दार्चुला । भारतले बिहीबार पनि महाकाली नदीको बहाव नेपालतर्फ फर्काउन थालेपछि स्थानीय नेपाली जनताले ढुंगामुढा गरेर प्रतिरोध गरेका छन् ।
एक्स्काभेटर लगाएर जिल्ला सदरमुकामस्थित बंगाबगरको पारिपट्टी नदीको बहाव बंगाबगरमा निर्माण भएको तटबन्धमा लगाएपछि स्थानीयले ढुंगा हानेर काम रोकेका थिए । महाकालीको बीच नदीमा आएर पानीको बहाव नेपाल फर्काएको छ ।

बंगाबगरका एक स्थानीयका अनुसार पानीको बहाव नेपाल फर्काईसकेको छ । करिब एक सय मिटर क्षेत्रमा महाकाली साँघुरो बग्ने र नदीको धार नेपालतिर फर्काएको हो । बीच नदीमा आएर काम गरिरहेको अवस्थामा स्थानीयले वारिबाट ढुंगा हानेपछि एक्स्काभेटर पारितिर लगेर काम रोकेका छन् । कोही नभएको मौका छोपेर विस्तार–विस्तारै नदीको नेपालतर्फ फर्कारहेको ती स्थानीयले बताए ।


स्थानीयले ढुंगा हान्न थालेपछि अहिले नेपालका सशस्त्र प्रहरी र नेपाल प्रहरी नदी छेउमा खटाइएका छन् । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी भारतीय पक्षले काम गरिसकेपछि मात्र पुग्ने गरेको स्थानीयको गुनासो छ ।

अहिले उक्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक माधव विश्वकर्माको नेतृत्वमा प्रहरी परिचालन गरेको छ । भारतले पनि एक्स्काभेटर आफ्नोतिर लगेर काम रोकेको प्रहरीले जनाएको छ ।

त्यस्तै मंगलबार पनि लास्कु खोला नजिक भारतीय पक्षले महाकालीको वारि नदी किनार आएर बहाव परिवर्तन गर्न खोज्न थालेपछि बंगाबगरका स्थानीयले ढुंगा हानेका थिए । त्यसको प्रतिकारमा भारत खोतिला क्षेत्रका नागरिकले नेपालतर्फ पनि ढुंगा प्रहार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर