परिस्थिति र अवस्था यस्तो भैदिन्छ कि कहिले काँही कल्पना नै नगरेको विषयले (घटनाक्रमले) मन–मष्तिष्कलाई खल्बल्याई दिन्छ र अत्यन्तै चिन्त्ति बनाउँछ । बाध्यात्मक भनौं त्यसको सामना गर्नै पर्ने हुन्छ । अप्रत्यासित रूपमा ६४ वर्षको प्रौढ अवस्थामा नै हामीले श्याम कमरेडलाई हाम्रो साथबाट सदाका लागि गुमाउनु प¥यो । कमरेड श्रीनाथ अधिकारीको फोक्सोमा भएको प्राणघातक रोग क्यान्सरको कारण पीडित भै उपचारकै क्रममा २२ असार २०७६ सालमा असामयिक निधन हुन पुग्यो । उहाँको निधन भएको पनि ३ वर्ष पूरा हुन लागेछ । क.श्रीनाथ अधिकारी पार्टीमा क. श्यामको नामबाट सुपरिचित हुनुहुन्थो । २०१२ साल श्रावण ९ गते गोरखाको अजिरकोट–३, जन्मनु भएका क. श्याम हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को के.स.को पोलिटव्युरो सदस्य हुनुहुन्थ्यो । उहाँसँगको सङ्क्षिप्त संस्मरणका विषयमा कलम चलाउन गैरहेको छु ।
२०३८ सालमा अनेरास्ववियु (छैठौं)को गोरखाको जिल्ला सम्मेलनमा म विद्यार्थी नेताको हैसियते केन्द्रीय प्रतिनिधिका रूपमा मकै सिंमा पुगेको थिएँ, त्यसबेला क.श्रीनाथको चर्चा चलेको सम्झना छ । मलाई एकिन सम्झना त हैन, हाम्रो पहिलो भेटघाट कहाँ भयो तर ती क्षणहरू पार्टीका विशिष्ट र नियमित कार्यक्रमका दौरान हाम्रो भेटघाट हुने गर्दथ्यो । २०४० सालको चौमको राष्ट्रिय सम्मेलन र २०४१ को नेकपाको पाँचौं महाधिवेशन तथा २०४२मा पाँचौं महाधिवेशनपछिको नेकपा (मशाल)को पहिल्लो विस्तारित बैठकका बेला हाम्रो भेटघाट भएको थियो । क. श्यामले चौमको पार्टी सदस्यता लिएपछि केही समय पश्चात् २०४० साल तिरबाटै पार्टीमा उहाँले सक्रिय जीवन व्यत्ति गर्दै आउनु भएको थियो । २०४०, २०४१ र २०४२ सालमा भएका पार्टीका छलफल, बहस र फूटका दौरान पनि उहाँले पार्टीको मूलधारकै पक्षमा आफ्नो अभिमत जाहेर गर्नु भयो । यस क्रममा विभिन्न अन्तरविरोधका बेला गोरखा जिल्लालाई कम्युनिस्ट क्रान्तिकारी बनाउने धुनमा उहाँको अथक प्रयत्न रहेको पाइन्छ । पार्टीका काम गर्ने उहाँको लगनशिलता, स्प्रिट र सक्रियताले स्थानीय क्रान्तिकारी जनसमुदाय, पार्टी र नेतृत्व समेतलाई थप उत्साहित र खुशीले प्रवाहित गर्दथ्यो ।
मिसन हाईस्कूल लुुईटेलबाट एसएलसी गरेर केही समय पश्चात् २०३४ सालमै पुल्चोक इन्जीनियरिङ्ग क्याम्पस ललितपुरबाट ओभरसिअर पूरा गर्नु भएको थियो । त्यतिबेला ओभरसिअर हुनुलाई राम्रै महत्वका साथ हेर्ने गरिन्थ्यो । आर्थिक हिसाबले जीवनयापनका लागि राम्रै जागिर जीवन बिताउन सक्नु हुन्थ्यो । तर कम्युनिस्ट राजनीतिमा लागेर जनताको सेवा गर्ने क्रान्तिकारी परिवर्तनको बाटो अङ्गाल्ने उहाँले आफ्नो जीवन अर्पण गर्नुभयो । क.श्याम गोरखा जिल्लाको चौथो महाधिवेशन पार्टीको पहिलो पुस्ताको नेता मध्येमा एक नेता हुनुहुन्थ्यो । उहाँ कम्युनिस्ट पार्टीमा लागगेपछि चौम, नेकपा (मशाल), नेकपा (एकताकेन्द्र), नेकपा (माओवादी), एमाओवादी, नेकपा–माओवादी हुँदै नेकपा (क्रान्तिकारी माओवादी)मा निरन्तर अगाडि बढेर अविछिन्न रूपमा विभिन्न प्रकारका साङ्गठनिक जिम्मेवारीमा रही सक्रिय पार्टी जीवन व्यतित गर्दै क्रान्तिको काममा समर्पित रहनु भयो । उहाँको यस प्रकारको सक्रिय क्रान्तिकारी पार्टी जीवनबाट निधन पश्चात् मात्र विश्राम लागेको छ । हाम्रो पार्टी कम्युनिस्ट आन्दोलनले गम्भीर क्षति व्यहोरेको छ ।
महान्् जनयुद्धको तयारीको लामो प्रकृयादेखि जनयुद्धको समयमा उहाँ मध्येक्षेत्र (गण्डक), धादिङ, चितवन र गोरखा लगायतका विभिन्न स्थानमा जनयुद्धलाई सृजनात्मक ढङ्गले अगाडि बढाउन र साङ्गठनिक क्षेत्रमा परिचालनको काममा सक्रियताका साथ महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । पार्टीमा देखा पर्ने दुईलाईन सङ्घर्ष र अन्तरसङ्घर्षहरूमा क.श्याम हरदम क्रान्तिकारी धाराको पक्षमा दृढतापूर्वक आफ्नो अडान राख्दै आउनु भयो । सक्रियतापूर्वक वर्गसङ्घर्षमा मात्र सरिक हुनु भएन अपितु आत्मसमर्पणवाद, दक्षिणपन्थी संशोधनवाद तथा नवसंशोधनवादका विरुद्ध निरन्तर विचारधारात्मक सङ्घर्षमा डटेर लाग्नु भयो र मालेमावादको संरक्षणको कित्तामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भयो । उहाँ क्रान्तिको एउटा अथक योद्धा हुनुहुन्थ्यो । सङ्गठन सङ्घर्षका यस प्रकारका कार्यमा क.श्यामले आफ्नो परिवारलाई परिचालित र प्रशिक्षित गर्दै साथ–साथै लिने काम गर्नु भयो । उहाँको परिवारले पनि अनेकौं विघ्नबाधाहरूका सामना गर्दै विभिन्न प्रकारले विभिन्न स्तरमा क्रान्तिका काममा सङ्लग्न हुने र समर्थन गर्दै आएको छ । वर्गसङ्घर्ष र अन्तरसङ्घर्षमा जतिसुकै आर्थिक तथा अन्य भौतिक कठिनाई र चुनौती भोग्नु परे पनि क.श्याम कहिल्यै गुनासो गर्ने र विचलित हुनु भएन । गंभीरतापूर्वक आफ्नो इमान्दारिता पूर्वक निष्ठा र जिम्मेवारीलाई हमेशा आत्मसाथ गर्नु भयो र कहिल्यै डग्न दिनु भएन ।
क.श्रीनाथ अधिकारीको सादा जीवनशैली र उच्च विचारको बाटो अङ्गाल्नु भयो । जनशैली रुचाउने कमरेडको मिलनसार व्यक्तित्व थियो । उहाँ गोरखा मात्र नभएर मध्ये क्षेत्रमा जनस्तरमा स्थापित व्यक्तित्व हुनुहुन्थ्यो । महान् जनयुद्धको समयमा मध्यक्षेत्रको लुम्बिनीमा समेत छोटो समय जिम्मेवारी लिई काम गर्नु भयो । २०५० देखि २०५६ सालमा म र उहाँ एउटै कमाण्ड अन्तरगत काम गर्दथ्यौँ । त्यसबेला उहाँसँगको सहकार्यले उहाँको आफ्नो पङ्क्ति र जनस्तरमा कमरेडली भावना र व्यवहारको राम्रो अनुभूत भएको थियो ।
दुःख कष्ट र अभावमा पनि सहनशील, धैर्यता र लगनशीलताका साथ आफ्नो कार्यभार सम्हाली राख्नु भयो । कुनै पनि कठिन परिस्थितिमा शालिनताका साथ जीवन व्यवस्थापन गर्न सक्ने सामथ्र्यता राख्नुहुन्थ्यो । जतिसुकै अप्ठेरो अवस्थामा पनि विचलित नभै पारिवारिक समस्या या पार्टी भित्रका विविध खाले गैरसर्वहारावादी चिन्तन, प्रवृत्ति र वर्गसङ्घर्षका समस्यासँग पौठेजोरी खेल्दै अनवरत क्रान्तिको कित्तामा उठिरहनु भयो । पद, प्रतिष्ठा र लाभका पदका लागि कहिल्यै लालयित हुनु भएन । चाकडी र कुण्ठालाई उहाँ दुत्कार्नु हुन्थ्यो ।
स्वयम् अन्तरमुखि भइपनि क.श्यामले कहिले काँही पार्टी भित्रका अन्तरविरोध र दुईलाईन सङ्घर्षका बेला के गर्ने होला–कसरी सोच्दा ठिक होला भनि मसँग अनौपचारिक कुरा गर्नु हुन्थ्यो । गम्भीरतापूर्वक कुरा सुन्ने कतिपय अन्तरङ्ग छलफल गर्ने र अन्त्यमा आफ्नो अभिमत स्पष्ट राख्नु हुन्थ्यो । सिद्धान्त, नीतिमा दृढता र व्यवहारमा लचकता देखाउने उहाँका विशेषता थिए । हरेकलाई दुईमा विभाजन गरेर हेर्दा क.श्याममा पनि बढी उदार हुने, मनमा नराम्रो लागे पनि आवस्यकता अनुसार आक्रामक बन्न नसक्ने स्वभाव थियो । कतिपय अवस्थामा उहाँको उदारताले अवसरवादी प्रवृत्तिले फाइदा उठाएको पनि पाइन्छ ।
उहाँले पार्टी सङ्गठन, क्रान्ति र विभिन्न खाले समस्याका बारेमा जिज्ञासा राख्ने गर्नुहुन्थ्यो । बिमारले गालेर कठिन अवस्था झेल्दा पनि उहाँमा निराशा देखिएन । बाँच्ने र अझै केही गर्न सकिने आशा प्रवल रूपमा राख्नु हुन्थ्यो । जीवनको अन्तिम घडिमा पनि पार्टी र क्रान्तिको बारेमा नेतृत्वका कमरेडसँग के हुँदैछ भन्ने जिज्ञासा राख्नु भएको थियो । हाम्रो पार्टीभित्र मात्र होइन अन्य विपक्षीहरूसँग पनि उहाँलाई राम्रो कदर र सम्मान गर्दथ्ये । आन्दोलन महान् जनयुद्धको चरणमा साथै नयाँ जनवादी क्रान्ति एवम् समग्र नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँको भूमिका गर्विलो रह्यो । हाम्रो पार्टी, क्रान्तिकारी जनसमुदाय र देशले असल क्रान्तिकारी कम्युनिस्ट योद्धा गुमायौँ । उहाँ हामीबाट सदाका लागि विदा भए पनि उहाँका योगदानले हामी सबैलाई सँधै अगाडि बढ्न प्रेरित गरिरहने छ । हामीले उहाँको सपनालाई हर्दम पछ्याउने छौँ । प्रिय कमरेड श्रीनाथ अधिकारी (क.श्याम)मा भावपूर्ण श्रद्धाञ्जली तथा लाल सलाम ।
नाेट : श्रीनाथ स्मृतिग्रन्थबाट साभार – सम्पादक