निर्वाचन बहिस्कारका शान्तिपूर्ण कार्यक्रममाथि विभेदकारी धरपकड नरोके चुनाव परस्त शक्तिका विरुद्ध प्रतिरोध संघर्षमा उत्रने चेतावनी

निर्वाचन बहिस्कारका शान्तिपूर्ण कार्यक्रममाथि विभेदकारी धरपकड नरोके चुनाव परस्त शक्तिका विरुद्ध प्रतिरोध संघर्षमा उत्रने चेतावनी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिस्कार गर्ने घोषित कार्यनीति अन्तर्गत देशैभर गरिरहेको निर्वाचन बहिस्कार कार्यक्रममाथि हस्तक्षेप र धरपकडका घटनाहरु बढेपछि यी घटनाहरु निर्वाचन परस्त संसदवादी पार्टीहरुको दबाबमा भएको ठहर गर्दै निर्वाचन बहिस्कारका शान्तिपूर्ण कार्यक्रममाथिको विभेदकारी धरपकड नरोके चुनावपरस्त शक्तिका विरुद्ध प्रतिरोध संघर्षमा उत्रने चेतावनी दिएको छ । कलंकीको कोणसभामाथि प्रहरीले गरेको हस्तक्षेप र धरपकडको घोर भत्र्सना र निन्दा गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश ३ का सेक्रेटरी प्रवेशले जारी गरेको प्रेस वक्तव्यमा यस्तो चेतावनी दिइएको हो ।

वक्तव्यमा भनिएको छ, “प्रतिक्रियावादी सरकारद्वारा मञ्चन गरिएको प्रादेशिक तथा संघीय निर्वाचन बहिस्कारको घोषित पार्टी कार्यनीति प्रभावकारी बन्दै गइरहेको छ । यसै सन्दर्भमा चुनाव बहिस्कार कार्यनीतिको बारे जनतालाई सुसूचित गर्दै बहिस्कार आन्दोलनमा सहयोग, समर्थन र सहभागिताको निम्ति आज कलंकी चोक (काठमाडौं) मा आयोजित कोणसभाको क्रममा हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महत, नेवाः मोर्चामा केन्द्रीय उपाध्यक्ष र महासचिव गोर्की श्रैष्ठ र शिव श्रेष्ठ, तामाङ मोर्चाका महासचिव सुरेश तामाङ, महिला नेतृहरु सपना राजथला, कमला चन्द र कोणसभामा सहभागी सर्वसाधारणहरु रविन भट्ट र नितेश जोशी लगायत ८ जनालाई गिरफ्तार गर्नुका साथै कोणसभामा प्रयोग गरिएको साउन्ड सिस्टम, पर्चा, व्यानर पनि खोसिएको छ । शान्तिपूर्ण सभामा गरिउको यस प्रकारको फासिवादी दमन र धरपकडप्रति हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ ।”

वक्तव्यमा शान्तिपूर्ण सभा÷जुलुस गर्न र जनतालाई सुसूचित गर्न पाउने राजनैतिक तथा लोकतान्त्रिक अधिकारको सम्मानसहित नेपाली जनताको बलिदानी संघर्षबाट प्राप्त वाक् स्वतन्त्रता विरोधी हरकत तुरुन्त रोकी गिरफ्तार गरिएका नेता कार्यकर्ता र जनसर्वसाधारणलाई विना शर्त रिहा गर्न माग गरिएको छ ।