३२ असार नवलपरासी ।
पश्चिम नवलपरासीमा राहत वितरणको विषयलाई लिएर सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ ।
कोरोना महामारीबाट प्रभावित परिवारलाई राहत बाँड्ने विषयमा झडप हुँदा १८ जना घाइते भएका छन् । घाइते हुनेमा कांग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा वडा नं. ५ मा राहत वितरणको लागि दलीय भागबण्डा नमिल्दा उत्पन्न विवादले झडपको अवस्था सिर्जना भएको हो ।
यसअघि एमालेबाट निर्वाचित भएका निवर्तमान वडाअध्यक्षले पठाएको विपन्नको नाम अहिले कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षले काटेर पठाएको एक पक्षको आरोप छ भने अर्को पक्षले पहिला गैर विपन्न व्यक्तिहरुको नाम पठाएको अर्को पक्षको आरोप छ ।
कोरोनाका समयमा घरमा कसैको पनि आयस्रोत नभएको र सामाजिक सुरक्षा भत्तासमेत नपाउने अतिविपन्न परिवारका लागि सरकारले प्रति परिवार १० हजारका दरले रकम दिने गरेको छ ।
झडपमा घाइते भएका १८ जनामध्ये ६ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । दुवै पक्षले इँटा र ढुंगाले हानाहान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर