श्यामप्रसादको भोट

श्यामप्रसादको भोट

एकाउन्न सालतिर होला, एक दिन मैले श्यामप्रसादसित सोधेँ– ‘पहिले बिहे गरेकी श्रीमती पुनुदेवीलाई तपाईँले छाडिदिनु भयो, दोस्रो बिहे गरेकी श्रीमती शशिकलाले तपाईँलाई छाड्नु भयो । तपाईँको जीवनको खास कालखण्डमा कहिल्यै नमेटिने कथा बनेर दाम्पत्यमा जोडिएका यी दुई महिला पात्रहरू प्रतिद्वन्द्वीका रूपमा चुनावमा उत्रिए र तपाईँ मतदाताको रूपमा उपस्थित हुनु प¥यो भने कसलाई भोट हाल्नु हुन्छ ?’
‘मैले शशिकलालाई भोट हाल्छु ।’ उहाँले जवाफ दिनुभयो ।
‘किन ?’ मेरो प्रतिप्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो– ‘वैवाहिक जीवनमा पुनुदेवी सामन्तवादकी र शशिकला पुँजीवादकी प्रतीक हुन् । सामन्तवादभन्दा पुँजीवाद प्रगतिशील हो ।’
कसरी ?

सामन्तवादमा एउटी महिला एउटा पुरुषसित वैवाहिक जीवनमा बाँधिएपछि जुनसुकै अवस्था आइपरे पनि त्यही पुरुषका नाममा समर्पित भएर रहनु पर्दछ । महिला पुरुषकी चरणकी दासी हो । पति सबभन्दा ठूलो भगवान् हो र पतिको सेवा नै सबैभन्दा ठूलो धर्म हो । ‘पतिभक्ति त मर्दैन पापी पति भए पनि’ भन्ने यसको दर्शन हो । धर्मभीरु यजमानले मरणोपरान्त बैतरणी तर्ने कल्पनामा कर्मकाण्डी ब्राह्मणलाई गोदान गरेझैँ पिताले धर्मार्जनार्थ कुनै पुरुषलाई आफ्नी पुत्रीको कन्यादान गर्दछ र भन्दछ– ‘मेरी छोरीलाई राम्ररी पाल्नुहोला, मारे पाप र पाले पुण्यलाभ हुने हजूरलाई नै हो ।’ मरेपछि लाग्ने पापलाई नपत्याएर अथवा परेको भोगौँला भन्ने ठानेर कन्यादान लिएको पुरुषले पत्नीलाई मा¥यो भने केटीको पिता उजुरबाजुर गर्न अदालत जाँदैन । त्यसले पापको फल भोग्नु पर्ने विश्वासमा चूपचाप बस्तछ । स्वयम्ले भोगिरहेको भौतिक जगत्लाई झुटो भन्ने र कहीँ कहिल्यै कसैले नदेखेको परलोकलाई सत्य मान्ने चिन्तन बोकेर यो संसारका दुःखहरूबाट मुक्ति पाउन सकिँदैन ।

पुँजीवादमा विवाहयोग्य उमेर भएका युवा र युवती दुवै आफ्नो दाम्पत्य जीवनका निमित्त जोडी छान्न समान ढङ्गले स्वतन्त्र हुन्छन् । विवाह भइसकेपछि पनि सधैँ सँगै बस्न वा बीचमा सम्बन्ध विच्छेद गर्न स्वतन्त्र हुन्छन् । चिन्तन र व्यहारमा निरन्तर गम्भीर विपर्यास आइरह्यो भने त्यो विवाहलाई तोड्नका निमित्त महिला पनि उत्तिकै तयार हुन्छन् जति पुरुष हुन्छन् । महिलासित आफ्नो जीवनको मार्ग आफै तय गर्ने आँट हुन्छ, तत्परता हुन्छ र निर्णय हुन्छ । जगत् व्यवहारमा भौतिकवादी सोचको प्राधान्य हुन्छ । प्रेम हुन्जेल दाम्पत्य हुन्छ, प्रेम नभएपछि दाम्पत्य टुट्छ ।
तपाईँले पुनुदेवीलाई सामन्तवादी चिन्तन र चरित्रबाट बाहिर निकाल्ने गरी प्रशिक्षित गर्नु सक्नुहुन्थेन ?

मैले अक्षर चिनाउने निकै प्रयत्न गरेँ । उनको ध्यान जानै सकेन । त्यो भन्दा पनि ठुलो समस्या अर्को प¥यो । प्रगतिवादी साहित्यकारहरूको मूल कर्म साहित्य भए पनि अन्तर्यमा राजनीतिले नेतृत्व गरिरहने हुनाले समानान्तर ढङ्गले खट्नु पर्ने हुन्थ्यो । कतिपय वैचारिक कामहरू सत्ताको आँखा छलेर गर्नु पर्ने हुन्थ्यो । रूपान्तरकारी अभियानमा हेलिएकाहरूको जीवन पूर्ण गृहस्थको जस्तो घरको चौघेरामा सीमित दाम्पत्य शैलीमा बित्नु सम्भव थिएन । वैचारिक, सांस्कृतिक र साङ्गठनिक निर्माणका क्रममा समाजभित्र पस्नु पथ्र्यो । कैले कता कैले कता बस्नु पथ्र्यो । उहाँमा वर्गभेदको वैचारिकी जगाउने कार्यमा मेरो प्रयत्न असफल भयो । उहाँले मसित निरन्तर परम्परागत पतिको चरित्र खोज्नु भयो । त्यो मैले दिन सकिन । उहाँको सामीप्यमा मेरा राजनीतिक कर्मका गोप्यताहरू पनि नरहने भए । वर्गसचेत समर्पणमय जीवन र वर्गभेदको अन्तर्य बोध नभएको जीवनका बीच सहयात्रा सम्भव थिएन । त्यसकारण मैले जानाजान उहाँलाई छोडेको हुँ । उहाँ रुढिग्रस्त विचारले डोरिएर त्यसै संस्कृतिमा रमाउने चरित्रकी निरपराध नारी पात्र हुनुहुन्छ ।
शशिकलासितको दाम्पत्य किन टुट्यो ?

पुँजीवादी स्वतन्त्रता वैयक्तिक स्वतन्त्रता हो । त्यसले समाजलाई भन्दा व्यक्तिलाई बढी महत्व दिन्छ । त्यहाँ सामाजिक जिम्मेवारी बोधको भावनामाथि व्यक्तिगत भोगावसरको भावनाले राज गरेको हुन्छ । म सामाजिक जिम्मेवारी बोधले डो¥याएको पात्र थिएँ । मेरो प्राथमिकता ऐन्द्रिक भोगातिमा थिएन । हुँदै जाँदा शशिकलाको र मेरो बाटो फरक प¥यो । उहाँ आफ्नो रुचिको बाटातिर जानु भयो । म मेरै रुचिको बाटातिर गएँ ।

त्यसपछि उहाँहरूसित सम्पर्क रह्यो कि रहेन ?
हामी वैयक्तिक दुस्मनी भएर छुट्टिएका थिएनौँ । वैचारिक र चारित्रिक भिन्नताका कारणले छुट्टिएका थियौँ । शशिकलासित बेला बेलामा भेट भइरह्यो । कतिपय मामिलामा सहकार्य पनि रहिरह्यो । तर पुनुदेवीसित पुनः भेट हुन सकेन ।
किन त ?
उहाँले नै भेट हुन चाहनु भएन । एकदिन मैले बाटोमा हिँड्दै गर्दा डिल्लीबजारनेर उहाँलाई देखेँ । उहाँले पनि मलाई देख्नु भयो । हाम्रा आँखा जुधे । म उहाँसित कुराकानी गर्ने ध्येयले उहाँतर्फ लम्केँ । उहाँ भाग्नु भयो । ए पर्खनुस् पर्खनुस् भन्दै म उहाँका पछि पछि दौडेँ । उहाँ झन् दौडेर भाग्नु भयो । दौडँदै थिएँ । मलाई लाज र डर लाग्न थाल्यो । वरपरबाट कसैले देख्यो भने ‘एउटा लोग्नेमान्छेले एउटी आइमाईलाई लखेटिरहेको छ’ भन्ने थियो । यसरी म हार खाएर फर्केँ ।

शशिकलालाई मतदान गर्ने उहाँको कुराले म छक्क परेको थिएँ । यो प्रसङ्ग मैले धेरै साथीभाइलाई सुनाएको पनि छु । यी हुबहु श्यामप्रसादका शब्द होइनन् । भावार्थ यही नै हो ।

सर्टिफिकेट त एकछिन दुनियाँ ढाँट्नलाई मात्रै हो । दीर्घकालमा यसले कुनै अर्थ राख्दैन । सबैलाई सदैव प्रभाव पारेर रहनको निमित्त त ऊभित्रै प्रकाशको अजस्र स्रोत हुनुपर्छ । गुदी हुनुपर्छ । श्यामप्रसाद शिक्षाको औपचारिक सर्टिफिकेट नभएका तर युगीन ज्ञान र विवेकको गुदी भएका जागरणधर्मी साहित्यिक अगुवा हुनुहुन्थ्यो ।

हामीले सानातिना कुरालाई त्यति महत्व नै दिदैनौँ । ठूलाठूला कुरा मात्र गर्छौ । अनि साना कुरा बिगार्छौँ । त्यसको असर ठूलाठूला कुरामा पर्छन् । हामीले स्वास्थ्यका कुरा गर्छौँ । हामीले क्रान्तिका कुरा गर्छौँ । शान्तिका कुरा गर्छौँ । विकासका कुरा गर्छौँ । तर घरमा कोही पाहुना आए भने हामीले के गर्ने ? खासै कुनै नियम छैन हामीसित । हामी जे मन लाग्यो त्यही गछौँै । श्यामप्रसादको कुरा त्यस्तो छैन । उहाँ प्रत्येक कुरामा गहिरो अभिरुचि राख्नुहुन्छ । प्रत्येक प्रश्नमा हामीहरू प्रस्ट हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ उहाँ । कम्युनिस्टले प्रेम गर्न हुन्छ कि हुँदैन ? प्रेम के हो ? विवाह के हो ? यौन के हो ? भाषासम्बन्धी हाम्रो नीति के हो ? के धन कमाएका मान्छेजति जम्मैको विरोधै विरोध गर्नुपर्छ कम्युनिस्टहरूले ? व्यवहारिक जीवनका सानामसिना कुरादेखि ठूला कुरासम्म उहाँको नजर पुगेको देखिन्छ ।

जनसंस्कृतिसित जोडिएका यी सूक्ष्मतम विषय नै सांस्कृतिक रूपान्तरणका आधारभूमि हुन् । यो उपरिसंरचनाको विषय हो तापनि आधार बदल्नका लागि उठाइने क्रान्तिका लागि गुरुत्व सिर्जना गर्न र गोलबन्द हुन यसले महत्वपूर्ण भूमिका खेल्ने थियो । हाम्रा साम्यवादी आन्दोलनका नेतृत्वकर्ता पटक पटक यहीँनेर चुके ।

वास्तवमा श्यामप्रसाद परिबन्दमा फँसाइएर उपेक्षापूर्वक कौडीको मोलमा मिल्काइएका मनीषी हुनुहुन्छ । उहाँको जीवनको चिन्तन र चरित्रको महत्तम आदर्शलाई पार्टी जीवनमा र पारिवारिक तथा वैयक्तिक जीवनमा समेत अपनाउनु पर्नेमा त्यसलाई चटक्क पन्छाएर उहाँ व्यक्तिलाई नामुद सामन्तवादको सम्बद्र्धनसित जोडिएको पुरस्कार दिनु श्यामप्रसादको क्रान्तिकारी आत्माको हत्या थियो । त्यसपछि श्यामप्रसादको आभा मधुरो भयो । उहाँको वर्गीय विवेक पनि क्रमशः दोछायामा प¥यो । उहाँ अकर्मण्यतामा फँस्न पुग्नुभयो ।

उता श्यामप्रसाद फँस्नुभयो, यता देशको कम्युनिस्ट आन्दोलन सामन्तवाद र पुँजीवादको चक्रब्यूहमा फँस्यो । राजनीतिक आन्दोलनसँगै सांस्कृतिक आन्दोलन माझिँदै, तिखारिँदै र टल्किँदै जानु पर्नेमा फोहोरिँदै, भुत्तिँदै र मलीन हुँदै गयो । आजका कम्युनिस्ट नामधारी पार्टी र त्यसका नेता तथा कार्यकर्ताको कम्युनिस्ट विचार र व्यवहारको विपरीत दिशातिर उद्दाम यात्राको प्रारम्भिक स्रोत यिनै र यस्तै ससाना विचलनहरूमै अन्तरनिहित थियो । समयक्रमा त्यो फैलँदै, झाङ्गिँदै, फुल्दै र फल्दै गयो अनि असमेल भयो ।

एउटा सच्चा क्रान्तिकारीलाई परिस्थितिमाथि दोष थोपरेर आफ्ना कमजोरी ढाक्ने छुट हुँदैन । ऊसित नियन्ता बनेर परिस्थितिको जञ्जाललाई चिर्दै अगाडि बढ्ने अपेक्षा राखिएको हुन्छ । श्यामप्रसाद परिबन्दबाट उम्कन सक्नु भएन । यो उहाँको गम्भीर कमजोरी हो । फेरि पनि नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनको इतिहासमा श्यामप्रसादले दिनु भएको योगदान अतुल्य छ । आजभन्दा करिब सत्तरी वर्ष अघिको समाजमा प्रस्ट वैचारिकताको आर्जन र प्रशारण, सङ्गठनको निर्माण र परिचालन तथा साहित्यिक सिर्जना र सिर्जनाको लागि प्रेरणारोपण असीम धैर्य, अठोटपूर्ण समर्पण, अटुट इमान्दारी र अब्बल चातुर्यले युक्त प्रतिभासम्पन्न व्यक्तिले मात्रै गर्न सक्तछ । श्यामप्रसाद त्यही कोटीका अग्रणी हुनुहुन्थ्यो ।