क्रान्तिको तयारीका लागि क्रान्तिकारी माओवादीद्वारा प्रतिक्रियावादी संसदीय निर्वाचन बहिष्कार

क्रान्तिको तयारीका लागि क्रान्तिकारी माओवादीद्वारा प्रतिक्रियावादी संसदीय निर्वाचन बहिष्कार

“ ठोस परिस्थितिको ठोस विश्लेषण माक्र्सवादको आत्मा हो “ – भ्लादीमिर इल्यिच लेनिन
महान् नेपाली नयाँ जनवादी क्रान्तिको तयारीका लागि नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले आगामी मंसिर ४ गते गरिने नेपालको संघीय संसद र प्रदेश सभाको निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने भएको छ । क्रान्तिकारी माओवादीको यस ऐतिहासिक निर्णय पश्चात् नेपालको वर्तमान राजनीतिक क्षेत्रमा तरंग पैदा भएको छ । नामधाी कम्युनिस्टहरू अर्थात् नवप्रतिक्रियावादमा पतन भइसकेका एमाले , माके , एस समाजवादी लगायतका पार्टीहरुले यही वर्तमान प्रतिक्रियावादी तथा पश्चगामी संविधानको रक्षा गर्नका लागि र सढेगलेको संसदीय व्यवस्थालाई बलियो बनाउने उद्श्येले संसदीय निर्वाचनलाई रणनीतिक रुपले उपयोग गर्दै आएको अवस्थामा महान् नेपाली नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने ऐतिहासिक कार्यभार बहन गरिरहेको क्रान्तिकारी माओवादीले नेपालको वर्तमान प्रतिक्रियावादी तथा पश्चगामी संविधानको खारेज गर्ने र बुर्जुवा पुँजीवादी संसदीय व्यवस्थालाई ध्वस्त पारेर जनगणतन्त्र स्थापना गर्ने उद्श्येका साथ उक्त प्रतिक्रियावादी संसदीय निर्वाचनलाई बहिष्कार गर्ने निर्णयमा पुगे पछि मुलुकको राजनीतिक क्षितिजमा तरंग पैदा हुन पुगेको छ ।
नयाँ जनवाद क्रान्ति वा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न नभइसकेको र क्रान्तिका लागि व्यापक रुपमा तयारी गर्नुपर्ने अवस्थामा रहेका संसारका कुनै पनि देशहरूमा ती देशका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका लागि संसदीय व्यवस्था सञ्चालन भइरहेको अवस्थामा उक्त संसदीय निर्वाचनलाई एक कार्यनीतिक विषय बनाउँदै आएका छन् र ती संसदीय व्यवस्थाले सञ्चालन गर्ने संसदीय निर्वाचनलाई कार्यनीतिका रुपमा उपयोग वा बहिष्कार गर्दै आएका छन्
क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले मुलुकको ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा उक्त संसदीय निर्वाचनलाई उपयोग वा बहिष्कार गर्ने कुराले नै क्रान्तिका लागि तयारी गर्ने विषय बन्द छ । उनीहरूले संसदीय निर्वाचनलाई उपयोग गर्दा क्रान्तिको तयारीका लागि फाइदा हुन्छ कि बहिष्कार गर्दा फाइदा हुन्छ भन्ने कुरालाई विश्लेषण गरेर नै आफ्नो क्रान्तिकारी धारणा बनाउने गर्दछन् । विश्व सर्वहारा वर्गका महान् नेता तथा महान् रुसी अक्टोबर समाजवादी क्रान्तिका पहिलो प्रयोगकर्ता लेनिन पनि संसदीय निर्वाचनलाई विद्यमान “मुलुकको ठोस परिस्थितिको ठोस विश्लेषण “ का आधारमा उपयोग वा बहिष्कार गर्ने कुरा बताउनु भएको छ र रुसको विद्यमान तत्कालीन परिस्थितिको ठोस परिस्थितिको ठोस विश्लेषण गरेर ड्युमा निर्वाचन उपयोग र बहिष्कार दुबै नीति प्रयोग गर्नुभएको थियो । र , निरपेक्ष ढंगले होइन , सापेक्षमा लागु गर्ने कुरा बताउनु भएको छ ।
मुलुकको ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नै तत्कालीन नेकपा ( एकता केन्द्र ) २०४८ सालको संसदीय निर्वाचन र तत्कालीन नेकपा ( माओवादी ) ले २०६४ सालको संविधानसभाको निर्वाचनलाई उपयोग गरेको थियो । त्यतिबेला ती दुबै संसदीय निर्वाचनलाई उपयोग गर्दा क्रान्तिका लागि फाइदा हुन्छ भनेर माओवादी पार्टीले उपयोगको नीति लिएको थियो भने मुलुकको ठोस परिस्थिति बदलिएको ठोस विश्लेषण गर्दै २०७० को दोस्रो संविधानसभाको निर्वाचनलाई तत्कालीन नेकपा – माओवादीले सशक्त रुपमा बहिष्कार गरेको थियो । तर २०७३ सालको स्थानीय निर्वाचन र २०७४ को संसदीय निर्वाचनलाई भने नेकपा ( क्रान्तिकारी माओवादी ) उपयोग गरेको थियो ।
नवप्रतिक्रियावादमा पतन भएर प्रतिक्रियावादी सत्ता सञ्चालन गर्दै आएका एमाले , माके , एस समाजवादी लगायतका नामधारी तथा नक्कली कम्युनिस्ट पार्टीहरु , नेपाली काँग्रेस , राप्रपा , मधेसवादी जस्ता घोर प्रतिक्रियावादी तथा दक्षिणपन्थी पार्टीहरुले आगामी मंसिर ४ गते हुन गइरहेको संसदीय निर्वाचनलाई दशैं – तिहार आए जस्तो खाने , कमाउने , मोजमस्ति गर्ने , भ्रष्टाचार गर्ने , वैदेशिक शक्तिहरुबाट राष्ट्रघाति एमसीसी पास गरेर , राष्ट्रघाति नागरिकता विधेयक पास गरेर अरबौं , खरबौं पैसा ल्याएर चुनाव जितेर पुन: देशलाई बेच्ने , पुन: राष्ट्रिय सम्पत्ति लुट्ने र नेपाली जनतालाई उल्लु बनाउने खेलमा रमाइरहेका छन् र प्रतिक्रियावादी संसदीय निर्वाचनलाई भोज भतेरका रुपमा रमाइरहेका छन् ।
यसको ठिक विपरीत नेकपा (क्रान्तिकारी माओवादी ) ले भने यस प्रतिक्रियावादी संसदीय व्यवस्थालाई सक्रिय रुपमा बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे पश्चात् मुलुक भित्र जुन तरंग पैदा भएको छ पक्ष तथा विपक्षका बीचमा व्यापक चर्चा , परिचर्चा र बहस छलफल चलिरहेको छ । कतिपयले तथा क्रान्तिकारी माओवादी निर्वाचनदेखि डराएर निर्वाचन बहिष्कार गरेको हो भनेर निचतापूर्ण ढंगले उत्रिन पुगेका छन् । यस्तो बेला क्रान्तिकारी माओवादीले उक्त प्रतिक्रियावादी संसदीय निर्वाचन किन बहिष्कार गरेको हो ? भन्ने बारेमा आम जनता ( सर्वसाधारण ) जनताले बुझ्ने गरी हामीले प्रष्ट पार्न आवश्यक छ ।
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) आगामी मंसिर ४ गते सम्पन्न गरिने भनिएको संसदीय निर्वाचनलाई किन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरियो भन्ने सवालमा प्रष्ट पार्ने काम गरेछ । उसले प्रतिक्रियावादी संसदीय निर्वाचन उपयोग र बहिष्कारको विषय कार्यनीतिको विषय भएको बताएको छ ।
संसदीय व्यवस्था र संसदीय निर्वाचन सम्बन्धि कार्ल माक्र्स र लेनिनका वैज्ञानिक विचारहरु र उहाँहरुले प्रयोग गरिएका नीति र कार्यक्रमहरुलाई शिक्षाका रुपमा ग्रहण गर्दै स्पष्ट पार्ने प्रयत्न गरेको छ :
यही ३०७९ साल भदौ १० , ११ र १२ बसेको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) विशेष बैठकमा पार्टी महासचिव कमरेड मोहन वैद्य किरणद्वारा प्रतुत राजनीतिक प्रस्ताव अन्तर्गत “ वर्तमान परिस्थिति र संसदीय निर्वाचन “ का सन्दर्भमा पार्टीको नीति तथा धारणा बुँदागत रुपमा यसरी स्पष्ट रुपमा राखिएको छ :
“ (१) गत निर्वाचनका सन्दर्भमा देशको जे जस्तो परिस्थिति थियो त्यो कायमै रहेको छ र त्यो भन्दा पनि कैयौं सन्दर्भमाअझै जटिल तथा खराब रहेको देखिएकोले ,
(२) प्रतिक्रियावादी , अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने र साधन श्रोतहरुको चरम रुपमा दुरुपयोग , शक्ति प्रदर्शन तथा साम , दान , दण्ड , भेदका नीति एवम् उपायहरूको प्रयोग अत्यधिक रुपमा गरिने अवस्था रहेकोले ,
(३) स्वच्छ , निश्पक्ष तथा धाँधली रहित उदारवादी हिसाबले निर्वाचन सम्पन्न गरिने कुनै पनि प्रकारका लक्षण तथा संभावना देदिदैनन् । बरु , सत्ता , व्यवस्थाका प्रतिनिधिहरु फासीवादी हिसाबले प्रस्तुत हुने स्थिति छ र त्यस प्रकारका तत्वहरुसित चुनावी प्रतिस्पर्धा गर्नुको कुनै अर्थ नदेखिएकोले ,
(४) निर्वाचनको प्रक्रियामा एकातिर विभिन्न तरिका विधिको प्रयोग गरी जनतालाई अत्यधिक रुपमा त्रसित , आतंकित तथा भयभीत तुल्याउने एवम् घेराबन्दिमा पार्ने र उनीहरूमा पराजित हुनेहरुलाई भोट दिनु हुँदैन भन्ने मानसिकताको निर्माण गरिँदै आएको अवस्था छ । अर्कोतिर निर्वाचन उपयोग गर्ने उमेदवारहरुमा पनि पराजयको मानसिकताले आतंकित तुल्याउन खोजेको स्थिति रहेकोले ,
(५) नेपालमा आफूलाई कम्युनिस्ट बताउदै आएका कैयौं पार्टी वा संगठनहरुले संसदीय निर्वाचनको उपयोग गर्ने भन्दै आएका छन् । ती मध्ये अधिकांश वा प्रया: सबै सरकारमा सामेल भई मिलेराँवादको अभ्यास गर्ने , पुरानो राज्यसत्ता तथा व्यवस्थालाई सघाउने वा त्यसैमा विलय हुने , विरोधी पार्टीको चुनाव चिन्ह लिई आफ्नो अस्तित्व नै गुमाउ, संसदको उपयोग होइन , संसदबाटै उपयोग हुने जस्ता नकारात्मक उदाहरण र अनुभव प्रचूर मात्रामा पाइएको , ती सबैबाट आवश्यक पाठ सिक्दै अगाडि बढ्न समेत जरुरी भएकोले ,

(६) आज नेपालमा प्रतिक्रियावादी राज्यसत्ता एवम् संसदीय व्यवस्था र तिनका प्रतिनिधि तथा पक्षधर संसदीय पार्टीहरु स्वयंले निर्धारित एवम् स्वीकृत गरेका संसदीय मूल्य मान्यताका विरुद्ध गइरहेको विशिष्ट प्रकारको स्थिति रहेको छ । यस्तो अवस्थामा संसदीय निर्वाचनको उपयोग क्रान्तिकारीहरुका लागि अत्यन्तै प्रतिकूल र निरर्थक बन्न गएकोले ,
(७) वर्तमान संसदीय व्यवस्थाका सरकारका तीओटै अंग कार्यपालिका , व्यवस्थापिका र न्यायपालिका असफल सावित हुँदै गइरहेको , ती सबैप्रति सर्वसाधारण जनतामा घृणाको भाव विकसित बन्दै गएको र निर्वाचनको उपयोग गर्न खोज्दा सबै उस्तै रहेछन् भन्ने पनि पर्न जाने देखिएकाले यस स्थितिमा पार्टीको क्रान्तिकारी छबिको रक्षा उपय होइन बहिष्कारद्वारा नै हुने देखिएकाले ,
(८) साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरु नेपालमा पुरानो राज्यसत्ता तथा संसदीय व्यवस्था असफल एवम् अस्थिर बन्दै गएकोमा एकातिर त्यसको विकल्पमा कतै क्रान्तिकारीहरु संघर्षको मैदानमा खडा त हुँदैनन् भनेर सतर्क छन् भने अर्कोतिर संसदवादका अस्थिर ,असक्षम तथा ढुलमुले प्रतिनिधिहरुप्रति मात्र भर नपरि सत्ता तथा व्यवस्था त ठिक हो तर नेताहरु ठिक छैनन् भनेर निर्वाचनमा स्वतन्त्र उमेदवार उठाउने तथा संसदवादी दलहरूलाई त्रसित तुल्याई अझै बफादार दलाल बनाउने खेलमा पनि यथेष्ट कसरत गरिरहेका छन् । ठिक त्यसैले यो बेला वर्तमान राज्यसत्ता तथा व्यवस्थाको विकल्पमा नयाँ जनवादलाई प्रस्तुत गर्नका लागि निर्वाचन उपयोग भन्दा बहिष्कार कै नीति अवलम्बन गर्दा क्रान्तिको तयारीको लागि बढी फाइदाजनक हुने स्थिति देखिन्छ । ठिक त्यसैले हाम्रो पार्टी उक्त सबै प्रकारको स्थित र विश्लेषण माथि आवश्यक दृष्टि दिदै तथा विषयलाई अत्यन्तै गंभीरतापूर्वक आत्मसात गर्दै आगामी मंगसीर ४ गते हुन गइरहेको संसदीय निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन तथा निर्णय गर्दछ ।“
कार्यक्रमिक रुपमा उक्त प्रतिक्रियावादी संसदीय निर्वाचनलाई आम पार्टीपंक्ति , जनवर्गीय तथा मोर्चा संगठनहरुलाई समाबेश गरेर एकीकृत रुपमा व्यापक रुपमा परिचालन गर्ने र पर्चा , पोष्टरिङ , ब्यानरिङ ,घरदैलो भेटघाट , विभिन्न ढंगका सभा तथा जुलुस लगायतका कार्यक्रम सिर्जनात्मक रुपमा जनपरिचालन गरेर मिडिया र सञ्चारका कामलाई व्यवस्थित तुल्याएर घोर प्रतिक्रियावादी संसदीय व्यवस्थाको व्यापक रुपमा भण्डाफोर गरेर नेपाली जनताको बीचमा नङ्गयाउन अभियानात्मक रुपमा सञ्चालन गर्ने एक ऐतिहासिक निर्णय गरेको छ ।
महान् नेपाली नयाँ जनवादी क्रान्तिको तयारीका लागि यस घोर प्रतिक्रियावादी संसदीय निर्वाचनको सक्रिय रुपमा बहिष्कार गरिने भएकोले सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु , व्यक्तिहरु , देशभक्त तथा जनवादी एवम् प्रगतिशील शक्तिहरु एक जुट भएर यस बहिष्कार अभियानमा लामबध्द हुन जरुरी र अति आवश्यक छ । यस घोर प्रतिक्रियावादी तथा फासीवादी संसदीय व्यवस्थाको सक्रिय बहिष्कार अभियानले हाम्रो पार्टीको क्रान्तिकारी छबिलाई निश्चितै रुपमा एक नयाँ ठाउँमा पुर्याउने निश्चित छ । र , घोर संसदवादी , घोर अवसरवादी , जनघाति , देशघाति तथा देशद्रोहीहरुलाई धाराशाही पार्ने काममा कोसेढुङ्गा सावित हुनेछ । साथै यस संसदीय निर्वाचनको बहिष्कारले महान् नयाँ नेपाली जनवादी क्रान्तिको तयारीका कामहरुलाई सशस्त्र जनविद्रोहको दिशातिर नेपाली जनतालाई लामबध्द तुल्याउन पनि कोसेढुङ्गाको काम गर्नेछ ।