साताको कविता
कविता त्यसै लेखिन्न
कविताको नाम पारेर
जे लेख्यो त्यो
कविता नहुन पनि सक्दछ
कविता लेख्दा पहिला त
कविता फुर्नु पर्दछ
कविता फुरेको बेलामा नै
कल्पनाका पखेटा हालेर
माथि माथिसम्म उड्नु पर्दछ
कविता फुरेको बेलामा नै
भावनाका भेलमा हेलिएर
पर परसम्म बग्नु पर्दछ
कविता फुरेको बेलामा नै
बिचारको सागरमा डुबुल्की मारेर
तल तलसम्म पुग्नु पर्दछ
कविता कोर्नु भनेको
कुखुराको माउले
चल्ला पार्न
दिन रात लगाएर
फुलहरू कोरल्नु जस्तै हो
कविता कोर्दा कविले
प्रत्येक शब्द
चुन्नु पर्दछ
छान्नु पर्दछ
तौलनु पर्दछ
शब्दहरूमा
आरा लगाउनु पर्दछ
बांगा टिंगा शब्दहरूलाई
थेबेले ताछ्नु पर्दछ
शब्दहरूलई चम्काउन
रन्दा लगाउनु पर्दछ
शब्दहरूलाई धारिला बनाउन
रेती लगाउनु पर्दछ
पाइन चढाउनु पर्दछ
अनावश्यक शब्दमाथि
कैँची चलाउनु पर्दछ
कुचो लगाउनु पर्दछ
कविताको फुलबारीमा उम्रेका झारपात
गोडेर फाल्नु पर्दछ
कविताको रूपलाई
बिउटी पारलरमा
सिँगार पटार गरेर मात्र पुग्दैन
कविताको रूपलाई
सुन चाँदी हिरा मोतीका आभूषणले
झकी झकाउ पारेर पारेर मात्र पुग्दैन
सजी सजाउ पारेर मात्र पुग्दैन
कविताको सारलाई
दर्शनको अपरेशन थिएटरमा राखेर
चिरफार गर्नु पर्दछ
आगोको भट्टीमा खारेर
इस्पात बनाउनु पर्दछ
संकलित कविताको कच्चा पदार्थलाई
कविताको कारखानाबाट
युगान्तकारी फिनिश्ड प्रडक्टको रूपमा
उत्पादन गरेर
मार्केटिङ गर्नु पर्दछ
आफ्ना उपभोक्ताको उपभोगको लागि
उनीहरूको आवश्यकताको लागि
उनीहरूको मांगपूर्तीको लागि
विश्व बजारमा पुराउनु पर्दछ
प्रतिस्पर्दाको यो विश्व बजारमा
आफ्नो काव्य प्रडक्टलाई
हट केक बनाउनै पर्दछ
गतिशील संघर्षमय जीवनको
अपरिहार्य अउजार बनाउनै पर्दछ
बैचारिक उर्जा बनाउनै पर्दछ ।
१९-०७-२०७९