निबन्ध साहित्य
सजिलै भेट्न नपाइयोस् । पहिल्यै समय लिन परोस् । लिन चाहेर पनि समय नपाइयोस् । हप्तौँ कुर्न परोस् । यति कुरिसके पछि पनि भेटिहाल्न नपाइयोस् । लाइन लाग्न परोस् । लाइन लागिसकेर भेट हुने बेलामा उहाँको विशेष काम परेकाले आज भेट्न मिलेन भोलि आउनोस् भनेर लाइन भ¥याङभुरुङग उठोस् । भोलिपल्ट पनि उसैगरी कुर्र्नु परोस् । बीच बीचमा तिनकोनिजी फाइदाको फाइल र पात्र भने लाइन मिचेर जतिसुकै बेला फुत्त फुत्त भित्र छिर्दै गरोस् । भित्र उनीहरू घण्टौँ गफियून् । यो रमिता आफुले निरीह नजरले चुपचाप हेरिराख्न परोस् । सर्वसाधरण हामीलाई यसरी झुलाउन सक्ने सामथ्र्य भएका मान्छे नै ठुला मान्छे हुन् ।
मोबाइल फोनका सेट थुप्रै हुन् । त्यत्तिकै संख्यामा मोबाइल नम्बरहरू हुने नै भए । सर्वसाधारणको पहुँचमा एउटा नम्बर पनि नहोस् । कथम्कथाचित् नम्बर फेला परेर फोन गरे पनि उठ्दै नउठोस् । रिकल त झन् आउदै नआओस् । उठिहालेछ भने अर्कैले उठाओस् र उहाँ व्यस्त हुनुहुन्छ भनेर अरू कुरै नगरी थच्याक्क राखोस् । फेरि गर्न खोज्दा मोबाइल अफ होस् । बस्, यसरी दुनियाँलाई हेप्न सक्ने मान्छे नै ठुला मान्छे हुन् ।
सरकारमा होस् कि उपल्लो तहको सरकारी जागीरे होस् अथवा सरकारद्वारा महत्त्वपूर्ण सरकारी वा अर्ध सरकारी निकायको उच्च पदमा नियुक्ति पाएको सरकारी दलको कार्यकर्ता होस् । महँगा कारमा शानसित सैर गरोस् । कारभित्र पस्ने र बाहिर निस्कने बेलामा कारको ढोका आफैले नखोलोस् ड्राइभरले खोलिदेओस् । आफ्नो ब्रिफकेस आफूले नउचालोस्, ड्राइभरले नै कारबाट झिकेर कार्यकक्षको टेबुलमा लगेर राखिदेओस् । कार्यालयको द्वारमा बसेका गार्डहरूले अदबसाथ स्यालुट ठोकून्, स्यालुटको बदलामा अभिवादनको कुनै शब्द वा सङ्केत केही प्रयोग नगरोस् । गमक्क फुलोस् र रोबोटझैँ जडबत् अगाडि बढोस् । ए साँचै, हिजोआज त रोबोटले पनि अभिवादनको जवाफ फर्काउँछन् ।
पदगणितमा चङ्ख होस् । पददाताको आसनमा कतिबेला को बसेको छ र निकट भविष्यमा को बस्ने सम्भावना छ ? मिहिन ढङ्गले हिसाब निकालोस् र त्यतैतिर पाइला चालोस् । पहिलेका पददातालाई सत्तोसराप गरोस् र अहिलेकालाई प्रसन्न बनाओस् । (हुन त यी पददाताहरू यौटै वर्गका भिन्न भिन्न झुन्डहरू हुन् । वर्गीय लडाइँमा लुटिखानेका पक्षमा एकढिक्का भएर अवसरबाट बञ्चित विद्रोहीहरूका विरुद्ध खनिन्छन् ।) विद्रोहलाई मिलेर दमन गरिसकेपछि सवर्गी झुन्ड र त्यसका नाइकेहरूले एकर्काका कुरा काटून् । आफू शक्तिमा जानका लागि अर्कालाई गलहत्याउँन् । ऊ हदै दर्जाको अयोग्य र म विछट्टै योग्य हो भनेर सुन्न पनि लाज लाग्नेगरी बतुराउँन् । कुशासनको कुहिगन्धे फोहोरमा लडीबुडी खेलून् र सुशासनको सुगन्धमय वाणीले त्यसलाई छोपून् । लाज र घीन पटक्कै नलागोस् । कहाँ गएर कसलाई दण्डवत् गर्दा सबभन्दा छिटो सबभन्दा ठुलो भाग पाइने हो भन्ने बाहेक मनमा केही कुरा नखेलोस् । मुखले जनहितका महावाणी ठेलोस् । ढोङ्विद्यामा पारङ्गत यो चतुरे नै वर्तमानको ठुलो मान्छे हो ।
काम नगरी दाम कमाएको होस् । रक्सी र तासको बाटो समाएको होस् । साँझ पर्दा नपर्दै खालमा नारियून् । बातैपिच्छे बास्सा, एक्का र चकारयुक्त शब्दहरू झारियून् । हरेक खेलाडीका अघिल्तिर विदेशी ब्रान्डेड रक्सीको गिलास होस् । सम्मुखमै ठिङ्ग उभिएका रङ्गीन बोतलहरू हुन् । भित्र भान्साबाट निरन्तर मासु र अनेक थरी सलादहरू आइरहून् । खेलाडीहरूले पिसाब फेर्न जान पनि मुस्किल पर्ने गरी खाइरहून् । एघार बजोस्, बाह्र बजोस्, एक बजोस् । जतिसुकै बजे पनि खेल चलिरहोस् । रित्तिएको बोत्तल लाजले त्यहीँ ढलिरहोस् । सम्झाँझैदेखि पाकधन्दामा पौठेजोरी खेलिरहेकी थकित, गलित र भोकी महिला ददश मिनेटमा हजूरहरूलाई के टक्¥याऊँ भन्दै आइरहून् । निहुरिरहून्, लजाइरहून् । तिनले खाएर रित्याएका प्लेट र कचौराहरू माझिरहून्, मस्काइरहून् । तपाईँले पनि केही खानुहोस् भनेर उनलाई कसैले एक शब्द पनि नबोलोस् । जयसिँह धामीदेखि जो बाइडेनसम्ममा गफ हानून् । घरकी महिलाको पीडा र व्यथा पटक्कै नजानून् । मनको दृष्टि गुमाएका यी गफास्टक नै यो देशका ठुला मान्छे हुन् ।
जहाँ गयो त्यहीँ टेपरेकर्डर झैँ खुलोस् । आफ्नै पुरुषार्थको बखानमा झुलोस् । ‘मर्यादाक्रममा म नै माथि हो’ भन्ने कुरा कहिल्यै नभुलोस् । पद र पावर नभएकालाई निकै तल देखोस्, नगण्य ठानोस् र बेवास्ता गर्न जानोस् । सिद्धान्तलाई आफ्नो फाइदा अनुसार व्याख्या गर्न सकोस् । उही रङ्गलाई कतै ‘कालो’ बकोस् कतै ‘सेतो’ बकोस् । जीवन झिल्के होस्, विचार तुच्छ होस्, विदेशी प्रभुको पुच्छ होस् । पार्टीको मुख्य नेतृत्व सधैँ आफैले लेओस् अरूलाई किमार्थ आफ्नो दर्जामा उठ्न नदेओस् । छेक्दा छेक्दै पनि कोही आफ्नो प्रतिस्पर्धी भएर उदाउन आँट्यो भने कल्पित आरोपको हँसियाले त्यसको व्यक्तित्व मठारोस् । मठारिएको मान्छे सक्छ त्यही पार्टीमा खुम्चिएर बसोस्, सक्तैन पार्टी छोडेर जाओस्, किमार्थ त्यस पार्टीमा अर्को नेतृत्व विकास हुन नपाओस् । नेताले पार्टीलाई निजीकरण गरून् । खास खास ठाउँमा आफ्ना भाटहरूले भरून् । भाटहरूले अरू कुनै कुराको मतलब नराखून्, केवल नेताको भक्ति गाऊन्, स्तुति गरून् । मालिक खुसी भए मात्रै आफ्ना भागमा मिष्ठान्न झर्छ भन्ने कुरा राम्ररी बुझून् । छलफल नहोस्, बहस नहोस्, आँखा चिम्लेर लाए अह्राएको काममा दगुरिरहोस् । चाहे घाममा टर्रिनु परोस्, चाहे झरीमा रुझून्, नेताले सोचेपछि हामीले सोच्न आवश्यक छैन भन्ने बुझून् । पार्टीलाई निजीकरण गर्ने आइडिया भएका ‘मपाईँहजूर’ नै ठुला मान्छे हुन् ।
माइकका अगाडि उभिन मरिहत्ते गरोस् । कसैलाई काम नलाग्ने लम्बे गन्थनमा झरोस् । माइक खोसेर गलहत्याएर मञ्चबाट झराल्न परोस् । आफू नाङ्गिएको होस नपाओस्, मैले के के नै बोलेँ भनेर फुर्ती लगाओस् । नबोली नहुने महत्त्वपूर्ण कुरा बोल्नै पाइन भनेर गुनासो गरोस् । काल बरु टरोस् गन्गनेको गन्गन नटरोस् । अरू बोलेको सुन्दै नसुनोस्, आफू लगातार बोलिरहोस् । आफू बोलिसकेर फ्याट्ट हिँडोस्, अरूको सुन्ने मौकै नहोस् । देश, काल र परिस्थिति निरपेक्ष चिन्तनको झारमा चरिरहेको मानवरूपी यो दोपाया नै ठुलो मान्छे हो ।
पातपातमा बात फेरोस् । सधैँ सत्ताको कुर्चीतिर हेरोस् । इन्डिया धाओस् कि अम्रिका जाओस् । सबैले सुन्ने गरी राष्ट्रवाद फलाकोस् र गुप्ती रूपमा प्रभु ! हजूरहरूको हित हुने काम गर्छु भनेर कसम खाओस् । दुइटा जिब्रा हुन्, यता देब्रे चलोस्, उता दाहिने चलोस् र अन्तिम फैसला गर्नु पर्दा उनै प्रभुका पाउमा यसको शिर ढलोस् । मलखाद मुनिको माटाको सागझैँ थोरै तापमा पनि फतक्क गलोस् । मल खान पनि सकोस्, ढल खान पनि सकोस्, पीपलको पातझैँ छिन्छिनमा फर्लक्क फर्लक्क फर्कियोस्, ठेगानको कुरो केही पनि नहोस्, जता जान पनि सकोस् । शोषण र भ्रष्टाचारमा आधारित यो राज्यव्यवस्थामा वैचारिक र अन्तरचारित्रिक पतनका कारणले वाणीको ओज गुमेकातर सदैव सत्ताको केन्द्रमा घुमेका स्वार्थपिण्ड नै ठुला मान्छे हुन् !
शोक परेको ठाउँतिर पाइला चालोस् । खल्तीबाट शोकपत्र झिकोस् र पढ्न थालोस् । केही वाक्य पढेपछि होस खुलोस्—त्यो त भर्खर विवाहित नवदम्पतिलाई बधाई तथा शुभकामना दिन लेखिएको खुसीपत्र रहेछ । ध्यान गर्न जाओस्, दश सेकेन्ड पनि ध्यानमग्न हुन नसकेर बाख्राको पुच्छरझैँ छिनछिनमा चल्मलाओस् । जतिसुकै लज्जाजनक परिस्थिति किन नहोस् मनबाट शरम सदाका लागि विदा भएर भागोस्, उहाँ हजूरलाई सधैँ सधै मजस्तो महान् कोही छैन भन्ने लागोस् । पराईप्रभुको आशिर्वाद प्राप्त यिनै हुस्सुसम्राट नै यो देशका ठुला मान्छे हुन् ।
ठुलै ठुलाले चलाएर ठुल्याइँका गाँठैगाँठा फलाएको र बडप्पनले भरिएका भ्रान्त अगुवाको नायकत्वमा सुनामी कालको समुद्री डुङ्गाझैँ ढल्पलाएको यो अधोमति र अधोगतिको परम्परामाठुलो मान्छे भन्ने बित्तिकै तपाईँले कसलाई सम्झनु हुन्छ कुन्नि ! मैले त यिनै यिनैलाई सम्झेँ !