सत्य एक हुँदैन

सत्य एक हुँदैन

साताको कविता 

हिजोको ठिक चीज
आज बेठिक लाग्न सक्छ
हिजोको बेठिक चीज
आज ठिक लाग्न सक्छ
जडता…
जीवन कदाचित् होइन
संसार परिवर्तनशील छ
सबथोक परिवर्तनशील छ
मान्छे ढुङ्गा बन्नु
विज्ञानसम्मत हुँदैहुदैन।

संसार स्थिर देख्ने
विवेक स्थिर देख्ने
सत्ता स्थिर देख्ने
र, परिवर्तनमा विश्वास नगर्ने त
जडसूत्रवादको चश्मा मात्र हो।

हामीले इतिहासमा देखेकाछौं
कस्ता कस्ता बलवान पनि
परास्त भएकन छन्
फलामे किल्ला पनि
नराम्ररी धुलिसात भएका छन्
पराक्रमीका राज्यसत्ता पनि
तासको महलसरह
गर्ल्यामगुर्लुम ढलेका छन्।

समयको ताकत सामु
परिस्थितिको चक्र सामु
कोही टिक्न सक्दैन
केही टिक्न सक्दैन
निषेधबाटै चेतना सरु हुन्छ
अनुभवबाटै ज्ञानको चक्षु खुल्छ
संघर्षबाटै नयाँ चीजको संश्लेषण हुन्छ
यथास्थिति र बकवासबाट
केही सकरात्मकता आउँदैन।

जुन अनुभवले
जुन तर्क वा संवादले
समस्याको समाधान दिन्छ
त्यो मात्र असलमा संश्लेषण हो
कुराले गोलगोल घुमाएर
भुलभुलैयामा अलमलाउने त
गफाडीको गफ मात्र हो
परिवर्तनमा विश्वास नगर्ने र
चेतनालाई
उल्टो दिशा धकेल्ने मेलो मात्र हो।

आज समस्यामा पर्नेले
भोलि राजगर्न पनि सक्छ
आज दम्भ साध्नेले
भोलि किनारा लाग्न पनि सक्छ
किन कि
सत्य एक हुँदैन
सत्य अपरिवर्तनीय हुँदैन
देश र परिस्थितिको आगनमा
समयसँगै नबदलिने
त्यस्तो कुनै सत्य हुँदैन ।