
चितवन । चितवनको माडी नगरपालिका वडा नं. ७ गोपालपुर माछापालनको पकेट क्षेत्रको रुपमा विकसित छ । उक्त क्षेत्रमा माछा व्यवसाय गरिरहेका ३५ वर्षका नवयुवा प्रकाश नेपाल क्षेत्री विगत ५ वर्षदेखि अढाई विघामा माछापालन गरिरहेका छन् । करिब वार्षिक सात लाख लगानी गरिरहेका उनी दैनिक आठ क्विन्टल माछा पोखरा र काठमाडौंमा सप्लाई गर्दछन् । उनका एक श्रीमती सुस्मिता नेपाल र दुई छोराछोरी छन् । ७ वर्षको साउदी अरबको तातो घाममा काम गरेको अनुभव पनि छ नेपालसँग । स्वदेशमै सुन फलाउने आशामा नेपाल फर्केका उनले आफ्नो दुखेसो यसरी पोखे, “झोलामा फाईल निर्माण गरेर अनुदान खाने झोलेहरुको बिगबिगी र वास्तविक माछा किसानहरूको पक्षमा नीति निर्माण र सहुलियतपूर्ण दरमा कृषि सामाग्रीको व्यवस्था नभएको दर्दनाक अवस्था छ ।” हाल माछाको थोक मूल्य सिल्भर कार्प माछा रु.२६० तथा रहु, नैनी, कमन ग्रास र बिग हेड माछाको मुल्य रु. ३१० छ । माछाको उचित मुल्य र व्यवस्था राज्यले गरिदिए हुन्थ्यो भन्ने उनको भनाइ छ ।

यस्तै यसै क्षेत्रमा करिब दुई दशकदेखि माछा व्यवसाय गरिरहेका किसान ऋषिराम निरौलाले करिब दुई बिघा क्षेत्रफलमा माछापालन गरिरहेका छन् । उनको एक श्रीमती तुलसी निरौला र दुई छोराछोरी र वृद्ध आमा छन् । छोरा रञ्जित सरकारी स्कुलमा कक्षा ६ मा र छोरी रजनी शिक्षा संकायमा स्नातक पढ्दैछन् । माछा किसान ऋषिराम भन्छन्, “लगानी गरेअनुसार सोचेर दुःख गरेकोमा सोअनुसारको मुनाफा नपाईने साथै वर्षामा गोही र हिउँदमा साईबेरियन चरा तथा जंगली हाँसबाट माछाका भुराहरु जोगाउने समस्या रहेको छ ।” श्रीमान् मलेसियाबाट फर्केर यस पेसामा हँुदा आफू खुशी रहेको श्रीमती तुलसी निरौलाले बताईन् । उनी महिला साना किसान कृषि सहकारी संस्था किर्तनपुर–७ कि उपाध्यक्ष समेत छन् ।

त्यस्तै करिब १ बिघा क्षेत्रफलमा माछापालन गरिरहेका किर्तनपुर–७ का माछा किसान हुन् उपेन्द्र प्रसाद निरौला। स्थानीय आधारभुत विद्यालय दक्षिण कालिका देवेन्द्रपुरमा शिक्षक समेत छन् उनी । उनको एक श्रीमती जया निरौला र दुई छोरीहरू छन् । दुई छोरीहरु सरकारी स्कुलमा क्रमशः कक्षा नौ र बाह्रमा अध्ययनरत छन् । उपेन्द्र निरौला भन्छन्, “ समयमा रासायनिक मल, माछाको दानाको अभाव, वर्षामा माछालाई उचित अक्सिजनको कमी, प्रायः जेठदेखि भदौसम्म आकस्मिक रुपमा मरेका माछाको व्यवस्थापनमा समस्या रहेको छ ।” यसमा उनले थप्दै भन्छन्, “ देशको उच्च प्रशासनमा रहेका पदाधिकारी सिडियोबाट समेत माछाको मुल्य बढी रहेको कालोबजारी रहेको भनेर समाचारमा सुन्दा आफुहरु छाँगाबाट खसेजस्तो अनुभव भयो ।”
माछा किसान एवम् व्यवसायी योगेन्द्र प्रसाद निरौला जसले करिब एक बिघा क्षेत्रफलमा माछापालन गरिरहेका छन्। उनले भने,“ स्वास्थ्यका दृष्टिकोणले यति फाइदाजनक माछाको मूल्य यति कम हुदा पनि उपभोक्ताले खोलाको माछा सम्झेर खान हिच्किचाउनु विडम्बना रहेको छ हाम्रो समाजमा ।” उनी दैनिक करिब आधा क्विन्टल माछा व्यापार गर्ने गर्दछन्। देश संघीय लोकतान्त्रिक गणतन्त्र भईसक्दा पनि माछा किसानका समस्या राज्यले सम्बोधन गर्न नसकेकोमा उनी छक्क र दिक्क छन् ।





























