रोल्पाले
आफ्ना छोराछोरी
जनयुद्धमा बलिदान गर्यो
दुश्मनको यातना सह्यो
संगिनमा आफुलाई झुन्ड्यायो
तर पनि सकेन दुश्मनले
गोलिले आस्था ढलाउन
आगोले विश्वास पोल्न
बमले बस्तिका बस्ती उडाउदा पनि
रोल्पा ठिङ्ग उभियो
क्रान्तिको पक्षमा
र
जलजला भन्दा अग्लो
विश्वास , विचार , हिम्मत
बलिदान र आत्मसम्मनको
एउटा नयाँ टावर खडा गर्यो
क्रान्तिको प्रचण्ड टावर ।
कमरेडले भिजन छोडे
जनयुद्ध छुट्यो
कमरेडले रोल्पा छोडे
जनमुक्ति सेना छुट्यो
जनकम्युन भताभुङ्ग भयो
पार्टी लथालिङ्ग पारे
सहिदहरु मरेका मान्छे दरिए
बेपत्ता हरु बेपत्तै रहे
घाइते र अपांग
शरिरमा सग्लो गोलि बोकेर
आधा जीवन बाची रहे
साथ छुट्यो
माओवाद छुट्यो
जनवाद छुट्यो
सबै सबै छुटे पछि
रेडबुक साक्षी राखेर कमरेडले
श्रीमद भागवत महायज्ञ लगाए ।
एक दिन इच्छा भयो
आफ्नो बिगत हेर्न
कमरेडले जलजला जत्रै डाडामा
अग्लो भ्यु टावर ठड्याए
उक्लिएर हेरे
मनमा डर थियो
कतै देखि पो हाल्छ कि भनेर
तर कतै देखिएन
अहँ कतै देखिएन
जनमुक्ति सेनाले परेड खेलेको
जुनि कम्युन उहिल्यै ढली सकेछ
खारामा रगतको खोलो सुकेछ
थवाङको जनसत्ता बेखबर छ
घाइतेहरूको कुनै घाउ देखिएन
इतिहासका पाना नदेखेपछी
कमरेडले सन्तोषको लामो सास फेरे
जनमुक्ति सेनाको शालिकलाई
मुठ्ठी उठाएर ढोगे
केही देखिन्छ कि भनेर
दुरबिन झिकेर हेरे
धमिलो धमिलो देखे
संसद भवन
तर देखेनन
सल्किदै गरेका राँकोहरु ।































