीलाई कैद गर्न तछाड–मछाड गर्दै थिए । केही भलाकुसारी पनि भए । सामान्य चिया नास्तापछि हामीलाई नयाँ भवनहरूतिर लिइयो । त्यहाँ क.दिवाकर (पश्चिमी केन्द्रीय कमाण्ड इन्चार्ज), क.विप्लव (केन्द्रीय आधारइलाका क्षेत्रीय व्यूरो इन्चार्ज), डेपुटी कमाण्डर क.पासाङ, पाँचौं डिभीजन कमिसार क.सुदर्शन, कमाण्डर क.शरदलगायतका कमरेडहरूले अविरले स्वागत गर्नुभयो । हामीले फेरि हाम्रा दरिला हातहरू मिलायौं । रेड स्यालुट ग¥यौं । पे्रमले भरिपूर्ण गलाहरू मिलायाँैं । एउटा छुट्टै आनन्दानुभूतिका साथ हामी एउटा भव्य भवनको हलभित्र पस्यौं । जहाँ केही कुराकानीहरू भए । थोरै आराम भयो । केही क्षणपछि खाना खाएर दिउँसो १ः०० बजेदेखि शुरु हुने कार्यक्रमको लागि हामी मञ्चतिर पङ्क्तिवद्ध रूपमा अघि बढ्यौं । जनमुक्ति सेनाको रेड स्यालुट लिंदै हामी मञ्चमा आसन ग्रहण गर्न पुग्छौं ।

एउटा औपचारिक कार्यक्रममा हाम्रो पुनः स्वागत अभिनन्दन गरियो । केन्द्रीय कमाण्ड इञ्चार्ज कमरेडले अविर माला पहिराएर, ढाका टोपी र शल ओढाएर अभिनन्दित गर्नुभयो । जनता, जनमुक्ति सेना र पार्टी कार्यकर्ताको घना उपस्थितिले कलात्मक रूपमा सजाइएको ग्राउण्ड र सिंढीहरू खचाखच भरिएका थिए । देश र जनताका असली रक्षक जनमुक्ति सेनाहरू आफ्नो कर्तव्यमा दत्तचित्त थिए । राता झण्डाहरू आकर्षक र मनमोहक रूपमा निरन्तर फर्फराइरहेका थिए । घोर्नेटी हिजो ढुङ्गैढुङ्गा र बुट्यानै बुट्यानले भरिएको सिरेटो चल्ने र स्याल कराउने डाँडो थियो । तर आज उही घोर्नेटी नयाँ विचार, नयाँ योजना र इच्छाशक्तिपूर्ण श्रमवीरहरूको कडा परिश्रम स्वरूप सर्वोत्तम तथा सर्वोत्कृष्ठ स्वर्ग (नमूना) बनेर उभिएछ । महान् जनयुद्धका वीर शहीदका सपनाहरू राताम्मै भएर फुलेछन् । घाइते योद्धाहरूका भावना र आकाङ्क्षाहरू सुन्दर फूलको रूपमा मुस्कान छर्दै फक्रिएछन् । महान् जनताका रगत पसिनाहरू सौरभित रूपमा झुलेछन् । २१औं शताब्दीको क्रान्तिपथ वास्तवमै विश्वलाई नै नयाँ ढङ्गले नेतृत्व गर्दै घोर्नेटीबाट यात्रा आरम्भ गरेछ । त्यसैले यो मालेमावादको अर्को नवीन नमूना हो । जुन सृजना हो । नेपालको लाल नहर हो । जुन नहरबाट सयौं हजारौं जीवनका गह्राहरू, पाटाहरू र फाँटहरू सिंचित हुनेछन् । ‘पचपन्न हजार टाउका र एक लाख दश हजार हातहरू’ ले निर्माण गरेको यो जनताको सुन्दर कलाकृति वास्तवमै नमूना छ । जनश्रम र आर्थिक लगानीलाई जोड्दा एक करोडको पूँजीमा यो भव्य जनअस्पताल निर्माण भएको कुरा निर्माणमा संलग्न क.प्रभाकरणले बताउनु भयो । क्रान्तिको ध्वंसात्मक अवधिमा पनि यति सुन्दर, सशक्त निर्माण हुन्छ भनेर सायद कसैले कल्पना पनि गर्न नसक्लान् । घोर्नेटीमा रोल्पाली जनताले महान् पार्टीको सक्षम नेतृत्वमा त्यो अकल्पनीय कार्य गरेर देखाएका छन् । नयाँ संसार निर्माण गर्न पुरानोको ध्वंश गर्नै पर्छ । ‘नभत्की निर्माण हुँदैन, नरोक्किइ प्रवाह बढ्दैन’ । यो वैज्ञानिक सत्यता यहाँ पुनर्पुष्टि भएको छ । जननमूना अस्पतालबाट सिक्नुपर्ने अथाह शिक्षा छ । अनि हामीले नेपाललाई घोर्नेटीकरण गर्नुपर्छ । अर्थात घोर्नेटीबाट नेपालमा वृहद्धिकरण गर्नुपर्छ । मगराँत स्वायत्त गणराज्यले स्वास्थ्यको क्षेत्रमा एउटा उज्ज्वल नमूना पेश गरेको छ । यो नमूना केही वर्षको लागि अप्रतिस्पर्धी हुनसक्छ । जननमूना अस्पताल एउटा अग्रणी गूरु हो । यो पसिना र विचारको सुन्दर फूल हो ।
यसपटकको घोर्नेटी दृश्यले एउटा ऊर्जाशील र नविन अनुभूति गरायो । उद्घाटन कार्यक्रममा प्रदर्शित संगीत र कला पनि नमूना नै लाग्यो । केन्द्रीय आधार इलाकाभित्र गीत, संगीत, कला, नविन सिर्जना, हिम्मत र पौरख, त्याग, बलिदान र सौर्य बनेर जनताको दिल दिमागमा हुर्किरहेको पाइयो । एउटा बेग्लैपनमा, आफ्नै मौलिकतामा अनि आफ्नो छुट्टै विशेषतामा सम्पूर्ण समस्याको समाधान बनेर सिस्ने र जलजलाबाट झुल्किरहेको पाइयो । जनयुद्धको प्रज्ज्वलित आलोकमा केन्द्रीय आधारइलाका विश्व सर्वहारावर्गकै आधारइलाका बनिरहेको पाइयो ।

(प्रस्तुत संस्मरण तात्कालीन सन्दर्भमा जनयुद्धले विकास गरेका विजयी स्मारकहरुको स्मरण गर्ने क्रममा माओवादी नेता लोकेन्द्र विष्टले ‘नवचेतना मासिक’का लागि लेख्नुभएको थियो । आज जनयुद्धका मूख्य नायकको एउटा हिस्साले जनयुद्धका सबै उपलब्धीहरुलाई प्रतिक्रियावाद सामू समपर्ण गरेर प्रतिगामी बाटो पकड्न पुगेको अवस्थामा प्रस्तुत सामग्रीमार्फत आजका पाठकहरुमा जनयुद्धको उपलब्धी स्मरण गराउने उद्ध्श्यले यहाँ पुनः प्रकाशित गरिएको छ । उक्त अस्पताल, लेखक र जनमुक्ति सेनाकाे परेडकाे फाेटाे स्वयम् सम्पादककाे अलबमबाट लिइएकाे हाे ।– सम्पादक)