१)वैश्विक सन्तुलन
श्रम र पुँजीका बिच बिषमता बढ्दो छ । एकातिर मुट्ठिभर मानिसहरूमा धनको अथाह भण्डारण हुँदै जाने अर्कोतिर बहुसंख्यक मानिसहरू गरिबीतिर भासिदै जाने प्रक्रियाले तिब्रता पाइरहेको छ । खास गरी केही देशहरू समृद्दीले अकल्पनीय उचाइ हासिल गर्दै जाने अर्कोतिर बहुसंख्यक देशहरूको अधोगतीतिर झर्दै जाने र श्रम शक्ति निर्यात गरेर जीवन जिउन पर्ने बाध्यता छ ।
तेस्रो बिश्व अथवा गरिब तथा निर्वाहमुखी अर्थतन्त्र भएका मुलुकहरुले थपिदै गएको श्रमशक्ति खपत गर्न सक्ने श्रम बजारको ब्यबस्थापन गर्न सक्ने स्थिति छैन । साथै श्रमिकहरुका आकांक्षाहरुको सामान्य संबोधन गर्न सक्ने सन्तुलित र न्यायोचित श्रम नीतिहरुको निर्माण गर्न सक्ने हैसियत समेत राख्न सक्दैनन । फलस्वरूप त्यहाँका श्रमिकहरुको विकसित मुलुकहरु तर्फ आप्रवासनको लहर झन पछि झन बढ्दो छ ।
उदारीकरण समेत भनिएको अमेरिकी एकाधिकार साम्राज्यवादी बिश्व ब्यबस्था अब क्रमश: बहुध्रुविय बिश्व ब्यबस्था तिर संक्रमण हुदैछ । बिश्व शक्ति सन्तुलनमा आउने फेरबदल सँगै दुनियाँमा ठुला ठुला उथलपुथल,हेरफेर र फेरबदल आउने कुरा निश्चित छ । यस्ता फेरबदलले गरिब र तेस्रो बिश्वका मुलुकहरु जो साम्राज्यवाद र बिस्तारवादद्वारा उत्पीडनमा परेका छन, ति मुलुकहरूले पनि राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने आन्दोलनमा अनुकुलता पैदा हुँदै नै छ र परिस्थिति त्यस दिशातिर गएको छ ।
२)स्वाधीनताको प्रश्न
राष्ट्रिय स्वाधीनताको प्रश्न राजनितीको अहं प्रश्न हो । यो प्रश्नको समाधान नगरी अब नेपाल लगायत कुनै पनि देशका आधारभूत समस्याको पनि समाधान हुन सक्दैन । स्वाधीनताको निम्ति संघर्ष भनेको पराधिनताबाट मुक्त हुने भनेको हो । आजको संसारमा साम्राज्यवाद विरुद्ध संघर्षद्वारा बिजय प्राप्त गरेर मात्रै स्वाधीनता प्राप्त हुन सम्भव छ । हामीलाई थाह छ हाम्रा जिवनका हरेक पक्षमा साम्राज्यवाद हस्तक्षेपकारी भएर आएको छ । उसको चारित्रिक विशेषता अनुसार उत्पादन, बितरण र लगानिका साथै श्रम नीति निर्माणकार्यमा समेत उसको भुमिकाले प्रधानता पाउदै गएको र उसका जराहरु बिश्वब्यापी फैलिरहेका छन । यसका बिरुद्धको संघर्ष श्रमिकबर्गको मुक्ति र परिवर्तनको प्रश्न एकाअर्का सँग जोडिएका छन । यहाँ साम्राज्यवाद बिरुद्दको संघर्ष भन्नुको अर्थ उसका नीति र निर्देशनमा काम गर्ने यहाँका शासकहरु विरुद्ध संघर्ष भनेर पनि बुझ्न पर्दछ । साम्राज्यवादको आजको चरीत्र प्रत्यक्ष रूपमा शासन गर्ने भन्दा आफ्ना प्रभावमा र संरक्षणमा हुर्काइएका तत्वहरु मार्फत तेस्रो बिश्वका अथवा प्रभावित मुलुकहरूमा कृयाशील हुनेगर्दछ । खासगरी श्रम क्षेत्रमा ट्रेड युनियन सम्बन्धि नीति निर्माणका साथै खुल्लाबजार,लगानिको वातावरण, स्वतन्त्र प्रतिस्पर्धा,लगानिको प्रोत्साहन र सुरक्षा जस्ता नाराका साथै नीजीकरण,ब्यापारीकरणका लागि उनीहरुका दवाब र निर्देशनमा यहाँ ऐन–कानुन निर्माण भएका छन, हुन्छन ।
साथसाथै श्रमशक्ति दोहनकारि कानुन लगायत त्यसका बिरुद्ध संघर्षमा तगारो सिर्जना गर्न गरिने लगानी र विविध परियोजना मार्फत साम्राज्यवाद कृयाशील भैरहेको हुन्छ । पछिल्लोपटक एमसीसी परियोजना मार्फत अमेरिकी साम्राज्यवाद समग्र क्षेत्रमा उच्चस्तरको राजनीतिक–सामरिक रणनीतिक उद्देश सहित आएको छ र यसले देशको भुराजनितिक अबस्थितीमा चुनैती र सार्बभौमिकता माथी नै खुलेआम प्रहार गर्नेगरी आएको छ । यसको चरीत्रलाई अझ बिस्तृत ढंगले बुझ्न यसका जराहरुको फैलावटलाई गंभिरता पुर्वक केलाउन आबस्यक छ र यसको अध्यय गर्न सबैको मेहनत जरुरी देखिन्छ ।
हामीले भन्दै आएको क्रान्तिकारी मजदुर आन्दोलनको केन्द्रीय कुरा भनेको यहाँको राजनीतिक ब्यबस्था बदल्ने कुरा हो । राज्यसत्ता बदल्ने कुरा हो । तसर्थ मजदुर आन्दोलन भनेको राजनीतिक आन्दोलन कै हिस्सा हो । यो सारत: राजनीतिक आन्दोलन हो । क्रान्तिकारी मजदुर आन्दोलनले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन सम्बद्ध राजनीतिको सेवा गरेर त्यो आन्दोलनमा एकाकार भएर मात्रै आफ्ना उद्देश्यहरु प्राप्त गर्न सक्दछ । यसलाई राजनीतिबाट स्वतन्त्र र पेशागत बिषय मात्रै बुझियो भने त्यो अर्थवाद,ट्रेडयुनियनवाद हुन पुग्दछ । अर्थवाद र ट्रेडयुनियनवादले गैर–राजनीतिक मजदुर आन्दोलन र स्वतन्त्र मजदुर संगठनको माग गर्नुका साथै तलवमानमा वृद्धि,सेवा सुबिधामा वृद्धि,पेशागत र सामाजिक सुरक्षाका अधिकारहरुको सामान्य पुर्पक्ष गर्दछ तर राज्य ब्यबस्थाका दोषहरुका कारण मजदुरबर्गको दीर्घकालीन हित कुण्ठित भएका हुन्छन भन्नेकुरा बुझ्न सक्दैन । अझ भनौं यसले साम्राज्यवाद र तेस्रो बिश्वका बिचको अंतर्विरोधका साथै श्रम र पुँजी वा श्रमिकबर्ग र पँुजिंपतीबर्ग बिचको अंतर्विरोधलाई हल गर्न समाजवादी राज्य ब्यबस्थाको आबस्यकतालाई बुझ्दैन ।
३)हाम्रा कार्यभार
हामीले क्रान्तिकारी मजदुर आन्दोलनको सेवा गर्नु छ । त्यसका लागि योग्य संगठन निर्माण गर्न जरुरी छ । यो काम सम्पन्न गर्न बर्ग सचेत नेता कार्यकर्ताहरु तयार गर्नु छ । सचेत नेता कार्यकर्ता रातारात तयार हुन सक्दैन । त्यसका लागि बिचारधारात्मक र राजनीतीक तयारीमा लाग्न पर्दछ । त्यस्तो तयारी मजदुरबर्गको सेवा गर्ने प्रक्रिया कै बिचबाट सम्पन्न गर्दै जाने हो । यहाँ सेवाको अर्थ पुँजिपतीबर्गले मजदुरहरुमाथि गर्ने शोषण र दमनको विरुद्ध संघर्षका प्रक्रियामा इमानदार र मेहनत पुर्वक लाग्ने भन्ने हुन्छ ।
क्रान्तिकारी व्यबहारद्वारा मजदुरबर्गको सेवा गर्ने क्रममा हामीलाई क्रान्तिकारी सिद्धान्तको उज्ज्वल दृष्टि चाहिन्छ । हामीलाई थाह छ क्रान्तिकारी सिद्धान्त बिना क्रान्तिकारी राजनीती अगाडी बढ्न सक्दैन । यसका लागि हामीले हाम्रा अध्ययनलाई बढाउनु पर्दछ । हामीले बुझ्नु पर्दछ कि सिद्धान्त भनेको व्यवहार सिद्ध अनुभवबाट बिकसित र परिस्कृत ज्ञान कै संग्रह हो । यसैले क्रान्तिकारी सिद्धान्तले हाम्रा बाटाहरुमा आइपर्ने अप्ठ्याराहरु जान्न मात्रै होइन त्यसलाई सामना गर्ने उपायको समेत मार्गदर्शन गराउछ । आजको संसारलाई बैज्ञानिक ढंगले हेर्न,बुझ्न र बदल्न दिशानिर्देश गर्दछ ।
आजको संसार हिजोको जस्तो छैन । त्यस्तो नहुनु स्वभाविक छ । गति र परिवर्तनको नियमानुसार नै आजको स्थिति सितयुद्द पछि आधारभुत रुपले नै नयाँ ठाउँमा आइपुगेको छ । आज अमेरिकी साम्राज्यवादको एकलौटी बिश्व ब्यबस्थाको स्थान बहुसाम्राज्यवादी बिश्व–ब्यबस्था तिर तीव्रता पुर्वक संक्रमण भैरहेको छ । यसले अन्तर्साम्राज्यवादी अंतर्विरोधलाई चर्काइदिएको प्रष्ट देख्न सकिन्छ । यो अबस्थाको ऐतिहासिक सन्दर्भलाई हेर्ने हो भने युगान्तकारी क्रान्तिको तयारीको बेला समेत हो । अन्तर्साम्राज्यवादी अंतर्विरोध चर्किएर बिश्वब्यापी तनाब र युद्धहरुका साथै बिगतका समाजवादी क्रान्ति समेत यस्तै यस्तै बेलामा लिइएका सहि बाटोको छनौट र पहलकदमीका कारण सम्भव भएको देखिन्छ । अहिले पनि साम्राज्यवादी प्रतिस्पर्धा र द्वन्द्वका बिच राष्ट्रिय स्वाधिनता र मुक्तिका आन्दोलनहरुले गति लिने परिस्थिति पैदा भैरहेको छ । यस्तो स्थितिमा हामीले दलाल तथा नोकरशाही पँुजिपतीबर्गका बिरुद्दको संघर्षलाई चर्काउन सक्नु पर्दछ ।
मजदुरहरुमाथी झन पछि झन शोषण उत्पीडन बढ्दै गएका छन त्यसका विरुद्धमा मजदुर र त्यसको नेतृत्व गर्ने संगठनका बिचमा नङमासुको सम्बन्ध बिकास गर्दै मजदुरसँग एकाकार हुनै पर्दछ । त्यस दिशातिर हामिले सचेत पहलकदमी लिन सक्नु पर्दछ । त्यस्तो पहलकदमी बिचार र राजनिती ,नीति र नेतृत्व ,नेता, कार्यकर्ता र जनताका बिचका बिषमताका आधारभूत समस्याहरुको समाधान गर्दै हामीले क्रान्तिकारी आकांक्षा,इच्छाहरुका साथै संकल्पगत एकता कायम गरेर मात्रै लिन सकिन्छ । आउनुहोस् तपाईं हामी मिलेर त्यसतर्फ दृढतापुर्वक पाइला चालौं ।

प्रतिक्रिया

सम्बन्धित खवर