भूपू कमरेड !
यो रुने समय होइन
गंभीर हुने समय हो
के तिमी गंभीर छौ त ?

हार्दिक शुभकामना !

तिमी रुनुको कारण के हो ?
तिमी कुन सपना संझेर रोएको भूपू कमरेड ?

झण्डावाला गाडी
सिंहदरबारको बसाई
र सिंगापुरको खान्की संझेर रोएको कि,
दुस्मनले पिसाव फेरिरहेका
सहयोध्दाहरूका चिहान संझेर रोएको ?

सुङ्गुरको खोरमा
सुङ्गुर बनेर पाँच वर्ष
सुङ्गुरसँग प्रणय- पिरती गाँस्ने
अवसर जुरेन भनेर रोएको कि
महान तथा गौरवशाली जिन्दगी
सुङ्गुरमा परिणत भयो भनेर रोएको ?

यो रुने समय पटक्कै होइन भूपू कमरेड
जति वेला रुनु पर्ने थियो
तिमी पटक्कै रोएनौ
रोइरहेका सहिद परिवार देख्दा पनि रोएनौं
काँधमा बोकेको जल्लादले
काँधमै छेर्दा पनि रोएनौ
दुस्मनले मुखमै पिसाव फेर्दा पनि रोएनौं
अहिले के संझौता रोएको तिमी ?

यति धेरै आँसु
हिजो लडाइँ हार्दा पनि आएन तिम्रो
आँखै अगाडि दुस्मनले
आफन्तलाई मार्दा पनि आएन तिम्रो
जनताको सत्तालाई
आफैंले भङ्ग भएको घोषणा गर्दा
जनताको सेनालाई
आफैले दुस्मन लगाएर नाङ्गेझार पार्दा
सिंह जस्तो पार्टीलाई
स्याल पार्टीमा‌ वदल्दा
तिमी मुसुमुसु मुस्कुराई रह्यौ
आज एक्कासी
के संझौता रोयौ भूपू कमरेड ?

यो रुने समय होइन
रुन छोडिदेऊ
यो त आत्महत्या गर्ने समय हो
के तिमीसँग आत्महत्या गर्ने साहस छ ?

हत्तेरिका !
तिमी कमरेड होइनौ
भूपू कमरेड हौ भन्ने कस्तो भुलेको मैले पनि !

जसरी भूभू चोरहरू साधु हुन्छन
भूपू साधुहरू चोर हुन्छन्
त्यसै गरी
हरेक भूपू कमरेडहरू
कमरेड हुदैनन्‌ कटप्पा हुन्छन
यति कुरा पनि ख्याल नगरेर
मैले समय खर्च गरेंछु
मलाई माफ गर भूपू कमरेड
मैले गलत मानिसलाई
गलत प्रश्न सोधेंछु !

२०७९ मङ्सिर ७
माइतीघर मण्डला

प्रतिक्रिया

सम्बन्धित खवर