काठमाडौं । अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ लगायत २२ वटा घटक संगठन सम्मिलित संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको दश दिनभित्र वागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन दिएको अल्टिमेटमका विरुद्ध आन्दोलनको घोषणा गरेको छ । मोर्चाले कार्तिक २९ गते सभ्यताको गुहेश्वरीस्थित कार्यालयमा घेराउ तथा धर्ना दिने र मंसिर १ गते माइतीघर मण्डलामा वृहत् खबरदारी ¥याली तथा सभा गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
समितिले सूचना फिर्ता नलिए काठमाडौँभरका सुकुम्वासी आन्दोलित हुने मोर्चाका महासचिव अर्जुन कुँबरले चेतावनी दिए । उनले समितिको निर्णयविरुद्ध खबरदारी गर्नेदेखि आन्दोलनका कार्यक्रम अगाडि बढाउनेसम्मका निर्णय मोर्चाले गरेको सुनाए ।
समितिले पटक पटक बस्तीमाथि हस्तक्षेप गर्न खोजेको भन्दै विभिन्न सुकुम्वासी सङ्गठनले आक्रोशसमेत पोखेका छन् । समितिलाई दबाब दिन मंसिर १ गते आन्दोलनमा उत्रने भएका छन्। खबरदारी सभामा नागरिक अगुवाको पनि समर्थन हुने महासचिव कुँवरले जानकारी दिए ।
समितिले सूचना जारी गरिएको मितिले १० दिनभित्र अर्थात् मंसिर ४ गतेसम्म अनिवार्य रूपमा त्यस्ता घर र टहरा तथा थुपारिएका निर्माण सामग्री र सवारी साधन हटाउन निर्देशन दिएको छ । सो अवधिमा बागमती करिडोरमा बनेका संरचना नहटाए काठमाडौं महानगरपालिका तथा अन्य सरोकारवाला निकायसँगको सहयोग एवं समन्वयमा खाली गाउने चेतावनी समितिले दिएपछि सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु आन्दोलित बनेका छन् ।