काठमाडौं । ‘जबर्जस्त उठिबास बन्द गर, बसोबासको आधारमा लाजपुर्जा दिने व्यवस्था गर’ भन्दै बागमती नदी करिडोरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय घेराउ गरेका छन्। समितिले घर–टहरा भत्काउन १० दिने अल्टिमेटम दिएपछि त्यहाँ बस्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु आन्दोलित बनेका हुन्। समितिले शुक्रबार सूचना जारी गर्दै बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घर टहराहरू १० दिनभित्र भत्काउन अल्टिमेटम दिएको थियो।

समितिको सो निर्णय तुरुन्त खारेज गर्न माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले मंगलबार समितिमा ध्यानाकर्षणपत्र समेत बुझाएको छ।ध्यानाकर्षणपत्रमा बिना विकल्प उठीबास गर्न नपाइने, राज्यका निकायबीच समन्वय गरी भूमि आयोगको कामलाई प्रभावित पार्न नहुने, घरटहरा भत्काउने सूचना तुरुन्त बन्द गर्नुपर्ने र लालपूर्जासहित भू–स्वामित्वको ग्यारेन्टी गर्न माग गरिएको छ।
समितिले सूचना फिर्ता नलिए आफूहरू जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको मोर्चाको चेतावनी छ। समिति, शहरी विकास मन्त्रालय र मोर्चाबीच भएको पटक–पटकको छलफलमा भएका सहमति कार्यान्वयन नगरी सूचना निकालिएको पत्रमा उल्लेख छ।
मोर्चाले मंसिर १ गते माइतीघर मण्डलामा वृहत् खबरदारी ¥याली तथा सभाको आयोजना गरेको छ । १ गतेको कार्यक्रममा हजारौंको संख्यामा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु सहभागी हुने पनि मोर्चाले जनाएको छ ।






























