साताको कविता यदि
तिम्रो घरको एउटा कोठामा आगो लागेको छ भने
के तिमी त्यही घरको अर्को कोठामा सुत्न सक्छौ ?
यदि
तिम्रो घरको एउटा कोठामा
लास गन्हाइरहेको छ भने
के तिमी
अर्को कोठामा प्रार्थना गर्न सक्छौ ?
यदि त्यसो गर्न सक्छौ भने
मेरो तिमीसँग केही पनि भन्नु छैन ।
देश
एउटा भाग फाटे पनि
बाँकि भाग सुरक्षित रहने
कागजमा बनेको
नक्साजस्तो हुदैन
अनि,
नदीहरू, पहाडहरू
सहर र गाउँ
पहिला जस्तै
आआफ्नो स्थानमा
मन नलागी नलागी पनि
बसिरहदैनन् ।
यदि तिमी
यो कुरालाई मान्दैनौ भने
मलाई तिमीसँग बस्नु छैन ।
यो संसारमा
मान्छेको ज्यानभन्दा ठूलो
केही पनि हुदैन
न ईश्वर,
न ज्ञान,
न चुनाव
कागजमा लेखिएको
कुनै भवनलाई च्यात्न सकिन्छ
अनि
जमीनको सात पत्रमुनि गाड्न सकिन्छ ।
जुन विवेक
लासमा टेकेर उभिएको हुन्छ
त्यो अन्धो हो
जुन शासन
बन्दुकको नालले चलेको हुन्छ
त्यो हत्याराको धन्दा हो
यदि तिमी
मान्दैनौ भने यो कुरा
तिमीलाई
एक क्षण पनि म खप्न सक्दिन ।
याद राख
एउटा बच्चाको हत्या
एउटी महिलाको मृत्यु
एउटा मान्छेको
गोलीले छियाछिया शरीर
कुनै शासनको मात्र होइन
सम्पूर्ण राष्ट्रकै पतन हो ।
यस्तो रगत बगेर
धरतीमा अमनचयन हुदैन
आकासमा फहराइरहेको झण्डालाई
कालो बनाइदिन्छ ।
जुन धरतीमा
फौजी बुटको छाप हुन्छ
र जहाँ लास लडिरहेको हुन्छ
त्यो धरती
यदि तिम्रो रगतमा
आगो बनेर दौडदैन भने
यो कुरा बुझ कि
तिमी बाँझो भैसकेका छौ
तिमीलाई यहाँ
सास फेर्ने पनि अधिकार छैन
अब यो संसार तिम्रो लागि बाँकि रहेन ।
अन्तिम एकदम सिधा कुरा
कुनै हत्यारा
चाहे ऊ
तिम्रो साथी होस
धर्मको ठेकेदार होस
चाहे लोकतन्त्रको
स्वनामधन्य पहरेदार नै किन नहोस
कहिलै पनि उसलाई माफ नगर । अनु: मुक्तिपथिक