काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । ‘इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस तथा पुरस्कार तथा सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्य, नेता सीपी गजुरेल, सौन्दर्य चिन्तक निनु चापागाई, इच्छुककी जीवनसंगिनी तक्मा केसी लगायतले इच्छुकको बहुआयामिक व्यक्तित्वको विषयमा चर्चा गर्दै इच्छुकको शब्द र कर्मलाई क्रान्तिको उर्जा र उत्प्रेरणाको रुपमा ग्रहण गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।


इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा आयोजित सम्पन्न कार्यक्रममा प्रगतिवादी साहित्यको क्षेत्रमा योगदान गर्नुहुने चार जना स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरियो । कार्यक्रममा ‘इच्छुक स्मृति पुरस्कार– २०७९’ प्रगतिवादी धाराका स्थापित साहित्यकार रविकिरण निर्जीव र यज्ञबहादुर डाँगीलाई संयुक्त रूपमा प्रदान गरियो । ‘इच्छुक प्रतिभा पुरस्कार २०७९’ बाट विगत लामो समयदेखि साहित्यलेखन, खासगरी गीत र कवितालेखनमा क्रियाशील रहेर नेपाली वर्गीय आन्दोलनको संवेदनालाई अभिव्यक्त गर्दै आएका पोखरानिवासी काजीबाबु श्रेष्ठ (काजी गाउँले) र जनयुद्ध कालदेखि हालसम्म विशेषतः नृत्यतर्फ क्रियाशील भएर संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी रोल्पा निवासी कविता पुनमगरलाई पुरस्कृत गरियो ।


कार्यक्रमका प्रमुख अतिथि चैतन्यले पुरस्कृत हुने स्रष्टाहरुलाई माला, दोसल्ला, प्रमाणपत्र र परस्कार राशीसहित पुरस्कार प्रदान तथा सम्मान गर्नुभएको थियो ।


इस्मालीले स्वागत गरेको कार्यक्रममा पुरस्कृत स्रष्टाहरुको बारेमा प्रा.डा. ताराकान्त पाण्डेयले प्रकाश पार्नुभएको थियो । पुरस्कृत हुने स्रष्टाहरुले आफ्नो सिर्जना समेत प्रस्तुत गर्दै इच्छुकले देखाएको बाटोमा निरन्तर रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


सामना सांस्कृतिक परिवारका कालाकारहरुले इच्छुकद्वारा रचित ‘प्रतिबन्ध’लाई स्वागत गीतको रुपमा प्रस्तुत गरिएको कार्यक्रममा कवियत्री गौरी देवकोटाले इच्छुकको कविता वाचन गर्नुभएको थियो ।


कार्यक्रममा कवि बलराम तिमिल्सिनाले ‘उनी मरेका छैनन्’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।


इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कवि मित्रलाल पंज्ञानीले गर्नुभएको थियो । कार्यक्रममा इच्छुककी छोरी समिक्षा सेनको अतिथिको रुपमा उपस्थिति रहेको थियो ।


कार्यक्रममा राजनीतिक, साहित्यिक तथा पत्रकारिता क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर