पतिदेव अर्थात मालिक !

पतिदेव अर्थात मालिक !

(पति देवों को बाहर भेजा जाय और
जीवन साथीको अन्दर वुलाया जाए !)
– कमला भासिन
 
पति अर्थात मालिक
अङ्ग्रेजीमा भन्छ नि त्यो- वनर !
जस्तै-
लखपति
करोडपति
अरवपति
सेनापति या राष्ट्रपति !
स्वामित्व भएको अर्थात स्वामि
तिम्रो स्वामित्व ऊसँग छ
अनि कसरी छौ तिमी स्वतन्त्र ?
 
यो लोग्ने आर्थात पति पनि
ठीक मालिक हो
सम्पत्तिको
सन्तानको
र स्वयम तिम्रो शरीरको !
तिमी बच्चा जन्माउँछ्यौ
न्वारन गर्न मालिक खोजिन्छ
तिम्रो रोहवर चल्दैन !
तिमी नागरिक बन्न जाऊ
बाउ खोजिन्छ
पति खोजिन्छ
कोही न कोही मालिक खोजिन्छ !
“पिता रक्षति कौमारे
भर्ता रक्षति यौवने
पुत्रो रक्षति बार्धक्ये
न स्त्री स्वातन्त्र्यमर्हति !”
तिमीलाई धर्मले तोकेको यही हो ।
 
यो पतिवाला समाजमा
प्रेम मरुभूमिमा तालजस्तै हो
पति अर्थात मालिक
पत्नी अर्थात दासी
एक वैधानिक यौन-दासी
तिम्रो थर उसको
घर उसको
तिम्रो सारा रहर उस्को
अनि तिम्रो के ?
 
घरमा पुग्यो तिमी भान्सामा
अफिस पुग्यो टेवुल पुछ्नेमा
विमान चढ्यो नमस्ते गर्नेमा
कार्यक्रममा पुग्यो माला लगाउँनेमा
रिसेप्सनमा पुग्यो ग्राहक लोभ्याउँनेमा
हरेक वाइकमा हेर्यो
तिमी पछिल्लो सिटमा
जहाँ तहीं स्वामिहरूकै वोलवाला !
मालिक र दासको बीच
कहिलै प्रेम हुदैन
त्यो तिमीले प्रेम ठानेको जिनिस
एउटा ऐतिहासिक भ्रम हो !
भो अव भो
यो त अति भयो अति
बाहिर पठाइदेऊ पतिदेवलाई
र भित्र्याऊ जीवन साथी !
२०७५|०४|२६
ढल्को