यात्रा उकालोतिर !

यात्रा उकालोतिर !

 
केही महसुस हारका
केही महसुस थकानका
केही निराशाका
केही हीनताबोधका
केही विभ्रममा
केही चिन्तामा
केही चिन्तनमा
यस्तै यस्तै बिते केही साल !
उस्तै उस्तै लाग्ने
तर भिन्न भिन्न दिशा पक्रेका बाटाहरू
लमतन्न थिए मेरा अगाडि
वायाँतिर थियो
अप्ठेरो तर गन्तव्यतिर जाने बाटो
जुन बाटो छोडेर
कैयन चाओ तथा चुतेहहरू
कैयन लुसुन र गोर्कीहरू
लुसुक्क लागेका थिए
भोज चलिरहेको आँगनमा पुग्ने
दायाँतिरको चम्किलो बाटो !
दुवैतिरबाट थियो- निरन्तर निमन्त्रणा
वायाँपट्टीबाट
हरायो भनिएको नानीलाई
भेट्टाउँदाका बखत
आमाले बोलाएजस्तो
मायालु निमन्त्रणा थियो
दायाँपट्टीबाट
एक्लै हिडेकी युवतीलाई
आवारा केटाहरूले
जिब्रो पड्काउँदै
सिठ्ठी बजाउँदै
तिघ्रा ठटाउँदै
कोटबाट नोट निकालेर हम्कदै
र अश्लिल इशारा गर्दै बोलाएजस्तो
रस-रङ्ग सहितको निमन्त्रणा थियो !
यस्तै यस्तै भोग्दै
दिक्क मान्दै सोच्दै
बिरक्त मान्दै सोच्दै
केही छटपटी
केही हुटहुटी
र केही पुराना सपनाहरूको कुटुरो बोकेर
मैले फेरि उकालो लाग्ने शङ्कल्प गरें !
साँक्षी राखेर
एउटा बुढो तर ठिङ्ग उभिएको सतिसालको रुख
जसलाई ढलाउन कैयन आँधी आए
तर ऊ ढलेन
जसलाई गलाउन कैयन प्रयत्न भयो
तर ऊ मरिगए गलेन
कैयन पटक सिक्रो देखिदा ऊ
धेरैले भने- ‘अब सतिसालको रुख सुक्यो !’
तर उसले पालुवा हाल्न छोडेन
हो त्यही सतिसालको रुखलाई साँक्षी राखेर
मैले एक पटक फेरि यात्रा थाल्ने कसम खाएँ !
न नियुक्तिको हतारो
न पिविएम बन्ने चटारो
न कसैलाई छिर्के हानेर लडाउने दाऊ
न कसैलाई खुइल्याएर चम्किलो देखिने ध्याउन्ना
यी सबै कुरालाई
इतिहासको चिहानमा गाडेर
यी सबै कुराहरू
महाजन कमरेडहरूलाई नै उपहार छाडेर
प्रेमपूर्वक मागेर
मजदूरहरूसँग साहस
किसानहरूसँग धैर्य
उत्पीडितहरूसँग आगो
र सहिदहरूसँग बाटोको नक्शा
मैले फेरि प्रण गरें हिड्न भनेर
अगम्य अक्करको बाटो !
**************
२०७८ माघ ४
माइतीघर,काठमाण्डौ