काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का कार्यवाहक महासचिव समेत रहनु भएका नेता सीपी गजुरेल गौरवले राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्या भण्डारीले एकदम ठिक गरेको र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुभएको प्रतिक्रिया दिनुभएको छ । मूलबाटो डटकमसँग संक्षिप्त कुरा गर्दै उहाँले “गठबन्धन दलको तर्फबाट संसदमा ल्याइएको नागरिकता विधेयक राष्ट्रघाती थियो । त्यो फाष्ट्रयाकमा पारित गरियो । त्यसको हामीले जोडदार रुपमा विरोध ग¥यौं । देशव्यापी रुपमा हाम्रो पार्टी क्रान्तिकारी माओवादीसहित पाँच कम्युनिस्ट घटकहरुले निरन्तर रुपमा विरोधमा आवाज उठायौं ।” भन्नुभयो, “राष्ट्रघाती विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई ज्ञापन पत्र बुझायौं । लामो छलफल ग¥यौं । पछि पनि थप छलफल भयो । अन्ततः उहाँले राष्ट्रहितमा अडान लिनुभयो । हाम्रो माग पुरा गर्नुभयो । यसर्थमा राष्ट्रपतिको यो कदम स्वागतयोग्य छ ।”
राष्ट्रपतिको यो कदमबाट सत्तारुढ पाँच दलीय गठबन्धनको दम्भ तोडिएको पनि उहाँले टिप्पणी गर्नुभयो । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको सशक्त रुपमा बहिस्कार गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीले अन्य चार पार्टीसँग मिलेर बहिस्कार आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरिरहेको पनि नेता गजुरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनलाई सशक्त बहिस्कार गर्ने तयारी गरिरहेका छौं । बहिस्कार आन्दोलनसँग सहमत हुने पार्टीहरुसँग मिलेर थप सशक्त बनाउने तयारीमा जुटेका छौं । भोलि (बिहीबार) १ बजे प्रज्ञा भवनमा पत्रकार सम्मेलन गरेर संयुक्त रुपमा विचार र योजना सार्वजनिक गर्दैछौं । सम्पूर्ण पत्रकार साथीहरुलाई निमन्त्रणा समेत गर्न चाहन्छु ।”
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) केन्द्रीय समन्वय समिति, नेकपा, संयुक्त क्रान्तिकारी मोर्चा, नेपाल लगायतका वाम घटकले निर्वाचनका सम्बन्धमा संयुक्त रुपमा आफ्ना विचार र योजना तथा कार्यक्रम घोषणा गर्ने कार्यक्रम रहेको छ ।