१४ साउन २०७९
चितवन/ अखिल नेपाल जन सांस्कृतिक महासङ्घ चितवनको आयोजनामा खुल्ला कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रीयता, जनतन्त्र र जनजीवीकाको सवालमा यो सङ्गठनले चितवनमा कवि गोष्ठी गर्दै आएको छ । यसपटक भने मुलुकमा पेचिलो बनेको एमसीसी, एसपीपी र नागरिकता विधेयकको विषयलाई लिएर प्रतिरोधी सडक कविता वाचन गरिएको आयोजक संस्था जनसांस्कृतिक महासङ्घले जनाएको छ ।

भरतपुर महानगरको वार्ड न ११ विशाल चोकमा सम्पन्न सडक कविता गोष्ठीमा स्रष्टाहरू राष्ट्रिय स्वाधीनताको पक्षमा सशक्त कविता वाचन गरे । झण्डै दुई दर्जन स्रष्टाहरूले कविता वाचन गरेको सो कार्यक्रममा स्रोताहरूको व्यापक उपस्थिति रहेको थियो । प्रकाश खनालको उद्घोषणमा सञ्चालित कविता वाचनमा कविहरू ईश्वरी ओझा, मिसम अधिकारी, अशोक शर्मा, घननाथ सापकोटा, नारायण शर्मा ‘विपिन’, श्याम सुन्दर पन्त, बाबुराम प्यासी, प्रेम कंडेल, भिमराज पौडेल, मित्रराज घिमिरे, राजेन्द्र ढकाललगायत स्रष्टाहरूले रचना बाचन गरेका थिए ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सचिव मोदनाथ मरहट्टाले वाचित रचनाहरूको सूक्ष्म समीक्षा गर्दै कविताका स्वरहरूले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका रहने बताउँदै वाचित कविताहरूले प्रतिकृयावादी सत्ताको राष्ट्रघाती कदमको सशक्त विरोध गरिएको जनाए । उनले यस्तो प्रतिरोधी अभियान देशका अन्य क्षेत्रमा पनि सञ्चालन भैरहेको र आगामी दिनहरूमा अझ व्यापक बनाउँदै जाने महासङ्घको योजना रहेको बताए । यस्ता कार्यक्रमहरूले जनतामा प्रतिरोधी चेतना जाग्रित गर्ने मरहट्टाको भनाइ थियो ।

अन्त्यमा महासङ्घका चितवन अध्यक्ष रविकिरण निर्जिवले सहभागी सबैलाई धन्यावाद दिँदै मुलुकलाई सङ्कट पर्दा आपूmहरू मौन नबस्ने बताउँदै कार्यक्रम सफल भएको बताए । जेष्ठ नागरिकहरूको व्यापक सहभागिता रहेको सो कार्यक्रमलाई निरन्तरता दिन सहभागीहरूले अनुरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार