न्याय खोज्दै सरकार गुहार्दै आएका मिटर ब्याज पीडित किसानहरुमाथि नेपाल सरकारद्वारा गरिएको दमन, बर्बर आक्रमण अर्थात् भद्दा मजाकले आज किर्तिपुरको माटो पीडित किसानहरुको रगतले पोतिएको छ ।
साम्राज्यवाद र विस्तारवादको इसारामा चल्ने, भ्रष्ट, तस्कर गुन्डागर्दी, सबैक्षेत्रमा व्याप्त माफियाका नाइकेहरुको पक्षपोषण गर्ने त्यस्तै अपरधिक गतिविधिहरु ढाकछोप गर्ने दलाल राज्यव्यवस्थाद्वारा संचालित शासकले उत्पीडित वर्ग मजदुर र किसानलाई अर्थात् सबै सबै उत्पीडनमा परेका उत्पीडितहरुलाई दिने न्याय, हकहित र अधिकार भनेकै यस्तै बर्बर क्रूरता नै हो । यो भन्दा बढी आशा र अपेक्षा नगर्दै हुन्छ । किनकि यो राज्य व्यवस्था मजदुर, किसान र उत्पीडित वर्गको निमित्त हुँदै होइन ।
तसर्थ हामीले हाम्रा विचार र दृष्टिलाई स्पात बनाएर सम्पूर्ण देशभक्त क्रान्तिकारी शक्तिहरु न्याय पोतिएको, उत्पीडित वर्गको हक अधिकार सुनिश्चितता लपेटिएको विभेदरहित राज्य व्यवस्था, एउटा नयाँ समाज निर्माणमा जुट्नुपर्छ । हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा, पुँजीवादी व्यवस्थाका दलालहरुको लगानीमा संचालित शिक्षा, स्वास्थ उपचार, कानुन, प्रशासन, कार्य प्रणाली, संचार माध्यम उनकै पक्षको हितमा निर्माण गरेर प्रसारण गरिन्छन् । लोकतान्त्रिक मूल्यमान्यता अर्थात् गणतान्त्रिक मूल्यमान्यता भन्दै यसलाई आम जनमानसमा भ्रम स्थापित गरिन्छ । वास्तविक कुरा नितान्त भिन्न हुन्छ । जुनकुरा अँध्यारो इतिहास भित्र छोपिएको हुन्छ । यस्तै संचार माध्यमका कारण यथार्थलाई जबर्जस्त दमन गरेर बनावटी इतिहासलाई नेपाली विशेषताको रुपमा प्रस्तुत गरिन्छ । यस्तो अत्याचार क्रूरता अँध्यारोको संरक्षण गर्ने राज्यसत्ताको विरुद्ध विद्रोह बोल्नु संघर्ष गर्नु देशभक्तहरुको कर्तव्य हुन्छ । र यो आजको आवश्यकता हाे।
आज एउटा किसानले आभाव छल्नकै निमित बाध्यतामा परेर सुदखोरीसँग एक लाख सत्तरी हजार सापटी घरजग्गा बन्दक राखेर लिएको हुन्छ । उसको उर्जाशिल समय बिदेशी भूमिमा आँसु, पसिना र रगत बगाएर बित्छ । उ दिनरात चुनौतीपूर्ण जीवन बाँच्न बाध्य हुन्छ । सबै परिवार मिलेर कमाएको पैसा एक लाख सत्तरी हजारको बीस लाख बुझाईसक्दा पनि ऋण तिरिसकिदैन । बन्दक घरजग्गा फिर्ता हुँदैन । भोक, रोग र शोकले उसको शरीर थलापर्छ । उ पिडामा छट्पटीदै न्याय खोज्दै राज्यसँग जोडिन्छ । परन्तु सरकार भने पीडितमाथि नै झन् अत्याचार, छलछाम, धोका, दमन, लाठीचार्ज गर्दै बर्बर क्रूरता प्रस्तुत गरिरहेको छ । यो कस्तो सरकार हो ? यो कस्तो न्याय हो ?
यदि हामीले यस्तो बर्बर आतंकको मिलेर सामना गरेनौ भने, सिङ्गो उत्पीडित वर्ग, मजदुर, किसान पुँजीवादको दास भएर पशु तुल्य जीवन बाँच्न बाध्य हुनेछौँ । 
































