
काठमाडौं । नागरिक अगुवा डा. सूर्यराज आचार्यले राष्ट्रपतिले नागरिकता विधेयक पास नगरेर राष्ट्रको अभिभावकको भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
बुधबार ट्वीट गर्दै डा. आचार्यले नागरिकता ऐन मुलुकको आवश्यकता भएपनि ऐन ल्याउने क्रममा संसदले हदैसम्मको बेइमानी गरेको बताउनुभयो ।
‘नागरिकता ऐन मुलुकको आवश्यकता हो। यसको अभावमा केही नागरिक मर्कामा परेका छन्’ आचार्यले भन्नुभएको छ, ‘तर ऐन ल्याउने सिलसिलामा राजनीतिका केही पात्र र समग्र संसदको हदैसम्मको बेईमानी, लापरवाही र गैरजिम्मेवारी देखियो। रापको हस्तक्षेपमा गहन जिम्मेवारी र राष्ट्रको अभिभावकीय भुमिका प्रकट भएकोछ। यसको स्वागत गरौं ।’
संसदले कतिपय आपत्तिजनक प्रावधान राखेर दुईपटकसम्म पास गरेर पठाएको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरी थन्क्याइदिनुभएको छ । अब संसदको कार्यकाल सकिएसँगै राष्ट्रपतिबाट पनि प्रमाणीकरण नभएपछि सो विधेयकसमेत निस्क्रिय भएको राजनीतिक विश्लेषण गरिएको छ ।