काठमाडौं । अखिल (क्रान्तिकारी) ललितपुरका अध्यक्ष ईश्वरसिंह साउदले प्रेस विज्ञप्ति जारी गरी शैक्षिक रुपान्तरणमा अटेर गर्ने ललितपुरका ८ वटा स्कूलमा तालवान्दी गरेको र एउटा स्कूलमा सांकेतिक कारबाही समेत गरेको जानकारी दिएका छन् ।
साउन ३० मा जारी गरिएको विज्ञप्तिमा संगठनले ३÷४ महिनादेखि शैक्षिक रुपान्तरणका लागि आन्दोलन गर्दै आएको, नगरशिक्षा, शिक्षा इकाई प्याब्सनलगायत सरोकारवालासँग ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नगरी अटेर गरेका कारण ती शैक्षिक संस्थाहरुमा अनिश्चितकालीन तालाबन्दी गरेको उल्लेख गरिएको छ ।
ललितपुरको कुपण्डोलमा रहेको नाइटिङ्गल लगायतका स्कूलले तालाबन्दी अवज्ञा गरेका कारण सांकेतिक कारबाही गरेको समेत विज्ञप्तिमा जनाइएको छ ।
अखिल (क्रान्तिकारी)ले ललितपुरका नाइटिङ्गल, रेडियन्ट, डिएभी, लिटिल एन्जल, युनाइटेड, प्रिमियर, जेम्स, युलेन्स लगायतका स्कूलहरुमा अनिश्चितकालीन तालाबन्दी गरेको संगठनका ललितपुर अध्यक्ष साउदले जानकारी दिए । संगठनका मागहरुको सुनुवाइ नगरे निजी स्कूलका विरुद्ध आन्दोलनलाई थप सशक्त पार्ने समेत उनले बताए ।
































