मूल्यवृद्धिका विरुद्ध क्रान्तिकारी माओवादीद्वारा संयुक्त संघर्षको आव्हान

मूल्यवृद्धिका विरुद्ध क्रान्तिकारी माओवादीद्वारा संयुक्त संघर्षको आव्हान

काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा गिरावट, शोधनान्तर र व्यापार घाटा निकै बढिरहेका बेला निरन्तरको पेट्रोलियम पदार्थको मुल्यमा गरिएको उच्च मूल्यवृद्धिले दैनिक उपभोग्यवस्तुका साथै समग्र अर्थतन्त्रमा अर्को चुनौती थपिदिएको छ । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले मूल्यवृद्धि औसत ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएकामा पछिल्ला तीन महिनामा ७ प्रतिशतभन्दा माथि पुगिसकेको छ ।

सर्वसाधारणले उपभोग गर्ने प्रायः सामग्रीहरूको मूल्यवृद्धि साढे ७ प्रतिशतभन्दा बढी पुगेको छ । त्यसको उदाहरण इन्धन तथा सार्वजनिक सवारीसाधनको भाडा, खाने तेल, तरकारी, फलफूलमा आकाशिएको मूल्यवृद्धि हो । गत असार मसान्तमा पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ थियो, अहिले १७० रुपैयाँ पुगिसकेको छ । गत असारमा भुटेको तेल ३५० रुपैयाँ रहेकामा अहिले साढे ४ सय रुपैयाँ पुगिसकेको छ । त्यस्तै, काँचो तोरीको तेल २४० रुपैयाँ रहेकामा अहिले ३३० रुपैयाँ पुगिसकेको छ । दुई वर्षअघिसम्म प्रतिकिलो २ सय रुपैयाँमा पाइने कागतीको अहिले ४ सय रुपैयाँ पुगेको छ । यसको अर्थ सरकारी आँकडामा जेजति मूल्यवृद्धि भनिएको छ, वास्तविकता बेग्लै र भयावह छ ।

नेकपा (क्रान्तिकारी माओवादी)ले वितेका केही महिनादेखि अस्वाभाविक र अनियन्त्रित रुपमा बढेको बजार भाउको परिणामस्वरुप मजदुर, किसान, खुद्रा व्यापारी, न्यून वैतनिक कर्मचारी, विद्यार्थी लगायत कम आय भएका जनसमूह दिनको दुईछाक टार्ने समस्याले रन्थनिँदै आएको उल्लेख गर्दै मूल्यवृद्धि नियन्त्रण गर्न संयुक्त संघर्षमा उत्रन आव्हान गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टी पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता लिई त्यसको न्यूनतम मूल्य कायम गर्न र ग्यास, खाद्य तेल, तरकारी लगायतका दैनिक उपभोग्य वस्तुहरुको बजार भाउ नियन्त्रण गर्न सरकार समक्ष जोडदार माग गर्दछ । यस प्रकारका मागहरु पुुरा गराउनका लागि हाम्रो पार्टी संयुक्त रुपमा सङ्घर्षमा उत्रन सम्पूर्ण, क्रान्तिकारी कम्युनिस्ट, वामपन्थी, प्रगतिशील, देशभक्त तथा सच्चा जनतन्त्रका पक्षधर पार्टी समूह एवम् व्यक्तित्वहरुमा हार्दिक आह्वान गर्दछ ।”

वक्तव्यमा गत वैशाख ३१ गते भारी मात्रामा नेपाल सरकार र नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले यातायात लगायत सम्पूर्ण उपभोग्य वस्तुहरु अझ महङ्गो हुने निश्चित रहेको र आउने दिनमा महङ्गीको चक्र रोकिने स्थिति नदेखिएकोले संघर्ष अपरिहार्य रहेको भन्दै संघर्षका निम्ति आव्हान गरिएको हो ।

मूल्यवृद्धिको कारणबारे उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “सरकारले महङ्गी बढनुका पछाडि अन्तर्राष्ट्रिय कारण रहेको बताउँदै आएको छ । वस्तुतः यो आफ्नो जनविरोधी चरित्र, गैरजिम्मेवारी र असक्षमतालाई पर्दाहाल्ने कुतर्क बाहेक अरु केही होइन । सत्ता गठबन्धनका नेताहरु र सत्ता सञ्चालन गर्ने नोकरशाहहरुको मिलेमतोमा गरिने भ्रष्टाचार तथा कमिसन चक्रिय रुपमा भइरहने मूल्य बृद्धिको प्रमूख कारण हो । पछिल्लो मूल्यबृद्धि स्थानीय चुनाव खर्चका लागि चन्दाका रुपमा दिएकोे रकम असुल गराउन सरकार र ठुला व्यापारीका बीच गरिएको मिलेमतोको परिणाम हो । महङ्गी र जनताका समस्याप्रति सरकार यदि सम्वेदनशील थियो भने नेपाल आयल निगमबाट राज्यले लिने कर घटाएर पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन सरकार किन तयार हुँदैन ? सत्तामा रहनेहरु मोटाइरहने र भ्रष्टाचार गरेको रकम तथा चुनावी खर्चको गह्रुङ्गो भारी जनतालाई बोकाइरहने संसदीय सत्ता, व्यवस्था र त्यसका शासकहरुको हाम्रो पार्टी तीव्र विरोध गर्दछ ।”

५ जेठमा जारी गरिएको वक्तव्यको अन्तमा भनिएको छ, “नेपालको वर्तमान सत्ता र व्यवस्था सीमित दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गको स्वार्थ रक्षागर्ने राजनीतिक हतियार हुन् । यो सत्ता तथा व्यवस्था अन्तर्गत कुनै पनि सरकारले देश र जनताको पक्षमा काम गर्न सक्दैन । हाम्रो पार्टीले देशको राष्ट्रिय स्वाधीनता र जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका लागि यो सत्ता एवम् व्यवस्थाका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको छ । नयाँँ जनवाद हुँदै वैज्ञानिक समाजवाद तथा साम्यवाद नै विद्यमान सत्ता तथा व्यवस्थाको एकमात्र विकल्प हो । उक्त उद्देश्य प्राप्त गर्नका लागि हाम्रो पार्टी सङ्घर्षमा अगाडि बढिरहने दृढता व्यक्त गर्दछ ।”

त्यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले पनि एक वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता गर्न र महंगी नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारसित जोडदार माग गरेको छ ।

यसैबीच, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी)को प्रदेश तीन र प्रदेशमा कार्यरत सम्बद्ध जबस–मोर्चाको संयुक्त आयोजनामा नेपाल आयल निगमको कार्यालयमा धर्ना दिएको छ । ‘तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, काला बजारियाहरुलाई कारबाही गर, बढ्दो महंगी नियन्त्रण गर, भिआइपीको नाममा दिइरहेको पेट्रोलियम सुविधा बन्द गर, निगमका कर्मचारीहरुको अनावश्यक बोनस सुबिधा बन्द गर, जनघाती, राष्ट्रघाती सरकार मूर्दावाद, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद’ लगायतका नाराहरुसहित त्रिपुरेश्वरबाट निस्केको ¥याली टेकुस्थित नेपाल आयल निगमको गेटमा पुगेर धर्ना तथा कोणसभामा परिणत भएको थियो । धर्ना कार्यक्रमलाई जबस मोर्चाका प्रदेश ३ का नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

अखिल (क्रान्तिकारी)की उपाध्यक्ष तथा प्रदेश ३ की संयोजक शिलु न्यौपानेले सञ्चालन गरेको धर्ना तथा कोणसभालाई क्रान्तिकारी युवा लिगका उपाध्यक्ष तथा प्रदेश ३ का संयोजक केशव ढलकोटी, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष गोर्की श्रेष्ठ, नेपाल दलित मुक्ति मोर्चाका संयोजक टेकबहादुर विक, अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष प्रेम तामाङ, अलि नेपाल किसान महासंघ (क्रान्तिकारी)का प्रदेश संयोजक शेखर उपाध्याय, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका प्रदेश संयोजक अर्जुनलाल श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन र बढ्दो महंगी नियन्त्र गर्न जोडदार रुपमा माग गर्नुभएको थियो ।

यसअघि, क्रान्तिकारी माओवादी सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को पहल र नेतृत्वमा चार विद्यार्थी संगठनले पनि आयल निगमको गेटमा पुगेर मूल्यवृद्धिका विरुद्ध विरोध प्रदर्शन गरेका थिए । अखिल (क्रान्तिकारी)ले एकल रुपमा पनि त्रिपुरेश्वरदेखि आयल निगमसम्म विरोध ¥यालीसहित पदर्शन समेत गरेको थियो ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिर नवलपरासी लगायतका जिल्लाहरुमा पनि बढ्दो महंगी, कालोबजारीको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ । कार्यक्रममा कालो ब्यानर, झण्डासहित पार्टी तथा जबस मोर्चाहरुका झण्डाहरुको समेत प्रयोग गरिएको थियो । कार्यक्रमलाई लक्षित गरी सरकारले ठूलो संख्यामा प्रहरी समेत परिचालन गरेको थियो ।

क्रान्तिकारी माओवादीले महंगी, कालोबजारी लगायत समग्र बजारभाउ नियन्त्रणका लागि देशव्यापी संघर्षको तयारी गरेको छ ।
मूल्यवृद्धिको मारले थिलथिलिएका जनताको जनजीवन अस्तव्यस्त भइरहँदा संसदवादी दलहरु भने तिखेर चुनावी परिणामको जोडघटाउमै मग्न रहेका छन् । उनीहरु जनताको दयनीय अवस्थाप्रति रतिभर पनि संवेदनशील देखिएका छैनन् । निर्वाचनमा गरिएको खर्चको असुल उपचर गर्न उद्योगी, व्यापारी, कालाबजारी, माफिया र सरकारको मिलेमतोमा निर्वाचन सकिएकै भोलिपल्ट एकैपटक १० रुपैयाँ मुल्यवृद्धि गरिएको छ । त्यसको केही दिन नवित्तै पुनः १० रुपैयाँ बढाएर पेट्रोलको मूल्य १८० प्रति लिटर पु¥याइएको छ भने ग्याँसको मूल्य प्रति सिलिण्डर १८०० पु¥याइएको छ ।