विशेष सम्पा दकीय

विशेष सम्पा दकीय

असार ६ सोमबार, २०७९ मा वर्गदृष्टि साप्ताहिक प्रकाशनको ६ बर्ष पुरा गरी सातौं बर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी हाम्रा आदरणीय पाठक वर्ग, लेखक, विज्ञापनदाता, संवाददाता लगायत समस्त प्रकाशन परिवार, शुभचिन्तक तथा प्रत्यक्ष परोक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सबै महानुभावहरुमा खुशी साट्दै हार्दिक आभार व्यक्त गर्दछौं । र, वर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिमा हाम्रो जस्तो जनपक्षीय मिडियाको भूमिका अझ उच्चस्तरमा बढेको महसुस गर्दै सोही अनुसार प्रभावकारी कार्यसम्पादन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं ।
आज नेपालको स्वाधीनतमाथि गम्भिर संकट उत्पन्न भएको छ । नेपाललाई जबर्जस्त युक्रेन बनाउने खेलहरु चलिरहेका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या निकै भयावह अवस्थामा रहेका छन् । यो अवस्थामा जनपक्षीय मिडियाहरुको भूमिका र दायित्व प्रभावकारी बनाउनु अपरिहार्य बन्न गएको छ ।
निकै ठूलो जनसंघर्ष, विरोध र प्रतिरोधका बाबजुद शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘राष्ट्रघाती’ भनिएको एमसीसी सम्झौता सदनबाट षड्यन्त्रपूर्वक पास गर्‍यो । यो सँगै नेपालको स्वाधीनतामाथि संकट थप सघन बन्दै गयो । एससीसी सम्झौतापछि अमेरिकाका सैन्य र सरकारी अधिकारीहरुको निकै बाक्लो नेपाल भ्रमणले नेपाललाई थप संकटतिर धकेलिदिएको छ । पछिल्लो पटक हिन्द प्रशान्त रणनीतिका सैन्य कमान्डर चाल्र्स फ्लिनको चारदिने नेपाल भ्रमणसँगै बाहिरिएको एउटा तथ्यले सिंगो नेपाल र नेपालीलाई नराम्ररी झस्काएको छ । एकसाथ तरंगित, चिन्तित र सन्त्रस्त बनाएको छ । त्यो भनेको नेपाललाई अमेरिकाको सैन्य साझेदार राष्ट्रको हैसियतमा पुर्‍याउने गरी गर्न लागिएको स्टेट पार्टनशिप प्रोग्राम (एसपीपी) सम्झौता हो । एसपीपी सम्झौताको १० बुँदे सम्झौता प्रस्तावको मस्यौदा बाहिरिएपछि नेपालको सैन्य र राजनीतिक नेतृत्वले नेपाली जनतालाई गुमराहमा राखेर भित्रभित्रै निकै ठूलो राष्ट्रघात गरेको तथ्य बाहिरिएको छ ।
२०१५, २०१७ मा पत्राचार गरेपछि २०१९ मा एसपीपीको सदस्य राष्ट्रको लिस्टमा नेपाललाई राखिएको तथ्य बाहिरिएको छ । एमसीसी र एसपीपी दुवै अमेरिकाको हिन्द प्रशान्त रणनीति(आइपिएस)का अभिन्न अंग हुन् । आइपिएस नेपालको छिमेकी मुलुक चीनलाई घेर्ने अमेरिकी रणनीति हो । यो तथ्य बुझ्दा बुझ्दै नेपालको राजनीतिक र सैन्य नेतृत्वले अमेरिकासँग एसपीपी सम्झौता गरेर देश र जनतामाथि गम्भिर खेलबाड गरेका छन् । अमेरिकाले आफ्नै सेना नेपाली भूमिमा तैनाथ गरेर यहाँको सैन्य तथा राजनीतिक नेतृत्व, यहाँको प्राकृतिक तथा मानवीय स्रोतसाधन चीनका विरुद्ध प्रयोग गर्ने स्थिति बनेमा नेपालको स्वाधीनता पूर्णरुपमा समाप्त हुने निश्चित छ ।
तसर्थ, देशको स्वाधीनता बचाउन सिंगो देश एकढिक्का भएर अहिले सबैले एकै स्वरमा आवाज उठाउनु पर्ने भएको छ– राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, राष्ट्रघाती एसपीपी सम्झौता खारेज गर । यही दुवै सम्झौता नेपालको स्वाधीनता समाप्त पार्ने खतरनाक हतियार हुन् । या तथ्यलाई बुझेर नेपालका जनपक्षीय मिडियाहरुले स्वाधीनताका रक्षाका निम्ति अब ‘रक्षाकवच’ बनेर देखिने र आम स्वाभिमानी जनताले अनुभूत गर्ने गरी भूमिका खेल्न जरुरी छ । हरेक मिडियाका लागि आफ्नो मातृभूमि र जनताभन्दा ठूलो अरु केही हुँदैन ।
यसर्थ, हामी हाम्रो प्रकाशन ६ बर्ष पुरा गरी सात वर्ष प्रवेश गरेको यस ऐतिहासिक अवसरमा देशको स्वाधीनतालाई केन्द्रविन्दुमा राखेर कलम चालाउने प्रतिबद्धता दोहोर्‍याउन चाहन्छौं । ‘देशको दिल हुँदैन, स्वार्थ मात्र हुन्छ’ भन्ने यथार्थलाई यहाँको सैन्य र राजनीतिक नेतृत्वले गहिरो गरी बुझ्न जरुरी छ । साम्राज्यवादी शक्तिको गुलामी गरेर छिमेकीलाई चिढ्याउने र उत्तेजित पार्ने काम बन्द गर्नुपर्छ । देश र जनताको हितमाथि घात गर्नेलाई ‘राष्ट्रद्रोही’, ‘देशद्रोही’, दलाल र गद्दार करार गरेर देश निकाला हुनुपर्ने स्थिति नआओस् भन्ने परिस्थितिप्रति ख्याल गर्दै शासकहरुले सोचे सम्झेर, सचेत र सतर्क भएर कदम अगाडि बढाउन जरुरी छ । यो देशको राजनीतिक र सैन्य नेतृत्वलाई बेलैमा गम्भिर रुपमा बोध होस् ।