काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै वर्गीय र जातीय मुक्ति प्राप्त गर्न संशाेधनवादी र अवसरवादीसँग लड्न जरुरी भएको बताउनु भएकाे छ ।
शनिबार काठमाडौंमा आयोजित प्रा.डा. ओम गुरुङकाे श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवादबिरुद्ध संघर्ष गर्दापनि वर्गीय, जातीय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताउनु भयाे।
‘हामीले देशमा रुपान्तरणको लागि सामन्तवादका बिरुद्ध, साम्राज्यवादका बिरुद्ध, बाहुनवादका बिरुद्ध वर्गीय, जातीय, महिला, दलित, मधेसी, सबैसबैको मुक्तिको निम्ति धेरै रगत बग्यो,’ महासचिव किरणले भने, ‘थुप्रै योद्धाहरुले शाहदत प्राप्त गरे तर अझै मुक्ति प्राप्त हुन सकेको छैन। अब हामी फेरि मुक्तिका निम्ति संघर्ष गर्न जरुरी छ।’
उहाँले सामन्तवाद, साम्राज्यवाद, पितृसत्तावाद, व्राह्मणवाद, पहाडीया शोषणवादका बिरुद्ध लड्दै गर्दा संशोधनवादका बिरुद्ध पनि लड्न अत्यावश्यक रहेको बताउनु भयाे । ‘सामन्तवाद, साम्राज्यवाद, पितृसत्तावाद, व्राह्मणवाद, खस आर्य पहाडीया शासकवर्ग बिरुद्ध मात्र हाेइन संशोधनवादका बिरुद्ध पनि लड्नुपर्छ,’ उहाँले कार्यक्रममा भन्नु भयाे, ‘संशोधनवादकाबिरुद्ध नलडीकन मुक्ति हुन सक्दैन, किनभने त्यो संशोधनवाद सबैमा घुसेको छ। क्रान्ति पूरा भयो भनेर भ्रामक प्रचार गरिएकाे छ । त्याे झुठ कुरा हाे, क्रान्ति पूरा भएको छैन ।’
संशोधनवाद सबै क्षेत्रमा फैलिसकेको उल्लेख गर्दै संशोधनवाद र अवसरवादका बिरुद्ध नलडीकन मुक्ति प्राप्त हुन नसक्ने उहाँकाे भनाइ थियो।
महासचिव किरणले क्रान्ति पूरा नभएकाे चर्चा गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको स्थापना गरी साम्यवादको प्राप्तिको निम्ति दृढतापूर्वक अघि बढ्नुपर्नेमा जाेड दिनु भयाे ।