म विद्रोही धर्ती 

म विद्रोही धर्ती 

फुलसँग खेलिरहेका

धर्तीका सुन्दर

कोपिला विरुद्ध 

बम बर्साउने ?

तिनीहरु को हुन्

जो शान्तिको गीत गाउँदै

युद्ध हुर्काई रहेका छन् ?

जो,

यसबखत

धर्ती-मानव विरुद्ध

युद्ध-रक्तपातको महा-भारा

मृत्युको “महा-काव्य”

थोपर्न चाहन्छन्

तिनीहरु,

ब्रह्माण्डका

कुरुप बिम्ब हुन् ।

 

धर्ती-विद्रोहका

गर्भ-चिहान हुन् ।

यसबखत,

धर्ती-मानव विरुद्ध

शोषणको बर्बर कारखाना

द्रुत चलिरहेको छ

अँध्यारो-कुदिरहेको छ

प्रकृति-प्रेम-मानवता

बारुदको दुर्गन्धसँग

जुधिरहेको छ ।

 

एउटा

तुफान चल्दैछ

आँधी आउँदैछ

ज्वालमूखि फुट्दैछ

धर्ती भित्र अर्को

विद्रोही-धर्ती छ ।

 

म विद्रोही धर्ती हुँ

गति-ज्ञान-मुक्तिको

मिसायल

एक पटक

स्पर्श गर मेरो हृदय

जहाँ

हजारौं वर्षदेखि

सत्य फुलिरहेको छ

उक्त फुलबारीको

एक थुङ्गा फुल

तिमी पनि हौ ।

 

मेरो आँखामा हेर

उज्यालो हाँसिरहेको छ

जसको एक किरण

तिमि पनि हौ

मेरो गर्भमा

ज्वाराभाट नाच्दै छ

त्यो बिष्फोटित ज्वाला

तिमी पनि हौ

म विद्रोही धर्ती हुँ

तिमी धर्तीको विद्रोह हौ ।