मैले संसारसेन पृथकलाई राम्रोसँग चिन्न त सकेन तर आज उनलाई चिन्दै छु । उनलाई चिन्ने अवसर भने उनकै स्मृतिमा प्रकाशित हुन लागेको स्मृतिग्रन्थ सम्पादन गर्ने कार्यले जुराएइदिएको छ । बिरबहादुर कामी अर्थात् संसारसेनकी जीवनसङ्गिनी लक्ष्मी चौलागाइँ ‘प्रतिज्ञा’ले मलाई यो स्मृतिग्रन्थ सम्पादन गरिदिन आग्रह गर्नु भयो । जसमा संसारसेनले विभिन्न समयमा लेखेका समसामयिक राजनीतिक लेखहरू तथा उनलाई चिन्नेहरूले उनका बारेमा लेखिएका संस्मरण, टिप्पणी आदि सामग्रीहरू छन् । यिनै सामग्री सम्पादन गर्ने क्रममा मैले संसारसेनका बारेमा प्रसस्तै जान्ने अवसर पाएँ । यद्यपि उनीसँग मेरो प्रत्यक्ष देखभेट जनयुद्ध कालमा भेरी–कर्णाली राज्यको जनसरकार घोषणा कार्यक्रममा जाजरकोटको जुँगाथापाचौरमा भएको जस्तो लाग्छ । त्यस अगाडि जनादेश साप्ताहिकको रिपोर्टिङको शिलशिलामा म भेरी–कर्णाली राज्यमा घुम्ने अवसर पाएको थिएँ । म र मेरो जीवनसाथी देवा भारतको कानपुरबाट त्यता गएका थियौँ । पार्टीले जाजरकोटको बारेकोट एरियाका दश/बाह्र वटा स्थानीय निकायलाई जोडेर विशेष जिल्ला बनाएको थियो । त्यतिवेला उनी त्यही जिल्लामा खटाइएका रहेछन् । त्यस समयमा सामान्य भेटघाट भएको हो । खासै गहिरो गरि परिचय र कुराकानी हुन पाएन । उनका अगाडि हामी माथिल्लो तहका र बाहिरबाट गएका नेता भएकाले पनि स्थानीय तहका कार्यकर्ताहरूसँग खासै कुराकानी हुँदैनथ्यो । त्यसैले पनि उनलाई नजिकबाट चिन्ने अवसर मिलेन ।

संसारसेनको जीवनी झल्किने सामग्रीहरू उनका बारेमा लेख्ने थुप्रै लेखकहरूले प्रकाश पारिसकेका छन् । म यहाँ जीवनीबारे लेख्न गएको छैन । उनका लेख रचनाहरू पढिसकेपछि उनको बुझाई के थियो र उनी कस्ता खालका व्यक्ति थिए भन्ने बारेमा सङ्क्षिप्त चर्चा गर्ने प्रयत्न गरेको छु ।

हार्दिक शुभकामना !

विद्रोहचेत :
संसारसेन पृथकका बारेमा लेखिएका उनको परिचय, जीवनी र सङ्गठनमा लाग्नु पर्नाको कारणहरूको अध्ययन गर्दा उनी एक विद्रोही स्वभावका थिए भन्ने देखिन्छ । यो विद्रोही स्वभाव उनको आदतको सत्तामा नभएर चेतनाका अर्थमा देखिन्छ । उनी राज्यसत्ताको उत्पीडन, शोषण, दमन र राज्यसत्ताले निर्माण गरेको जातीय विभेदका कारण उत्पीडित जातीय समुदायका मानिसले समाजबाट भोग्नुपरेको अमानवीय पीडा, तिरस्कार र बहिस्करणका विरुद्ध सचेत रूपमा विद्रोह गरेको देखिन्छ । यही विद्रोहचेतका कारण देशमा नेकपा माओवादीले चलाएको वर्गसङ्घर्षप्रति विद्यार्थीकालदेखि नै उनी आकर्षित हुन पुगे । उनी विद्यार्थी भएकै समयमा जनयुद्धको रापतापले पूरै देशलाई ढपक्क ढाकेको थियो । जनयुद्धको तव्रितम विकास र राज्यको चर्को दमनको मुख्य केन्द्र जाजरकोट जिल्ला पनि एक थियो । अझ २०५५ जेठमा पुलिसले ‘किलोशेरा’ नामको आम नरसंहारकारी हत्या शृङ्खलाको सुरुआत नै जाजरकोटबाट गरेको थियो । त्यो अप्रेशनमा लहँ स्थित भानुभक्त माद्यामिक विद्यालयमा भएको स्कूलको वार्षिक कार्यक्रममा नाचिरहेका कलाकार र दर्शक जनतामाथि सामूहिक हत्याकाण्ड मच्चाएको थियो । त्यो घटनाले उनमा राज्यसत्ताप्रतिको आक्रोशको ज्वार झन माथि उठ्यो । त्यसपछि उनी अब आफ्नो पढाई र व्यक्तिगत जीवनप्रति तिलाञ्जली दिएर जनयुद्धमा प्रत्यक्ष सहभागि हुने सङ्कल्प गरे । यो उनको परिवारमै पहिलो विद्रोहचेत थियो । यसरी उनी जनयुद्धमा पूर्णकालिन भएर सामेल भएको देखिन्छ ।

शालिन, भद्र र इमान्दार :
उनका बारेमा लेख्नेहरू र उनीसँग जनयुद्धमा सहकार्य गर्नेहरूका अनुसार उनी शालिन, भद्र, नम्र र अनुशासित थिए भन्ने देखिएको छ । आफूलाई आएको जिम्मेवारी उनी इमान्दारितापूर्वक पूरा गर्थे । त्यसलै उनी कामप्रति निकै इमान्दार थिए भन्ने जनाउँछ । नेपालको कम्युनिस्ट आन्दोलनको मुख्य समस्या भनेको इमान्दारिता हो । उनी वर्गप्रति कति इमान्दार थिए भने आफू विदेशी भूमिमा दुई रोटी र एक टालोका लागि शरीर घोट्दा पनि यता आफ्नो जीवनसाथीलाई क्रान्तिकारी पार्टीमा सङ्गठित हुन र राजनीतिक जीवनलाई निरन्तरता दिन हौसल्याउँथे, प्रररणा दिन्थे । युद्धकालमै पनि उनी पार्टीले आफूलाई जुन क्षत्रमा खटाउँछ त्यहाँ वेहिचक जाने र आफूलाई परेको जिम्मेवारी पूरा गर्न सम्पूर्ण ताकत खचै गरेको देखिन्छ । त्यसैले पनि उनी सबैसामू छोटै समयमा पनि निकै लोकप्रिय भएको बुझिन्छ ।

निडर, साहसी र तार्किक :
संसारसेन पृथकका बारेमा जेजति सामग्रीहरू लेखिएका छन् ती सबै सामग्री अध्ययन गर्दा उनी निडर, साहसी र तार्किक थिए भन्ने देखाउँछ । पार्टी कामका शिलशिलामा आफूलाई लागेका कुरा माथिल्लो नेतृत्वसँग निडरताका साथ प्रष्ट भाषामा राख्ने गर्थे भन्ने कुरा बताइएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा विद्यमान रहेको सामन्तवादी संस्कृतिका विरुद्ध सङ्घर्ष गर्नु पनि जनयुद्धको उद्देश्य थियो । विडम्वना त यो भयो कि स्वयम् नेताहरूमा जब्बर रूपमा सामन्तवादी संस्कृति हावी हुँदै गएको थियो । कमरेडली भावना भन्दा पनि जिमुवाल प्रवृत्ति बढ्दै गएको थियो । त्यसको प्रभाव अहिले त झन् बलियो भएर आएको छ । नेतृत्वमा छोटे राजा प्रवृत्ति बढ्दै गएको छ । सामन्तवादी प्रवृत्तिको मुख्य विशेषता भनेको नेतृत्वको चाकडी गर्नु र कार्यकर्ताहरूलाई नोकरको जस्तो व्यवहार देखाउनु हो । अहिले नेपालका कम्युनिस्ट पार्टीहरूमा सबैतिर यो प्रवृत्ति हावी हुँदै गएको छ । अझ सत्तासिन संसदवादी कम्युनिस्टहरूमा त यो सामन्तवादी संस्कृति अनिवार्य संस्कार जस्तै हुन पुगेको छ ।

संसारसेनले पार्टीका बैठक होस् अथवा भेटघाटका अवसरहरूमा होस् सबै ठाउँमा आफ्ना कुराहरू निर्धक्कसँग नेतृत्वका अगाडि राख्ने गर्दथे । त्यस्तै आफ्नो मातहतका कार्यकर्ता, सदस्यहरूलाई शालिनतापूर्वक कमरेडली ब्यवहार गर्दथे । जस्तो सुकै कठिनताहरूसँग पनि साहसका साथ योजना सफल पारेर फर्कन्थे । नेतृत्वसँग प्रस्तुत हुँदा उनी आफ्ना विचारमा तर्कपूर्ण वहस गर्न रुचाउँथे । फरक धारणा आयो भनेले आफ्ना विचारहरू सुस्पष्ट रूपमा तर्कहरू पेस गरेर नेतृत्वलाई समेत सहमत गराउने कला थियो ।

यसैगरी उनले राजनीतिक विचार, सामाजिक कुरिती, राष्ट्रियताका विषहरूमा पनि निकै तर्कपूर्ण विचार प्रस्तुत गरेको कुरा उनका लेखहरूमा पाउन सकिन्छ । हरेक नयाँ कुराप्रति उनी निकै जिज्ञासु थिए । उनमा अध्ययनको भोक थियो । विद्यालयको औपचारिक शिक्षा लिँदा होस् अथवा पार्टी सङ्गठनमा रहेर वैचारिक अध्ययन गर्ने कुरामा होस् उनी निकै रुचिपूर्वक अध्ययन गर्दथे । यसरी उनी पार्टी सङ्गठनमा रहँदासम्म निडर, सासी र तार्किक रूपम प्रस्तुत भए ।

बहु–प्रतिभाशाली :
संसारसेन पृथकले औपचारिक शिक्षा हाइस्कूलसम्मको अध्ययन गरेता पनि उनमा सामान्यतया सबै विषयमा ज्ञान थियो । राजनीति, दर्शन, जातीय सवाल, धर्म, संस्कृति जस्ता विषयमा पनि उनले कलम चलाएका छन् । उनका लेखहरू पढ्दा मोटामोटी रूपमा सबै विषयमा धेरथोर ज्ञान राख्दथे भन्ने बुझिन्छ । त्यसैगरी उनले कविता, गीत लेखेर आफूलाई राजनीतिक लेखकका रूपमा मात्रै नभएर कवि साहित्यकारका रूपमा पनि प्रस्तुत गरेका छन् । उनले विदेशी भूमिमा बसेर पनि राष्ट्रियताको भावनाले ओतप्रोत भएका, जातीय विभेदका विरुद्धमा र अग्रगामी पक्षमा कविता लेखेर आफूलाई समाजवादी यथार्थवादी धारामा उभ्याएका छन् ।

यसरी बिरबहादुर कामी अर्थात् संसारसेन पृथकले बहुआयामिक व्यक्तित्वका रूपमा आफूलाई उभ्याएका छन् । पारिवारिक जीवनदेखि राजनीतिका हरेक क्षत्रहरूमा आफूलाई सफल र विजेता बनाउँदै लगेका संसारसेनले अन्नतत: अल्पायुको मृत्यलाई जित्न सकेनन् । विदेशी भूमिमा कम्पनीको कठोर श्रमबाट विदा भएर डेरामा पुगेपछि राती अवेरसम्म नेपालमा रहेका आफ्नो परिवारका सदस्यदेखि पार्टीका सहयोद्धाहरूसँग मिठो भलाकुसारी गरेर नेपाल फर्केपछि पुन: क्रान्तिकारी धाराको कम्युनिस्ट पार्टीमा समाहित भएर नयाँ यत्रा थालनी गर्ने मिठो सपना बुनेर सुतेको योद्धा विहान उठ्दा लाशमा परिणत होला भन्ने कसैले कल्पनासम् मगर्ने कुरा थिएन । उनी त्यस्तो कुनै दीर्घ रोगी भएर लामो समयसम्म उपचार गराउनु परेका व्यक्ति पनि थिएनन् । परन्तु मृत्यु कति निर्दयी हुन्छ भन्ने कुरा उनको मृत्युले पुनर्पुष्टी गरेको छ । युद्धका भीषणताहरू समेत नहारेको योद्धाले मृत्यसँग हार खायो र आज हामी उसको शाकाञ्ज्ली लेख्न वाध्य भएका छौँ । हार्दिक श्रद्धाञ्जली कमरेड संसारसेन पृथक । तिम्रो मृत्यु पो पृथक हुन पुग्यो । अल विदा रातो र जुझारु कमरेड संसारसेन ।

प्रतिक्रिया

सम्बन्धित खवर