सडक सङ्घर्षमा होमिन महिला नेताहरूको आह्वान

सडक सङ्घर्षमा होमिन महिला नेताहरूको आह्वान

ईश्वरीप्रसाद गैरे
तुलसीपुर÷ दाङको तुलसीपुरमा ११२आँै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा रहेको छ वटा कम्युनिस्ट पार्टी र दुईवटा मोर्चामा आवद्ध छ वटा महिला सङ्गठनहरूको संयुक्त आयोजनामा श्रमिक महिला दिवस मनाइएको हो ।

संसारका श्रमिक उत्पीडित महिलाहरू एक हौँ, महिलामाथि हुने सम्पूर्ण हिंसा बन्द गर, अपराधीहरूलाई कडा कारबाही गर, महिला हिंसा गर्नेहरूलाई सम्रक्षण गर्ने सरकार मूर्दावाद, एमसीसी सम्झौता खारेज गर, साम्राज्यवाद विस्तारवाद मूर्दावाद, बीर सहिदहरू लाल सलाम आदि गगनभेदी नारा लगाउँदै तुलसीपुरको अरनिको मैदानबाट बाजागाजा सहित नगर परिक्रमा गरी बिपि चोकमा आमसभामा परिणत भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको विशेष कमिटी सदस्य एवम् पूर्ब साँसद सीता बि.क.(सम्झना)ले नेपालीहरूको बिरताको इतिहास, स्वाभिमानी नेपाली इतिहास कायम गर्न श्रमजीवी मुक्तिकामी महिलाहरू सडकमा आन्दोलित हुनुपर्ने आवस्यक रहेको बताउनुभयो । उहाँले नेपालीहरूको इतिहास मागेर खाने इतिहास नभएको समेत जिकिर गर्नुभयो ।

नेतृ सम्झनाले भन्नुभयो, ‘नेपालीको इतिहास कसैको पाउ मोलेर, गुलामी गरेर खाने इतिहास होइन । नेपालीको इतिहास सङ्घर्ष गरेर आफ्नै श्रम पसिनामा बाँच्ने इतिहास हो ।’

यसैगरी अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की केन्द्रीय सदस्य शुसिला आचार्यले नारी दिवसको अबसरमा सम्पूर्ण मुक्तिकामी बिराङ्गनाहरूको सङ्घर्षको इतिहासले हामीलाई बोल्न, लेख्न, राजनीतिक अधिकार स्थापित गरे पनि समाजमा श्रमजीवी महिलाहरू अपहेलित हुनुपरेको विचार व्यक्त गर्नुभयो । नेतृ सुशिलाले अगाडी भन्नु भयो ‘नेपालमा अझै पनि समान कामको समान ज्याला नभएको, घरको चारदिवारबाट महिलाहरूलाई बाहिर निस्कन नदिएको, सत्ताका अङ्गहरूमा महिलालाई मुख्य भूमिकाको जिम्मेवारी नदिएको आदि जस्ता अनेकौँ विभेद कायमै रहेकोले समाज रुपान्तरणका लागि नेपाली महिलाहरू हरेक आन्दोलनमा जुझारु ढङ्गले लड्नु पर्छ ।’

आफ्नो मन्तव्यका क्रममा आचार्यले भर्खरै मात्र नेपालको संसदबाट षड्यन्त्र, छलछाम र होहल्लाका बिच छलफल नै नगराई राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरेर संसदवादी दलहरूले देश र जनताको लागि ठुलो धोका दिएको भताउनु भयो । उहाँले अब एमसीसी सम्झौतालाई सडकबाट जनताको बिद्रोहले बढार्नुपर्ने कुरा राख्दै आगामी दिनहरू सहज नभएको हुदा सङ्घर्षमा होमिन सम्पुर्ण जनतालाई अपिल गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कमला जि.स.ले शुभकामना मन्तब्य दिदै दलालहरूले देश बेचिरहेकाले स्वाभिमानी नेपालीहरूले सङ्घर्षबाट राष्ट्रघातीहरूलाई ठेगान लगाउनुपर्ने कुरामा जोड दिनुभयो ।

उक्त कोणसभालाई अनेमसङ्घका केन्द्रीय सदस्य पूर्णिमा आचार्य, शान्ति समाज दाङकी जिल्ला सचिव निर्मला डाङ्गी, अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य अशोका लगाएतले मन्तब्य दिनु भएको थियोे । कार्यक्रम अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को जिल्ला अध्यक्ष हेमन्ता घिमिरेको अध्यक्षतामा भएको थियो भने सञ्चालन अनेमसङ्घ क्रान्तिकारी जिल्ला संयोजक रेखा रोकाले गर्नुभएको थियोे ।