काठमाडौं । चितवनको राप्ती नगरपालिकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले मतपेटिका जलाउने प्रयास गरेका छन्। आइतवार बिहान ८ बजेतिर राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदानस्थलमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउन प्रयास गरेका थिए। त्यसक्रममा प्रहरीले तीन राउन्ड गोली चलाएको थियो। प्रहरीले हानेको गोली लागेर विप्लवका एकजना कार्यकर्ता घाइते भएका छन्। घटनापछि मतदानस्थल तनावपूर्ण हुँदा मतदान स्थगित भएको छ।
दोलखाको तामाकोशी गाउँपालिकास्थित एक मतदान केन्द्रमा पनि गोली चलेको छ। दलका कार्यकर्ताले मतदानका क्रममा अनावश्यक हुलदंगा गरेपछि प्रहरीले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको बागमति प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यले जानकारी दिइन्।
तामाकोसी गाउँपालिकाको गोल्मेश्वर मतदान केन्द्रमा गोलि चलाउनु परेको हो। मतदान केन्द्रमा एक पटकमा २०–२५ जनालाई मात्रै मतदान गर्न दिने भने पनि कार्यकर्ताले हुलदंगा गरेर मतदान प्रभावित गर्न खोजेका थिए। अहिले त्यहाँ मतदान रोकिएको छ।
बर्दिया क्षेत्र नम्बर १ स्थित नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा बम विस्फोट भएको छ। मतदान केन्द्र नजिकै खेतमा बम विस्फोट भएपछि अहिले मतदान रोकिएको छ। मतदान सुरू भएको केही समयमै नजिकै रहेको खेतमा बम विस्फोट भएको थियो। मतदान केन्द्र रहेको स्कूल भवनमाथि विस्फोट भएपछि मतदाताको भागाभाग भएको छ। अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
उता सिरहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल मतदानस्थलमा पनि गोली चलेको छ। जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मतपेटिका खोस्ने प्रयास भएपछि प्रहरीले ३ राउन्ड हवाइ फायर गरेको छ। स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए।
त्यस्तै रौतहको एक मतदान केन्द्रमा हवाइ फायर भएको छ। रौतहटको गुजरा नगरपालिका ४ को मतदान केन्द्रमा हवाई फायर भएको हो। मतदान केन्द्र बाहिर लाइन लागेका दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो। त्यहाँ पनि मतदान स्थगित भएको बताइएको छ ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता माध्यमिक विद्यालय बस्ताकोट मतदानस्थलमा शंकास्पद वस्तु डिस्पोज भएपछि मतदान सुरु भएको छ ।
आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहे पनि शंकास्पद वस्तु भेटिएपछि करिब १ घण्टा मतदान रोकिएको थियो । सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गरेपछि मतदान सुरु भएको कालीबक्स गणका सह-सेनानी पवन खड्काले जानकारी दिए ।