कृपया ध्यान दिनु होला
संसदवादी भाइरस
दलवल सहित आउदै छ
हाम्रा घर घरमा !
भाइरसका
थरि थरिका भेरियन्टहरू
थरि थरि रोग बोकेर आउदै छन।
ती कोही
लाल सलाम भन्दै
कोही जय नेपाल भन्दै
कोही
फलानो आऊ देश बचाऊ भन्दै
कोही एक्ला एकै
कोही पुच्छर जोडेर
सङ्क्रमण बोकेर आउदै छन
कृपया ध्यान दिनु होला ।
तपाईको भोट किन्न
नमस्ते गर्दै
आँगनमा आउने अनुहार
हाम्रो जमानाकै
सबैभन्दा घृणित
सबैभन्दा खुङ्खार
सबैभन्दा कपटी
र सबैभन्दा लुटेरा अनुहार हुने छ ।
तिनीहरूले ल्याउने
घोषणापत्र नामको कागज
सबैभन्दा सङ्क्रामक जिनिस हुने छ
कृपया ध्यान दिनु होला
तिनीहरूले ल्याएको कागज
नानीहरूलाई
चङ्गा बनाउन पनि नदिनु होला
नानीहरू सङ्क्रमित हुने छन
र देश बेच्न सिक्न थाल्ने छन
तिनीहरूले ल्याएको कागजले
तपाईले दिसा पनि नपुछ्नु होला
तपाई सङ्क्रमणको सिकार हुनु हुने छ
तिनीहरू गैसकेपछि
तिनीहरूको कागज
सिधै अँगेनामा हाल्नु होला
र पटक पटक
मिची मिची हात धुनु होला ।
२०७९ चैत्र १४