
पौष २४ काठमान्डौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेको भिडियो हालै सार्वजनिक भएको छ । जसमा उनले तिब्बतको मानसरोवर पुुग्नका लागि लिपुलेकसम्म सडक विस्तार भइसकेकोे भनी त्यसको निर्लज्ज उद्घोष गरेका छन् । तर नेपाली भूमिमा भारत सरकारले सडक निर्माण गरेको विषय सार्वजनिक हुँदा समेत पाँच दलीय गठवन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारले यसको कुनै प्रतिवाद नगर्नु र अतिक्रमित भूमि फिर्ता गराउन कुनै पहल नगर्नु नेपाली शासक वर्गको राष्ट्रिय आत्मसमर्पणवादी चरित्रको अभिव्यक्ति हो ।
नेकपा (क्रान्तिकारी माओवादी)ले उनको यो अभिव्यक्तिलाई भारतीय प्रधानमन्त्री मोदीको विस्तारवादी मानसिकता र चरम दादागिरीको अभिव्यक्ति हो भन्दै एक प्रेसवक्तव्यमार्फत विरोध गर्दै भारत सरकारसँग लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको सम्पूर्ण अतिक्रमित नेपाली भूमि अविलम्ब फिर्ता गर्न जोडदार माग गरेको छ । प्रेसवक्तव्यमार्फतको पूर्ण पाठ तल दिइएको छ ः
प्रेसवक्तव्य
भारतको उत्तराखण्डको कुनै ठाउँमा आयोजित एउटा खुला जनसभाको कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेको भिडियो हालै सार्वजनिक भएको छ । उक्त भिडियोमा उनले तिब्बतको मानसरोवर पुुग्नका लागि लिपुलेकसम्म सडक विस्तार भइसकेकोे भनी त्यसको निर्लज्ज उद्घोष गरेका छन् । यो भारतीय प्रधानमन्त्री मोदीको विस्तारवादी मानसिकता र चरम दादागिरीको अभिव्यक्ति हो । हाम्रो पार्टी यसलाई पूर्णतः खारेज गर्दछ र एउटा सार्वभौमसत्ता सम्पन्न देशको भौगोलिक अखण्डताको सम्मान गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको सम्पूर्ण अतिक्रमित नेपाली भूमि अविलम्ब फिर्ता गर्न भारत सरकारसँग जोडदार माग गर्दछ ।
नेपाली भूमिमा भारत सरकारले सडक निर्माण गरेको विषय सार्वजनिक हुँदा समेत नेपाल सरकारले त्यसको कुनै प्रतिवाद नगर्नु र अतिक्रमित भूमि फिर्ता गराउन कुनै पहल नगर्नु नेपाली शासक वर्गको राष्ट्रिय आत्मसमर्पणवादी चरित्रको अभिव्यक्ति हो । हाम्रो पार्टी यसको घोर निन्दा एवम भत्र्सना गर्दछ । साथै, नेपाली राष्ट्रिय स्वाधीनताका विरुद्ध मोदीले सार्वजनिक रुपमा बोलेको विषयमा खुला आत्मालोचना सहित नेपाली भूमि फिर्ता गराउन नेपाल सरकारले भारत सरकार समक्ष अविलम्ब कूटनीतिक पहल बढाओस् भन्ने माग गर्दछ ।
हाम्रो देश नेपाल लामो समयदेखि साम्राज्यवाद र मुख्यतः भारतीय विस्तारवादी हस्तक्षेपबाट पीडित रहँदै आएको छ । भारतीय हस्तक्षेप र नेपाली शासक वर्गको लम्पसारवादी चरित्रका विरुद्ध नेपाली जनताले निरन्तर चलाउँदै आएको देशभक्तिपूर्ण सङघर्षका कारण आजसम्म हामीले नेपाली भएको गर्व गर्न पाएका छौं । वाह्य हस्तक्षेप बढ्दै गएको र नेपाली शासकवर्ग दिनप्रतिदिन झन–झन साम्राज्यवाद तथा विस्तारवाद परस्त बन्दै गएको सन्दर्भमा देशको राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा पर्न गएको छ । यो स्थितिमा, राष्ट्रिय स्वाधीनताको रक्षाका निमित्त एकताबद्ध भई सङ्घर्षमा अगाडि बढ्न हाम्रो पार्टी सम्पूर्ण देशभक्त, प्रगतिशील, जनवादी तथा क्रान्तिकारी शक्तिहरुमा हार्दिक अपील गर्दछ ।
मिति ः २०७८ पुुस २४ गते
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)





























