काठमाडौं । दार्चुलामा महाकाली नदीनै थुनिनेगरी इण्डियाले तटबन्ध बनाइरहेको छ । दार्चुला सदरमुकाम क्षेत्रभित्र महाकाली नदीमा इण्डियन पक्षबाट नदीको प्रवाह प्रभावित हुनेगरि तटबन्ध निर्माण गरिरहेको हो । इण्डियन बाँधका कारण ०७० सालको बाढीबाट दार्चुला सदरमुकाम लगायत अन्य क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । अहिले पनि इण्डियाले नेपालतिर नदीको बहाव फर्काउने गरी भइरहेको तटबन्धले फेरि पनि सदरमुकाम खलंगा जोखिममा पर्ने स्थिति बनेको छ ।
अहिले इण्डिया सरकारले पुराना तटबन्ध निर्माण गरेको ठाउँभन्दा ७ देखि १० मिटरसम्म भित्र नदी क्षेत्रमा तटबन्ध निर्माण कार्य संचालन गरिरहँदा नदीको प्रवाहमा असर पर्ने र भविष्यमा ठुलो जनधनको क्षति हुने सम्भावना रहेको जिल्लाबासीले गुनासो गरेका छन् । सिमा नदीमा तटबन्ध निर्माण गर्दा निश्चित अन्तराष्ट्रिय मान्यताहरु पालना गर्नुपर्नेमा सो नगरि एकतर्फी रुपमा तटबन्ध निर्माण कार्य संचालन भइरहेकोले अहिलेको अवस्थामा उक्त कार्य रोक्न पहल गर्न पनि सरकारलाई दार्चुलाबासीहरुले सरकारलाई आग्रह गरेका छन् ।
इण्डियाले सीमावर्ती क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन र त्यस्ता संरचना बनाउनै नदिन सरकारबाट बलियो कुटनीतिक पहल नहुँदा इण्डियाले दार्चुला लगायत सीमा क्षेत्रमा पटक पटक बलमिच्याई गर्दै आइरहेको छ । इण्डियाले दार्चुलाको सदरमुकाम खलंगापारि महाकाली नदीको प्राकृतिक बहाव रोक्न अहिले सवा अर्ब रुपैयाँ लागतमा १ किमि लम्बाइ र ९ मिटर उचाइको पक्की तटबन्ध बनाउन सुरु गरेको छ ।
इण्डियन उत्तराखण्ड सिंचाइ विभागको लगानीमा नेपाल इण्डिया जोड्ने झोलुङ्गे पुलदेखि जहरलालसिंह नवियाल स्टेडियम नजिकै घट्टेखोलासम्म तटबन्ध बनाउन अहिले डोजर प्रयोग गरिएको छ । डोजरले अहिले तटबन्ध बनाउने क्षेत्रमा ढुङ्गा गिट्टी संकलन, बालुवा निकाल्ने तथा आफ्नो क्षेत्रको तडबन्ध बनाउन जग बनाउने काम गरिरहेको छ ।
८० करोड भारुमा तटबन्ध निर्माण सक्ने गरी इण्डियन अरुण कन्स्ट्रक्सन कम्पनीले यो क्षेत्रमा काम सुरु गरेको छ । इण्डियाले एकतर्फी रूपमा बनाइरहेको तटबन्धका कारण वर्षायाममा नदीको बहाव नेपालतर्फ फर्केर ठूलो क्षति पुग्न सक्ने भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।
अन्तर्राष्ट्रिय सीमा सन्धिले एकअर्कालाई प्रतिकूल असर पर्ने र नदी तथा खोलाको प्राकृतिक धार परिवर्तन हुने गरी कुनै पनि देशले संरचना बनाउन नपाइने उल्लेख छ । संरचना बनाउनै पर्ने अवस्थामा दुवै देशको सहमति आवश्यक पर्छ । यसअघि नेपाल सरकारले तटबन्ध निर्माणको क्रममा इण्डियन पक्षको समेत सहमति लिएर पक्की तटबन्ध बनाएको हो ।
इण्डियाको समेत सहमति लिएर पक्की तटबन्ध बनाउँँदा समेत इण्डियाले पटकपटक तटबन्ध बनाउन अवरोध पुर्याएको थियो । उसले तटबन्ध निर्माणको क्रममा माइकिङ गर्दै तटबन्ध नबाउन तथा ढुंगामुढासमेत नेपालीमाथि गरेको हो । तर अहिले इण्डियाले दार्चुला सदरमुकाम खलंगाबाट केही सय मिटर मात्रै पारि धार्चुलाबाट महाकाली नदीको धार नेपालतर्फ फर्काउन पक्की तटबन्ध बनाइरहेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले महाकाली नदीको प्राकृतिक धारलाई असर पुग्ने गरी इण्डियाले समन्वयबीना तटबन्ध बनाएको विषयमा गत शुक्रबार जिल्ला सुरक्षा समिति बैठकबाट निर्णय गराएर गृह मन्त्रालयमा जानकारी पठाएको बताए । तर यस विषयमा गृहमन्त्रालय तथा देउवा सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।