१० रुपैयाँ मात्रै होइन, पेट्रोलियम पदार्थमा सरकारले लगाएको सम्पूर्ण कर हटाउनु पर्छ : सीपी गजुरेल

१० रुपैयाँ मात्रै होइन, पेट्रोलियम पदार्थमा सरकारले लगाएको सम्पूर्ण कर हटाउनु पर्छ : सीपी गजुरेल

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पदार्थम सरकारले लगाएको सम्पूर्ण कर हटाउन माग गर्नु भएको छ । सरकारले पेट्रोलमा करिब ६४ रुपैयाँ र डिजेलमा करिब ४५ रुपैयाँ कर लगाएको भन्दै यी कर तत्काल हटाएर पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न जोडदार माग गर्नुभएको छ । पेट्रोलियम पदार्थको मूल्यमा गरिएको पटक पटकको वृद्धिले आम जनताको ढाँड भाँचेको भन्दै उहाँले सरकारलाई १० रुपैयाँ मात्र होइन लगाइएको सबै कर खारेज गर्न चेतावनी दिनुभएको हो । नेकपा (क्रान्तिकारी माओवादी), सम्बद्ध जवसमोर्चाका सार्थ सडकमा उठेको आन्दोलनका कारण सरकार पेट्रोलियम पदार्थको मूल्यमा १० रुपैयाँ घटाउन बाध्य भएको भए पनि जनतालाई राहत दिन सम्पूर्ण कर हटाउनु पर्नेमा उहाँको जोड थियो ।


देशभक्त जनगणतान्त्रिक मोर्चा र नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश ३ को संयुक्त आयोजनामा काठमाडौंको माइतीघरमा आयोजित विरोध ¥याली तथा सभालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले हालै सरकारले ल्याएको बजेट आउने चुनावमा आफ्नो पक्षमा जनताले भोट हालून भन्ने उद्देश्यलाई केन्द्रमा राखेर ल्याएको टिप्पणी गर्नुभयो ।


प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्रै संघ र प्रदेशको चुनाव गर्ने पक्षमा रहेको बताउनुहुँदै अध्यक्ष गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संघ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गर्न जाने हुन् कि भन्ने डरले प्रधानमन्त्री देउवा सो निर्वाचन छिटो गराउने पक्षमा रहेको विश्लेषण गर्नुभयो ।

पेट्रोलियम पदार्थलगायतका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा आयोजित विरोधसभामा बोल्दै उहाँले चुनाव जित्न र जनतालाई खुसी बनाउनेगरी सरकारले बजेट ल्याएको दावी गर्नुभयो । उहाँले चुनावमा धाँधली गरेर जित्न सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको जिकिर समेत गर्नुभयो ।


उहाँले भन्नुभयो, “‘अहिले १५ प्रतिशत कर्मचारीको तलव वृद्धि पनि चुनाव जित्नकै लागि हो । चुनाव जित्नका लागि कर्मचारीलाई एक प्रकारको घुस दिइएको हो ।” अध्यक्ष गजुरेलले भारतीय विद्युतीय गाडी कम्पनीहरूसँग कमिशन खाएर सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीको संचालनमा जोड दिने गरी बजेट ल्याएको आरोप समेत लगाउनु भयो ।


विरोधसभाको सञ्चालन नेता पवनमान श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश सेक्रेटरी सुरेश श्रेष्ठले पनि विरोध मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा देउवा सरकारका विरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो ।