तिम्रो सपनाको यात्रा
पच्छ्याउदैछु प्रिय
तिम्रो आस्थाको बाटो
खोज्दै छु प्रिय
तिम्रो बिचारको मार्ग
बुझदैछु प्रिय
ऋृतुहरुले धेरै पालुवा फेरि सक्यो
समयले पटक पटक घात गरिसक्यो
मुटुभरी चोटै चोटको
निलडामले भरिसक्यो
र पनि मेरो मन फेरिएको छैन
त्यही सुनौलो दिनको पर्खाइमा
नजरहरु डुलाइ रहेको छु
चोटहरु पचाउँदै पनि
भन्न मनलाग्छ खबरदार
बादसाहहरु !
सहिदको रगत सुकेको छैन
खुट्टा उठाउँदै गर्दा
शीरमा लाठिहरुको बर्षा हुन्छ
असिनाले थिचेको रुख जसरी
थिचोथिचो पार्न खोजिन्छ
र पनि तिम्रो सपनाको
अगाध मायाले होला
मेरो शीर झुक्न जान्दैन
मेरो पाइला रुक्नै मान्दैन ।
हो प्रिय बाचा कसम
खाएका थियै हामीले
अनन्तसम्म लड्ने
निरन्तर अघि बढ्ने
जबसम्म सपनाको गन्तव्य भेटिदैन
तबसम्म नथाकेर हिड्ने
त्यसैले त होला आज पनि
तिम्रै सपनाको हितैसी छु
तिम्रो आस्थाको प्रेमी छु
तिम्रै लक्ष्यको भोको छु
जनयुद्धको कथा भन्छु
जनमुक्तिको गीत गाउँछु
बेला बेला सहिदको
बस्तिहरुमा धाउँछु
कसैलाई मेरो आनिबानिले
असैह्य पीडा दिन्छ
कसैको मनहरुमा मलम बनेर छुन्छ
जे होस् आशाहररु मरेको छैन
तिम्रो सपनाको गीतका
शब्द शब्दहरु गुनगुनाइ रहन्छु
यी भाकाहरुले कुनै दिन
लय भर्नेछन् सङ्गीत छर्ने छन्
सगरमाथाको शिखर छुने छन्
लाल यात्रीहरु बिजय हुने छन् ।
हो प्रिय
अँध्यारो हटाउँदै
सारा छितिज खुल्ने छन्
रातो किरण सँगै तिम्रो
हाम्रो सपनाहरु फुल्ने छन्
भौतिक रुपमा त हामी अब
कैलै भेट्ने छैनौ प्रिय् कमरेड
हो मलाई थाह छ
मेरो जिन्दगीको भोगाइहरु
तिमिलाइ सुनाउन पनि
सक्ने छैन प्रिय कमरेड
तिम्रो सपनाहरू फुल्न थाले भने
मेरो मनले भुल्नेछ
विजयको झन्डा सगरमाथामा
फहरायो भने बल्ल मेरो
गर्वले छाती फुल्नेछ !
(सहिद कमरेड जलनको सम्झनामा २५ चैत्र २०७७)