कवितामार्फत् क्रान्तिकारी स्रष्टाहरुको आव्हान : ‘संसदीय निर्वाचन बहिस्कार गरौं !’

कवितामार्फत् क्रान्तिकारी स्रष्टाहरुको आव्हान : ‘संसदीय निर्वाचन बहिस्कार गरौं !’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जबस मोर्चाको संयुक्त आयोजनामा ‘निर्वाचन बहिस्कार कविता कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्रष्टाहरुले कवितामार्फत् मंसिर ४ को निर्वाचन बहिस्कार गर्न आव्हान गर्नुभएको छ ।

यसरी आफ्नो काव्यिक रचनामार्फत् यस्तो आव्हान गर्ने स्रष्टाहरुमा जगदीश चन्द्र भण्डारी (पाँच पाँच वर्षमा, निषेध), बसन्त बोगटी (युद्ध हुर्किरहेको समय), ढुण्डीराज अधिकारी (दलाल भ्रष्टहरुको चुनाव), सुनिता बुढाथोकी (बहिस्कार गर), शिला योगी (लाटो कोसेरोको सपना), मित्रलाल पंज्ञानी (कुरो फेर्न सिपालु छौं), गौरी देवकोटा (असह्य वर्तमान), विष्णु लामा (बा देखाइदेउ), अग्नि पौडेल (ब्युँझ, अब त ब्युँझ), अशोक सुवेदी (उल्टो मेसिन) रहनु भएको छ ।

कार्यक्रमा कार्यक्रमका सञ्चालक हिरामणि दुःखीले मोदनाथ मरहठ्ठाको कविता ‘धारेहात’ र खगेश्वर भण्डारीको ‘देश बेच्ने चुनाव बहिस्कार गरौ’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो ।

अनेकिमहासंघ (क्रान्तिकारी)का अध्यक्ष सिताराम तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले कविता प्रस्तुत गर्ने स्रष्टाहरुलाई धन्यवाद दिंदै संसदीय चुनावको कुनै औचित्य नरहेको विषयमा स्पष्ट पार्नुभयो । उहाँले अब क्रान्तिकारी शक्तिले संसदीय व्यवस्थाको विरोध र भण्डाफोर मात्रै नभएर विकल्प पनि दिनुपर्ने विचार व्यक्त गर्दै क्रान्तिकारी माओवादीले संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्रको नारा अगाडि सारेको पनि बताउनु भयो ।

उहाँले अहिले मानिसहरु स्वतन्त्र उम्मेदवारको रुपमा व्यक्तिको विकल्पतिर लागेको चर्चा गर्दै उहाँले समस्या व्यक्तिमा भन्दा पनि व्यवस्थामा रहेकोले व्यवस्थाको विकल्पका लागि क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रमको समापन गर्दै नेता सीताराम तामाङले संसदवादी पार्टीका नेता कार्यकर्तालाई भोट दिनु भनेको चोरलाई चौतारो दिनुजस्तै हुने भन्दै व्यवस्था विरुद्धको संघर्षको कुनै विकल्प नरहेको स्पष्ट पार्नुभयो । उहाँले कम्युनिस्ट आन्दोलनमा राजनीति आन्दोलन र साँस्कृतिक आन्दोलन सँगसँगै हिड्नुपर्ने आवश्यकतामाथि जोड दिंदै कार्यक्रममा काव्यिक रुपमा व्यक्त विचारलाई अझ सशक्त रुपमा अगाडि बढाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य अखिल (क्रान्तिकारी)की नेतृ शिलु न्यौपानेले राख्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी माओवादीका पीवीएम तथा प्रदेश ३ का इन्चार्ज अटल, पीवीएम पवनमान श्रेष्ठ लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।