उत्तर र दक्षिण
सिड्नी जोड्ने
उल्टो अर्ध चन्द्र जस्तै
आकाश भित्र छिरेको
हार्बर पुल हरेक दिन उक्लन्छु
र, सम्झिन्छु मेरो गौरवको सगरमाथा ।
प्रशान्त महासागर खोपेर
पानी मुनीको चट्टान फोडेर
फेरी उत्तर र दक्षिण सिड्नी जोड्ने
हाम्रो सनाई बाजा जस्तो
हार्बर सुरुङ्ग
प्रत्येक साँझ छिर्छु
र, बिर्सन्छु
मेरो केचनाको गहिराई ।
दायाँ
समुद्रमाथि तैरिएको
कंक्रिटको कमल
ओपेरा घर
र बायाँ
समुद्र निलेका
स्टीलका शीश महलहरुको
डार्लिङ्ग हार्बर
र, बरान्गारू
गिज्याउछन् मेरो बर्तमानलाई
र, टनेल मुनि बेसगरी थिच्छन् मलाई।
म
धरधरी रोई रहेको
र निलो महासागरको
नूनिलो पानीमा
नूनिलै आशु मिसाइरहेको
र नूनिलै पसिना पखालिरहेको
यही एउटो कुनो
गिज्याउँछ मेरो इतिहासलाई ।
यी
सेतो युरोपबाट
यतै कतै भास्सिन आएका
र बनाएका रातो अस्ट्रेलिया
म
हरियो एसिया
ओर्लदै आएको
र भास्सिएको गहिरो सागर मुनि ।
यतै कतै
पचास हजार बर्ष देखि
तातो लाल्झाडि घुमिरहेका
आदिबाशी अस्ट्रेलियन भित्र
एक जोडी आँखा खोजिरहेछु बुद्दका
यतै कतै अझै निदाइरहेका
र, एक मुट्ठी बिस्कुन छर्दैछु प्रेमको
ढुकढुकी नेपालको ब्युझाई राख्न ।
मनबाट
पर !!!!! बास रोज्ने कि
तनले प्रबास रोज्ने ??
यात्रामा दोबाटो आयो
मनको पर!!!!बास भन्दा
ज्यान प्रबासमा
मेरा मित्रजनसँ्ग
लाख मिटर नजिक लाग्यो ।
भ्रस्टाचारले एक थोपा पानी किन्नु
र, एक घुट्को सास फेर्नु
जीवनको अर्थ कसरि हुन्छ ?
खलखली पसिना बगाउनु
र, एक बिन्दु खुशी
स्वाभिमानले कमाउनु
जीवनको ठुलो अर्थ लाग्यो ।
दोबाटो आयो
एउटा छङ्गाछुर भिर तिरको
अर्को लटरम्म सम्म मैदान तर्फको
मैले भीरको बाटो रोजे
तिब्बतका पठार उक्लदै
मलायाका झाडी छिचोल्दै
फिलिपिन्सका टापु चहार्दै
फिजी झर्दै फेरी समुद्रको तीरै तीर
डार्विन आइपुगे
डार्विनको सिद्दान्त खोज्दै-खोस्रदै ।
म फिर्नेछु
एक न एक दिन
यो पाताल छोडेर
यी जन्जीर तोडेर
मेरै सुगन्धित नीलगिरी तर्फ ।