कोभिड–१९ विरुद्ध जुध्न अविलम्ब सर्वपक्षीय संयन्त्र निर्माण गर्न क्रान्तिकारी माओवादी काठमाडौंको जोडदार माग

कोभिड–१९ विरुद्ध जुध्न अविलम्ब सर्वपक्षीय संयन्त्र निर्माण गर्न क्रान्तिकारी माओवादी काठमाडौंको जोडदार माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौं जिल्ला समितिले एक प्रेस वक्तव्य जारी गर्दै कोभिड–१९ विरुद्ध जुध्न अविलम्ब सर्वपक्षीय संयन्त्र निर्माण गर्न सरकारसँग जोडदार माग गरेको छ । सो पार्टीका जिल्ला इन्चार्ज सरु र सेक्रेटरी अमरको संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा कोभिड–१९को तेस्रो लहरको रुपमा देखिएको ओमिक्रोन महामारीसँग सामुहिक रुपले लडेर समग्र जनजीवनको रक्षा गर्नका निम्ति काठमाडौं जिल्ला स्तरीय सर्वपक्षीय संयन्त्र निर्माण गर्नका लागि जोडदार माग गरिएको हो ।

वक्तव्यमा भनिएको छ, “कोभिड–१९ को पहिलो र दोस्रो चरणमा जस्तै यो तेस्रो चरणमा पनि काठमाडौं हटस्पट बन्दै गएको कुरा सर्वविदितै छ। कोभिड–१९ का सामु काठमाडौं जिल्ला प्रशासन र जनप्रतिनिधिमूलक संस्थाहरु निकम्मा र निस्प्रभावी बन्दै गइरहेको अवस्था छ । जनता एकातिर आर्थिक अभावको कारण लक्षण देखिएर पनि कोभिड परीक्षण गर्न सकिरहेका छैनन् । कोभिड पुष्टि भएकाहरु उपचार गर्न सकिरहेका छैनन् । अर्कातिर जनता अस्पताल तथा आइसोलेशनमा छटपटाइरहेका छन् तर राज्यका जिम्मेवार निकायहरु जुटेर होइन फुटेर एकअर्कामाथि दोष थोपरेर बसिरहेका छन् । यो परिस्थितिमा जनजीवनको रक्षाको निम्ति जनस्तरबाट पहल लिनु अत्यावश्यक भइसकेको छ ।”