विप्लव नेतृत्वको नेकपा विभाजित— हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला पक्षद्वारा नयाँ पार्टी घोषणाको तयारी

विप्लव नेतृत्वको नेकपा विभाजित— हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला पक्षद्वारा नयाँ पार्टी घोषणाको तयारी

बैशाख १४ काठमान्डौ ।
नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेपछि पार्टी विभाजन भएको हो । यद्यपि, पार्टी विभाजनको औपचारिक घोषणा भने हुन बाँकी छ । कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेका छन् । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरुको सचिवालय बैठकले ओली र बास्तोलालाई निष्काशन गरेको हो । बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए ।
‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रुपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरूसँग छलफल गरियो’, विप्लवले बुधबार जारी गरेको विज्ञप्तिमा भनेका छन् । ‘सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकोले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ ।’
महासचिव विप्लवले आफुहरु पार्टीमा यस्तो नहोस् भन्ने चाहँदा चाहँदै विभिन्न तत्वहरुको उक्साहटमा मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय गर्न बाध्य भएको उल्लेख गरेका छन् । ‘तथापि हामी सबै पार्टी पङ्क्तिलाई बाह्रौं पूर्ण बैठकका पारित प्रस्ताव र निर्णयहरुलाई रक्षा र कार्यन्वयन गर्दै निरन्तर अगाडि बढ्न विशेष अपिल गर्दछौं’, विप्लवले भनेका छन् ।
हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला पक्षद्वारा नयाँ पार्टी घोषणाको तयारी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट निष्काशन भएपछि हेमन्तप्रकाश ओली ‘सुर्दशन’ र धर्मेन्द्र बास्तोला नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् । सो पक्षको बैठक बुधबार बिहान ललितपुरमा बसेको छ ।
आजै बिहान कपिलबस्तुको शिवगढीमा बसेको विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्षको बैठकले ओली र बास्तोलालाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो । निर्णयलगत्तै कारबाहीमा परेका पक्षले बैठक बसेको हो । उनीहरुले छुट्टै पार्टी बनाएर आजै घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
पार्टी केन्द्रीय समितिमा ओली र बास्तोला पक्ष बहुमतमा थिए । पार्टी विभाजन भएपछि कसको पक्षमा कति हुन्छन् भन्ने एकिन हुन सकेको छैन् । यद्यपि ओली र बास्तोला पक्षले पनि विप्लव सहित प्रवक्तालाई कारवाही गर्ने तयारी गरेका छन ।