काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सीपी गजुरेलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट पास गरेपछि स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर गराएर अमेरिकाले छिमेकी मुलुक चीनका विरुद्ध युद्धको थालनी गर्न खोजेको आरोप लगाउनु भएको छ ।


एमसीसी पास गरेपछि अमेरिकी सेना नेपाल नआउने दाबी गर्दै १२ बुँदे व्याख्यात्मक घोषणा गरेर एमसीसी पास गर्ने प्रचण्डहरुले यसबारे जवाफ दिनु पर्दैन भन्दै उहाँले भन्नुभयो, “१२ बुँदे व्याख्यात्मक घोषणा गर्नेवालाहरुसँग यसको जवाफ छ, जवाफ दिन सक्छन्, जवाफ दिनु पर्दैन ?’

अमेरिकाले नेपाली भूमिको प्रयोग गरेर नेपालबाट चीनका विरुद्ध युद्ध थाल्यो भने चीन चुप लागेर नबस्ने भन्दै उहाँले प्रश्न गर्नुभयो, “चीनका विरुद्ध अमेरिकाले नेपाली भूमिबाट मिसायल हान्न थाल्यो भने चीनले पनि उताबाट जवाफी मिसाइल हान्छ । त्यसबेला नेपाल र नेपाली जनताको हालत के हुन्छ ? जनतालाई जवाफ दिनु पर्दैन ?’

साम्राज्यवादीहरुको दलाली गरेर आफ्नो दुनो सोझ्याउँदै आएका प्रतिक्रान्तिकारीहरु अहिले ठूलो संकटमा रहेको भन्दै यो बेला क्रान्तिकारीहरुले असीम धैर्यता, साहस र सक्रियताको प्रदर्शन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगको प्रदेश ३ को भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता गजुरेलले यस्तो बताउनु भएको हो । कार्यक्रम घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा भएको थियो । कार्यक्रममा पार्टी पीवीएमहरु अटल, प्रवेश, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अखिल (क्रान्तिकारी)की उपाध्यक्ष शिलु न्यौपाने लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार